मुस्ताङ । बाढीपहिरो र नदी कटानका कारण विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि मुस्ताङमा शनिबार रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको डिमुवाबाट मुस्ताङतर्फ आउने ३३ केभी प्रसारण लाइनका खम्बामा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति ठप्प भएको हो ।
निरन्तरको वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले म्याग्दी र पर्वत खण्डमा विद्युत्का संरचनामा क्षति पुर्याएपछि म्याग्दीको दाना सबस्टेसनसमेत चार्ज हुन नसकेको हो । दाना सबस्टेसन चार्ज हुन नसक्दा मुस्ताङतर्फको विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको हो ।
विद्युत् सेवा बन्द भएपछि मुस्ताङसँगै म्याग्दीको उत्तरी क्षेत्रको अवस्थाबारे आवश्यक सूचना आदानप्रदान गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको मर्मतपछि आइतबार म्याग्दीको बेनीसम्म भने विद्युत् प्रसारण सेवा सञ्चालनमा ल्याइएको छ ।
मुस्ताङतर्फको ३३ केभी प्रसारण लाइन र दाना सबस्टेसनमा पुगेको क्षतिको अवस्था अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली परिचालन गरिएको छ । टोलीले प्रसारण संरचनाको अवस्थाबारे स्थलगत अध्ययन गरी मर्मतको काम अघि बढाउने तयारी गरेको छ ।
यसैगरी, मुस्ताङको थासाङ गाउँपालिका–३ का विभिन्न स्थानमा रुख ढल्दा विद्युत्का खम्बामा समेत क्षति पुगेको छ । मौसम केही खुलेपछि उक्त क्षेत्रमा प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ । अवरुद्ध विद्युत् सेवा सोमबार साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित टोलीलाई कार्यस्थलमा खटाइएको छ ।
बाढीपहिरो र नदी कटानबाट विद्युत् संरचनासँगै फाइबर इन्टरनेटको प्रसारण लाइनमा समेत क्षति पुगेको छ । त्यसका कारण मुस्ताङमा पछिल्लो करिब ३६ घण्टादेखि इन्टरनेट सेवासमेत पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ ।