विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २४, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
सम्पादकीय

नेपालको जलविद्युत् विकास इतिहासमा हालै एउटा नयाँ अध्याय थपिएको छ । स्वदेशी बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा ४४० मेगावाटको तिला-१ र ४२० मेगावाटको तिला-२ जलविद्युत् आयोजनामा झण्डै १ खर्ब (९७ अर्ब १० करोड) रुपैयाँ बराबरको ऋण लगानी सम्झौता सम्पन्न भएको छ ।

कुल ८६० मेगावाटका यी दुई ठूला आयोजनामा स्वदेशी बैंकबाट भएको यो स्तरको वित्तीय व्यवस्थापनले देशको समग्र ऊर्जा वृत्तलाई मात्र होइन, समग्र अर्थतन्त्रमै नयाँ तरङ्ग, उत्साह र ऊर्जा थपेको छ । यति ठूलो आयोजना स्वदेशी पुँजी, बैंक तथा वित्तीय संस्था र निजी प्रवर्द्धककै अग्रसरतामा निर्माण अघि बढ्नु सामान्य उपलब्धि होइन । यसले विकास निर्माणमा नेपालको निजी क्षेत्रको क्षमता, दक्षता, परिपक्वता र व्यावसायिक साहसलाई विश्वसामु उजागर गरेको छ ।

आज एकै पटक १ खर्बको वित्तीय व्यवस्थापन सहजै गर्ने अवस्थामा पुगेको नेपाली वित्तीय क्षेत्र र ऊर्जा प्रवर्द्धकको विगतलाई फर्केर हेर्दा यो यात्रा कति कठिन रहेछ भन्ने स्पष्ट हुन्छ । करिब साढे दुई दशक अघिसम्म ३ मेगावाटको आयोजना (पिलुवाखोला जलविद्युत्) मा २२ करोड रुपैयाँ ऋण लगानी जुटाउनसमेत ७ वटा बैंक तथा वित्तीय संस्थाहरू मिलेर कन्सोर्टियम (सहवित्तीयकरण) बनाउनुपर्ने बाध्यता थियो । त्यो अवस्थाबाट आज नेपाली बैंकहरू एक्लै वा समूहमा सयौँ मेगावाटका आयोजनामा खर्बौँ लगानी गर्न सक्षम भएका छन् ।

यसअघि निजी क्षेत्रद्वारा प्रवर्द्धित ३४१ मेगावाटको माथिल्लो बूढीगण्डकी र २८५ मेगावाटको माथिल्लो तमाेर मा त्यसरी बैंक तथा वित्तीय संस्थाले लगानी सम्झौता गरिसकेका छन् । यसबाट पनि स्पष्ट हुन्छ, नेपाली बैंकिङ क्षेत्र अब लगानीको बिशाल आयतनमा फैलिँदै गएको छ ।

जलविद्युत् विकासमा निजी क्षेत्रको प्रवेश भएको तीन दशकको यात्रा हेर्दा एउटा तथ्य स्पष्ट हुन्छ– नेपाली निजी क्षेत्र अब केवल साना आयोजनामा मात्र सीमित छैन । सयौं मेगावाटका आयोजना आफ्नै नेतृत्व, लगानी क्षमता र व्यवस्थापकीय आत्मविश्वासका साथ अघि बढाउने अवस्थामा निजी क्षेत्र पुगेको छ । तिला–१ र तिला–२ जस्ता आयोजना यस परिवर्तनका पछिल्ला प्रतिनिधि उदाहरण हुन् ।

विद्युत् ऐन, २०४९ ले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा प्रवेश गर्ने बाटो खोलेपछि नेपालको ऊर्जा क्षेत्रमा जुन परिवर्तन आयो, त्यसलाई सामान्य व्यावसायिक विस्तारका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यो राज्यको एकल नेतृत्वबाट निजी–सार्वजनिक साझेदारी र निजी क्षेत्रको नेतृत्वतर्फ भएको संरचनागत परिवर्तन हो । उक्त ऐनले निजी तथा संस्थागत क्षेत्रलाई विद्युत् उत्पादनमा सहभागी हुने कानुनी आधार दिएको थियो ।

यसको परिणाम आजको विद्युत् प्रणालीमा देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४,१२० मेगावाट पुगेको छ । जबकि, निजी क्षेत्रको प्रवेशअघि अर्थात् २०५५ सालसम्म नेपालको विद्युत् उत्पादन क्षमता करिब २७८ मेगावाटमै सीमित थियो । केन्द्रीय प्रणालीमा समेत निजी ऊर्जा उत्पादकको योगदान (प्राधिकरणका सहायक कम्पनी सहित) करिब ८० प्रतिशत पुगिसकेको छ ।

यो उपलब्धि निजी क्षेत्रको मात्र होइन, सरकारको नीतिगत सहजीकरणको पनि परिणाम हो । निजी क्षेत्रलाई आयोजना सर्वेक्षण तथा उत्पादनको अनुमति दिने, विद्युत् खरिद–सम्झौता (पिपिए) को व्यवस्था गर्ने, प्रसारण प्रणालीमा पहुँच दिने र आयोजना प्रभावित स्थानीयलाई लाभको हिस्सेदार बनाउने जस्ता व्यवस्थाले निजी लगानीका लागि आधार तयार गरेका हुन् । निजी आयोजनामा प्रभावित स्थानीयको सेयर सहभागिताको अभ्यासले आयोजना र स्थानीय समुदायबीच आर्थिक सम्बन्ध स्थापित गर्नसमेत मद्दत गरेको छ ।

यद्यपि, निजी क्षेत्रले हासिल गरेकाे यो क्षमताको श्रेय केवल नीतिगत व्यवस्थालाई दिएर पुग्दैन । यसबीच निजी प्रवर्द्धकले पनि ठूलो सिकाइको यात्रा पूरा गरेका छन् । आयोजना अध्ययन, डिजाइन, वित्तीय व्यवस्थापन, ठेक्का व्यवस्थापन, निर्माण, वातावरणीय तथा सामाजिक व्यवस्थापन र सञ्चालनमा नेपाली प्रवर्द्धकको अनुभव क्रमशः बढेको छ । यही अनुभवले सानाबाट मध्यम र मध्यमबाट ठूला आयोजनातर्फ जाने आत्मविश्वास निर्माण गरेको हो ।

यस यात्रामा माथिल्लो तामाऋको अनुभव विशेष महत्त्वपूर्ण छ । प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना स्वदेशी वित्तीय स्रोतबाट निर्माण भएको हालसम्मकै ठूलो आयोजना हो । आयोजनामा प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान, सर्वसाधारण तथा दोलखावासीको स्वामित्व संरचना निर्माण गरिएको थियो । यसको निर्माण क्रममा देखिएका चुनौती, प्राविधिक जटिलता, लागत तथा समय व्यवस्थापनका समस्या र अन्ततः सञ्चालनमा प्राप्त सफलताले नेपाली ऊर्जा क्षेत्रका लागि ठूलो पाठ छाडेको छ ।

माथिल्लो तामाकोसीले एउटा अर्को महत्त्वपूर्ण पुँजी निर्माण गर्‍यो– अनुभवको । ठूला आयोजना निर्माणमा संलग्न नेपाली इन्जिनियर, प्राविधिक, व्यवस्थापक, ठेकेदार तथा परामर्शदाताले त्यहाँबाट हासिल गरेको ज्ञान पछि अन्य आयोजनामा हस्तान्तरण हुँदै गयो । आज निजी क्षेत्रले १००, २००, ३०० हुँदै ४४० मेगावाटभन्दा ठूला आयोजनाको नेतृत्व गर्न सक्नुमा यस्ता आयोजनाबाट विकसित भएको प्राविधिक तथा व्यवस्थापकीय क्षमताको ठूलो योगदान छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको दृष्टिकोणमा आएको परिवर्तन पनि कम महत्त्वपूर्ण छैन । जलविद्युत् क्षेत्रमा निजी लगानी विस्तार हुँदै जाँदा बैंकिङ क्षेत्रको जोखिम मूल्याङ्‌कन क्षमता पनि विकसित भएको छ । आयोजनाको पिपिए, प्रवर्द्धकको स्वपुँजी, निर्माण लागत, प्रसारण लाइन, आयोजनाको भौगोलिक जोखिम, ब्याजदर तथा बजारको सुनिश्चितता हेरेर ऋण निर्णय गर्ने अभ्यास बलियो भएको छ । हाल निजी ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी ठूलो आकारमा पुगेको तथ्याङ्‌कले पनि यसलाई पुष्टि गर्छ । २०८२ काे मध्यतिर सार्वजनिक एक अध्ययनअनुसार निजी ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ८ खर्ब ७० अर्ब रुपैयाँ पुगिसकेको थियो ।

यहाँ अर्को गम्भीर प्रश्न पनि उठ्छ– बैंकमा पैसा भएर मात्र जलविद्युत् आयोजना बन्छन् ? पछिल्लो अवस्था हेर्दा उत्तर नकारात्मक देखिन्छ । २०८३ असार मसान्तसम्म बैंकिङ प्रणालीमा १,५६० अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त तरलता हुँदा पनि पिपिए सम्पन्न करिब १,८०० मेगावाटका ३३ जलविद्युत् आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा थिए । बैंकहरू आयोजनाको ऋण भुक्तानी क्षमता, प्रवर्द्धकको स्वपुँजी, लागत वृद्धि, निर्माण समय, प्रसारण लाइन र ब्याजदरलगायत जोखिममा अझ कडा मूल्याङ्‌कन गर्न थालेका छन् ।

तिला–१ र तिला–२ यही परिवेशका ठूला परीक्षा हुन् । दुवै आयोजनाले २०८१ सालमा पिपिए सम्पन्न गरिसकेका भए पनि  लामो समयसम्म वित्तीय व्यवस्थापन हुन सकेको थिएन । त्यसैले यी आयोजनामा हाल भइरहेको लगानी परिचालन केवल दुई आयोजनाको वित्तीय व्यवस्थापन मात्र होइन; यो नेपाली निजी क्षेत्रले ठूला आयोजना निर्माण गर्न सक्ने क्षमतामाथि बैंकिङ क्षेत्रको विश्वासको पनि परीक्षा हो ।

वित्तीय व्यवस्थापन सम्पन्न हुनु आफैंमा अन्तिम उपलब्धि होइन । त्यसपछि वास्तविक परीक्षा सुरु हुन्छ । आयोजना तोकिएको लागत र समयमा निर्माण गर्न सकिन्छ कि सकिँदैन, प्रसारण लाइन आयोजना सम्पन्न हुने समयमै तयार हुन्छ कि हुँदैन, स्थानीय तथा वातावरणीय विषयको व्यवस्थापन कसरी हुन्छ र उत्पादित बिजुलीको बजार कति सुनिश्चित हुन्छ भन्ने प्रश्नको उत्तरले मात्र यस्ता लगानीको सफलता निर्धारण गर्नेछ ।

यसर्थ, अब सरकारको भूमिका केवल अनुमति दिनेमा सीमित रहनु हुँदैन । निजी क्षेत्रले उत्पादनमा प्रमाणित गरेको क्षमता उपयोग गर्न सरकारले प्रसारण पूर्वाधार निर्माणलाई आयोजनाको अभिन्न अंगका रूपमा लिनुपर्छ । पिपिए गर्ने तर विद्युत् निकाल्ने ठाउँमा प्रसारण लाइन नहुने अवस्था दोहोरिन दिनु हुँदैन । हालैका अनुभवले प्रसारण पूर्वाधारको अनिश्चितता पनि वित्तीय व्यवस्थापनमा प्रमुख जोखिम बनेको देखाएका छन् ।

यसैगरी, अब निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गर्ने बाटो पूर्ण रूपमा खोल्नुपर्ने समय आएको छ । उत्पादन बढाउने तर बिक्रीको जिम्मेवारी मुख्यतः एउटै संस्थामा सीमित राख्ने पुरानो संरचनाले भविष्यको ठूलो विद्युत् बजार व्यवस्थापन गर्न सक्दैन । भारत र बंगलादेशजस्ता क्षेत्रीय बजारमा दीर्घकालीन बिक्री सुनिश्चित गर्दै निजी व्यापार कम्पनीलाई समेत सक्षम बनाउनु आवश्यक छ ।

प्रसारण पूर्वाधार निर्माणमा पनि निजी क्षेत्रको सहभागिताका लागि स्पष्ट ढाँचा बनाउनुपर्छ । जहाँ सम्भव छ, निजी क्षेत्रलाई प्रसारण आयोजना निर्माण, सञ्चालन र व्यवस्थापनमा सहभागी गराउने नीति लिन सकिन्छ । त्यस्तै, नेपालको मौसमी विद्युत् असन्तुलन समाधान गर्न जलाशय तथा अर्धजलाशययुक्त आयोजनामा निजी क्षेत्रको प्रवेश सहज बनाउनुपर्छ । केवल वर्षायाममा उत्पादन बढाउने होइन, सुख्खायाम र उच्च मागका समयमा विद्युत् उपलब्ध गराउने ऊर्जा मिश्रण निर्माण गर्नु अबको प्राथमिकता हुनुपर्छ ।

तीन दशकअघि ३ मेगावाटको आयोजना बनाउन केही दर्जन करोड रुपैयाँको ऋण जुटाउन धेरै बैंकको सहारा लिनुपर्ने निजी क्षेत्रबाट आज सयौँ मेगावाटका आयोजना निर्माणको चरणमा पुगेका छन् । यो परिवर्तनले नेपाली निजी क्षेत्रको क्षमता प्रमाणित गरेको छ । अब सरकारको दायित्व त्यो क्षमतालाई नियन्त्रण गर्ने होइन, सही नियमन, प्रसारण पूर्वाधार, बजार सुनिश्चितता र लगानीमैत्री नीतिमार्फत अझ ठूलो परिणाममा रूपान्तरण गर्ने हो ।

तिला–१ र तिला–२ त्यस अर्थमा केवल कालीकोटका दुई जलविद्युत् आयोजना मात्र होइनन् । यी नेपालको निजी ऊर्जा क्षेत्रले हासिल गरेको परिपक्वताको प्रतीक र आगामी यात्राको परीक्षणसमेत हुन् । निजी क्षेत्रले उत्पादनमा आफ्नो सामर्थ्य देखाइसकेको छ । अब उसलाई विद्युत् व्यापार, प्रसारण र ऊर्जा प्रणालीको अन्य क्षेत्रमा पनि विश्वास गर्ने बेला आएको छ । सरकार, बैंकिङ क्षेत्र र निजी प्रवर्द्धकबीचको यही विश्वासलाई संस्थागत गर्न सकिए नेपालको जलविद्युत् अब आयोजनाको संख्यामा मात्र होइन, लगानीको आकार, प्राविधिक क्षमता, ऊर्जा सुरक्षा र निर्यातको प्रभावमा समेत नयाँ चरणमा प्रवेश गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३