काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसनले पावर डिस्ट्रिब्युसन डिजाइन तथा सुरक्षा सम्बन्धी ७ दिने तालिम सम्पन्न गरेको छ । नेपाल विद्युत् प्राधिकरणको मुख्य सहयोगमा फागुन १ देखि ७ गतेसम्म पुल्चोकस्थित एसोसिएसन भवनको तालिम कक्षमा भएको तालिममा विभिन्न संस्थाका ३० जना विद्युत् इन्जिनियरहरूको सहभागिता थियो ।
कुल ४० घण्टाको पाठ्यक्रम समेटिएको तालिममा दुई–दुई घण्टाका २० सिकाइ सत्रहरू सञ्चालन भएका थिए । १८ जना विषय विज्ञहरूको प्रशिक्षण रहेको तालिममा नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, नेपाल आयल निगम तथा स्वतन्त्र रूपमा कार्यरत विद्युत् इन्जिनियरहरू सहभागी थिए ।
तालिमको पाठ्यक्रम तयार गर्न एसोसिएसनले ई. डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा जयानन्द झा, सन्तोष प्रसाद पन्त, आशा खनाल, र एसोसिएसनका केन्द्रीय कार्यकारिणी सदस्य मेघनाथ ढकाल जस्ता इन्जिनियरहरू रहेका थिए । उक्त समितिले निर्धारित समयभित्रै तालिम पाठ्यक्रम अनुसारको कोर्स तयार पारेको थियो ।
प्राधिकरण र इन्जिनियर्स एसोसिएसनबीच भएको समझदारी अनुसार कार्यकारी निर्देशक ई. कुलमान घिसिङको स्वीकृतिपछि तालिम सञ्चालन गरिएको थियो । एसोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बरालले तालिम नेपाल इन्जिनियर्स एसोसिएसनको महत्त्वपूर्ण कार्यक्रम भएको जानकारी गराए । एसोसिएसनका उपाध्यक्ष ई. प्रकाश केसीले ‘इन्जिनियर्स स्टाफ कलेज स्थापनाको आधार तयार गर्न यस्ता तालिम कार्यक्रमहरू आवश्यक रहेको बताए ।
तालिमको विशेष अतिथि तथा लिड इन्स्ट्रक्टर अरविन्दकुमार मिश्रले शैक्षिक तथा प्रयोगात्मक वा कार्यान्वयनको ज्ञान समेत भएका स्रोत व्यक्तिहरूको सहभागिताले तालिमलाई प्रभावकारी बनाएको बताए । सहभागिहरूका तर्फबाट आशा खनाल र अशोक अर्यालले तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अनुभवी इन्जिनियरहरूको ज्ञान नयाँ पुस्ताका इन्जिनियरहरूमा हस्तान्तरण गर्न प्राधिकरण सधैं तयार रहेको उल्लेख गरे । उनले यस्तो तालिम कार्यक्रमहरूले नेपालका इन्जिनियरहरूको सीप अभिवृद्धि गर्दै विद्युत् सुरक्षालाई थप प्रभावकारी बनाउने बताए ।
तालिम कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन नेपाल इन्जिनियर्स एसोसिएसनका कार्यकारिणी सदस्य मेघनाथ ढकालले गरेका थिए । तालिम नेपाली इन्जिनियरहरूको क्षमतावृद्धि तथा विद्युत् सुरक्षामा सुधार ल्याउन महत्त्वपूर्ण कोसेढुंगा सावित अपेक्षा गरिएको छ ।