काठमाडौँ । औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढेपछि सरकारले साँझको समयमा २३० मेगावाट विद्युत् उपलब्ध गराउन भारत सरकारसँग औपचारिक प्रस्ताव राखेको छ । सुख्खायाम सुरु भएसँगै नेपालको आन्तरिक उत्पादन घटेको तथा ‘सोलार आवर’मा (बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्र भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् खरिद गर्न पाउने व्यवस्थाले औद्योगिक क्षेत्रमा लोडसेडिङको अवधि बढेपछि सरकारले भारतसँग यस्तो प्रस्ताव राखेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई उक्त लिखित प्रस्ताव पठाएको जानकारी दिएको छ । उच्च माग हुने समय (पिक आवर) को माग धान्नका लागि दैनिक साँझ ६ देखि १० बजेसम्म बिजुली आपूर्ति गर्न भारतसँग सरकारले बुधबार यस्ताे प्रस्ताव गरेको हो ।
हाल औद्योगिक क्षेत्रले दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा खेप्नुपरिरहेकाे छ । भारतबाट हाल दैनिक ७०० मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले ‘सोलार आवर’मा मात्रै भारतीय प्रतिस्पर्धी बजार (आइइएक्स) बाट विद्युत् आपूर्ति गर्न स्वीकृति दिएको छ ।
नेपालमा सञ्चालनमा रहेका जलविद्युत् आयोजना मध्ये अघिकांश आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका भएका कारण हिउँदमा नदीको बहाब घटेसँगै यस्ता आयोजनाको उत्पादन २० प्रतिशतसम्ममा खुम्चिने गरेका छन् । जलाशय, आंशिक जलाशय र नदी प्रवाही लगायत अन्य स्रोतका आयोजनाबाट समेत गरी नेपालको जडित क्षमता झण्डै ३ हजार ५ सय मेगावाट पुगेको भए पनि सुख्खा यामको आन्तरिक उत्पादन करिब १ हजार मेगावाटमा खुम्चिने गरेको छ । यसले साविकको अवस्थामा समेत लोडसेडिङ भोगिरहेका उद्योगहरुमा विद्युत् कटौतीको अवधि बढ्दा प्रभावित बनेका छन् ।
ऊर्जा मन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन सुख्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताए । ‘घरायसी उपभोक्तासँगै औद्योगिक क्षेत्रलाई पनि सहज बनाउने प्रयासस्वरूप साँझ ६ देखि १० बजेसम्म थप विद्युत् उपलब्ध गराउन भारतलाई अनुरोध गरिएको छ,’ उनले भने, ‘सकारात्मक संकेत देखिएकाले निकट भविष्यमा समस्या केही हल हुने विश्वास लिएका छौँ ।’
उनका अनुसार परराष्ट्र मन्त्री डा. आरजु राणाले भारतीय विदेश मन्त्री एस. जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरिसकेकी छन् । भारतीय दूतावासले समेत नेपाललाई आवश्यक विद्युत् उपलब्ध गराउन भारत सरकारसँग समन्वय गरिरहेको जनाएको छ ।
हिउँदमा समेत आन्तरिक विद्युत् उत्पादनलाई सन्तुलित बनाउन सरकारले जलाशय र आंशिक जलाशययुक्त ठूला जलविद्युत् आयोजना निर्माणलाई नीतिगत तथा कार्यान्वयनगत प्राथमितामा राखेको छ ।
नेपाल विद्युत प्राधिकरणले आइइएक्सबाट बिजुली खरिद गरी आन्तरिक माग पूर्ति गर्ने प्रक्रिया अघि बढाइरहेको छ । भारतले साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरेमा नेपालका उद्योगहरूलाई ठूलो राहत पुग्ने मन्त्रालयले जनाएको छ ।