काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले काठमाडौँ उपत्यकाको आगामी हिउँदे विद्युत् माग व्यवस्थापनका लागि वैकल्पिक आपूर्ति प्रणालीको तयारी थालेको छ । बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् आपूर्ति प्रभावित भएपछि ती क्षेत्रमा विद्युत् प्रणालीमा चाप परेको छ । हिउँदमा विद्युत्को माग बढ्ने भएकाले अहिलेबाटै वैकल्पिक आपूर्ति व्यवस्था बलियो बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले काम अघि बढाएका छन् ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि काठमाडौँमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न गृहकार्य भइरहेको छ । यसका लागि प्राधिकरणले छुट्टै कार्यदल बनाएर काम गरिरहेको उनले बताए । ‘हिउँदको विद्युत् व्यवस्थापनका लागि वैकल्पिक प्रणाली बलियो बनाउने विषयमा काम भइरहेको छ,’ उनले भने ।
मन्त्रालय र प्राधिकरणले काठमाडौँ उपत्यकामा भूमिगत विद्युत् ग्रिड विस्तार गर्ने विकल्पलाई पनि प्राथमिकता दिएका छन् । यस विषयमा मंगलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग छलफल गरिएको थियो । छलफलमा काठमाडौँमा निर्माण भइरहेका तथा प्रस्तावित भूमिगत विद्युत् संरचनालाई व्यवस्थित बनाउने र आवश्यक स्थानमा नयाँ भूमिगत ग्रिड निर्माण गर्ने विषयमा सहकार्य गर्ने समझदारी भएको छ ।
सडक तथा फुटपाथ निर्माण गर्दा विद्युत्का पूर्वाधारलाई समेत समेटेर काम गर्ने र त्यसका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय गर्ने तयारी गरिएको छ । सडक विभागका काठमाडौँ डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले पनि फुटपाथभित्र भूमिगत तार व्यवस्थापनका लागि आवश्यक सहकार्य गर्ने बताएका छन् ।
भोटेकोसी बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौँ आउने विद्युत् आपूर्ति अवरुद्ध भएपछि बालाजु र चपली क्षेत्रमा वैकल्पिक विद्युत् आपूर्तिको आवश्यकता बढेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै हिउँदे विद्युत् माग व्यवस्थापनका लागि वितरण तथा ग्राहक सेवा निर्देशनालयसँग समन्वय गरिने बताए ।
काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएको र एकैपटक ठूलो परिमाणमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा समस्या आउन सक्ने भएकाले प्रसारण तथा वितरण प्रणालीलाई थप भरपर्दो बनाउन काम भइरहेको प्राधिकरणको भनाइ छ ।
बागमती वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौँको लोड व्यवस्थापन र आवश्यक पूर्वाधारबारे छलफलमा प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार हिउँदे माग व्यवस्थापनका लागि प्राधिकरणले कार्यदल बनाएर आवश्यक तयारी अघि बढाइरहेको छ ।
काठमाडौँको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, सडक विभाग र काठमाडौँ महानगरपालिकाबीच समन्वय बढाइने भएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदमा विद्युत्को माग बढ्ने भएकाले आवश्यक पूर्वाधार र आपूर्ति प्रणालीको व्यवस्थापन अहिलेबाटै गर्नुपर्ने बताए ।
भोटेकोसी बाढीपछि विद्युत् उत्पादन तथा प्रसारणका ठूला संरचना प्रभावित भएपछि काठमाडौँको विद्युत् आपूर्ति व्यवस्थापनलाई तत्कालीन क्षति मर्मतसँगै आगामी हिउँदको मागलाई समेत ध्यानमा राखेर अघि बढाउनुपर्ने अवस्था आएको छ । त्यसका लागि विद्यमान प्रसारण तथा वितरण प्रणालीलाई भरपर्दो बनाउने, वैकल्पिक आपूर्ति मार्ग तयार गर्ने र आवश्यक स्थानमा भूमिगत विद्युत् ग्रिड विस्तार गर्ने कामलाई प्राथमिकता दिइएको छ ।