काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई एमसिसी कम्प्याक्ट सम्झौतामा प्रतिबद्धता गरेकोभन्दा बाहेक थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) थप अनुदान उपलब्ध गराउने सुनिश्चित भएको छ । योसँगै उक्त परियोजनाका लागि नेपालाई अमेरिकाले उपलब्ध गराउने अनुदान रकम ५५ कराेड डलर पुगेको छ ।
यसअघिको कम्प्याक्ट सम्झौताअनुसार एमसिए नेपालले अघि बढाउने प्रसारण लाइन तथा सडक सुधार आयोजनाका लागि अमेरिकाले कुल ५० करोड डलर अनुदान दिने भएको थियो । त्यसमा नेपालले १९ करोड ७० लाख डलर लगानी गर्ने भनिएको थियो । अब अमेरिकाको कुल अनुदान ५५ करोड डलर पुगेको हो । अमेरिकी अनुदान र नेपालकाे समेत लगानी गरी अब उक्त परियाेजनाका लागि कुल ७४ करोड ७० लाख डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुँजी जुटेको छ ।
एमसिसीको यो अतिरिक्त सहयोगले उच्च लाभ दिनसक्ने नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन तथा ऊर्जाका पूर्वाधार आयोजनालाई पूर्णता दिन सघाउने बताइएको छ । यसले विद्युत् ग्रिडको सुधार, उत्पादन–प्रसारण–व्यापार शृङ्खलामा विश्वसनीयता बढाउने र क्षेत्रीय ऊर्जा व्यापारलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अनुदानले सहायताले नेपालको अन्तर्राष्ट्रिय ऊर्जा–आबद्धता मजबुत बनाउने, बजार पहुँच सुधार गर्ने र ऊर्जा पूर्वाधार निर्माणमा अमेरिकी उत्कृष्टता तथा प्रविधिको उपयोग बढाउनुका साथै अमेरिकी कम्पनी तथा प्रविधि प्रदायकका लागि नेपाली ऊर्जा बजारमा प्रवेशको अवसरसमेत विस्तार हुने उल्लेख छ ।
यो अनुदान सहायता नेपाल–अमेरिका सम्बन्धको दीर्घकालीन साझेदारी र पारस्परिक समृद्धिको साझा प्रतिबद्धताको प्रतीकका भएको समेत दूतावासले उल्लेख गरेको छ ।