काठमाडौं । नेपालगन्जमा दैनिक घन्टौंसम्म विद्युत कटौती हुन थालेपछि त्यहाँका स्थानीयबासीले आन्दोलन सुरु गरेका छन् । आज (जेठ ६ गते) नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अगाडि भेला भएर स्थानीयले नियमित विद्युत आपूर्तिको सुनिश्चितता गर्न माग गरेका छन् ।
यस विषयमा नेपालगन्ज डिभिजन कार्यालयका प्रमुख सुरज गौतमसँग सम्पर्क राख्दा उनले अहिले समस्या नै रहेको स्वीकार गरे । ‘हाम्रो आउने स्रोत भनेको टनकपुर, चमेलिया र नानपारा हो,’ उनले ऊर्जा खबरसँग भने, ‘लोड बढ्दै गएको हुँदा भने अनुसार आपूर्ति दिन सकिएको छैन । हावाहुरी, कम वा उच्च भोल्टेज जस्ता समस्याले पनि आपूर्ति अनियमित भइरहेको छ ।’
केन्द्रीय संयन्त्रले नियन्त्रण गरेको प्रणालीमा नेपालगन्जका लागि मात्र लोडसेडिङको तालिका दिन नसकिने उनले बताए । ‘केन्द्रबाट सबै कुरा नियन्त्रण हुन्छ, कि हामीलाई निर्देशन आउनुपर्यो, नत्र हामीले आफ्नो तरिकाले तालिका दिन सक्दैनौं,’ उनले थपे ।
सामाजिक गतिविधिमा समेत संलग्न रहेका नेपालगन्जका स्थानीय साहिल अन्सारीले भने विद्युत आपूर्तिमा प्राधिकरणले लापरबाही गरेको शुक्रबार साँझ ऊर्जा खबरलाई बताए । ‘देश लोडसेडिङमुक्त भनिएको छ तर झ्याप झ्याप लाइन गइरहन्छ,’ उनले भने, ‘प्राधिकरणका हाकिमहरूले गैरजिम्मेवारपूर्ण जवाफ दिन्छन् ।’
अन्सारीका अनुसार समस्या वा गुनासो भन्न प्राधिकरणको कार्यालयमा फोन उठ्दैन । गुनासो सुनिँदैन । ‘बिजुली नै छैन, कसरी दिने’ भन्ने जवाफ आउँछ । आज जिल्ला प्रशासन र डिभिजन कार्यालयका प्रमुखलाई राखेर सल्लाह भएको र छिट्टै समस्या समाधान हुने आश्वासन पाएको उनले जानकारी गराए ।
वितरण केन्द्रको अगाडि भेला भएका स्थानीयलाई सम्बोधन गर्दै स्थानीय साहिल अन्सारीले प्राधिकरणको यसरी चर्को आलोचना गरे–
यो नेपालगन्जको प्रचण्ड घाममा आज विद्युत प्राधिकरणको अगाडि उभिनु हाम्रो रहर होइन । यो हाम्रो बाध्यता हो । यो बाध्यताको परिस्थिति सिर्जना गर्ने विद्युत प्राधिकरण, नेपालगन्ज वितरण शाखा हो । आज एक कक्षामा पढ्ने बालकलाई ‘बाबु सबैभन्दा बढी गर्मी कहाँ हुन्छ ?’ भन्यो भने नेपालगन्ज भन्छ ।
यो कुरा हाम्रा प्रशासकीय अधिकृतलाई थाहा नभएको हो कि । थाहा हुँदा हुँदै पनि पचाएको हो कि । कि जनताप्रति जवाफदेही नभएको हो कि भन्ने शंका उपशंकाहरु सुरु भइसकेका छन् । नेपालगन्जमा सबैभन्दा बढी गर्मी हुन्छ तर यहाँ बत्ति झ्याप झ्याप जाने । कुनै ठेगान छैन, कुनै तालिका छैन, नेपालगन्जमा कति खेर बत्ति जान्छ ?
यो समस्या हाम्रो मात्र होइन, सबैको हो । शिक्षा, स्वास्थ्य, पत्रकारिता र आम सर्वसाधारणको पनि यही समस्या हो । गर्मीमा मान्छे तड्पिरहेको अवस्था छ । गर्मीले मान्छे मरिरहेको अवस्था छ । किन विद्युत प्राधिकरण यो विषयमा बोल्दैन ? जिल्ला प्रशासन कार्यालय बोल्दैन, सरोकारवाला निकाय छन् बोल्दैनन् ।
के कारण हो ? के रहस्य हो ? किन मौन हुनुहुन्छ ? बोल्नुपर्दैन ? सूचना हामीले माग्न नपाउने ? हाम्रो सूचनाको हकको अधिकार छैन ?
हामी उग्र हुनुको कुनै कारण छैन, यतिमात्र हो– हामीले पैसा तिर्छौं । हामीलाई विद्युत दिनुपर्छ । एउटा सामान्य मान्छेलाई थाहा हुँदैन कति बेला बत्ति जान्छ कति बेला जाँदैन ? यो कुरा त भन्नुपर्यो नि ।
यो विद्युत प्राधिकरण होइन, यो मान्छे मार्ने प्राधिकरण बनिरहेको अवस्था छ । हरेक वर्ष नेपालगन्जमा यही समस्या दोहोरिन्छ । पटक–पटक आवाज उठाउँदा पनि आवाज नसुनिदिएको अवस्था हो । यो उत्तरदायी प्रशासन नभएको अवस्था छ । हाम्रो एउटै माग हो, हामीले शुल्क तिर्छौं, हामीलाई बत्ति दिनुपर्छ । कि भनिदिनुपर्यो नेपालगन्जमा लोडसेडिङ छैन ।
लोडसेडिङ छ भने तालिका सार्वजनिक गर्नुपर्छ । छैन भने हामीलाई २४ घन्टा बत्ति दिनुपर्छ । यो नानपारा बहराइज सबस्टेसनबाट आउँछ वा कालीगण्डकीबाट आउँछ यो सँग हामीलाई सरोकार भएन । हामीले पैसा तिर्छौं हामीले बत्ति पाउनुपर्छ । आमसर्वसाधारणलाई बहराइज सबस्टेसन वा कालीगण्डकी भनेर नफकाउँदा हुन्छ ।
२४ घन्टामा कति पटक बत्ति जान्छ र कति जरिवाना तिर्नुपर्छ भनेर जवाफ माग्नुपर्यो नि । एक दिन ढिलो हुन्छ ५ प्रतिशत, ५ दिन ढिलो हुन्छ २५ प्रतिशत जरिवाना तिर्नुपर्छ । यिनले १ घन्टामा १० पटक बत्ति काट्दा कति जरिवाना तिर्नुपर्ने हो ?
यो बाध्यता हो, यति उग्र हुनुको ।
हाम्रो शान्तिपूर्ण आन्दोलन हो । हामीले कुनै ढुंगामुढा गरेका छैनौं । यो जनताको आक्रोस हो ।
जसको घरमा एसी छ, इन्भर्टर छ उसलाई समस्या छैन नि । हाकिमहरुको कोठामा एसी होला, इन्भर्टर होला । हाकिम साब रोडमा आउनुस कस्तो फिल हुन्छ यहाँलाई । यो सबैको समस्या हो, सबैले बोल्नुपर्छ । हामीले अल्टिमेटम दिन्छौं । प्राधिकरण र क्षेत्रीय कार्यालय राखेर बैठक गर्छौं । समस्या समाधान हुँदैन भने हामी उग्र हुन पनि बाध्य हुनेछौं ।