काठमाडौँ । सरकारले ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्ष (आव २०८२/८३) का लागि करिब ९४ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । यो राष्ट्रिय योजना आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा मातहतका निकायका लागि तोकिएको सिलिङ हो ।
उक्त सिलिङमध्ये मन्त्रालय र मातहतका निकायका लागि ५० अर्ब र नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी जस्ता संस्थाको वित्तीय व्यवस्थापनका लागि करिब ४४ अर्ब रुपैयाँ रहेको मन्त्रालय कार्यक्रम, बजेट तथा अनुगमन महाशाखाका सहसचिव चूर्णबहादुर ओलीले जानकारी दिए ।
‘यो मन्त्रालयलाई प्राप्त सिलिङ हो, सरकारका थप योजना र सिँचाइतर्फको बजेटका लागि वैदेशिक स्रोतबाट प्राप्त हुने रकमबारे अन्योल छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यसमा छलफल चलिरहेको हुँदा बजेट आकार घटबढ हुन सक्छ ।’
ओलीका अनुसार यो वर्ष सरकारले प्राधिकरणलाई २ अर्ब ४४ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । यसबाहेक प्राधिकरणका परियोजनाका लागि सरकारका तर्फबाट ऋण तथा सेयर लगानी गरी झन्डै ४२ अर्ब रुपैयाँ जाने आकलन गरिएको उनले बताए । ‘वित्तीय व्यवस्थापनका लागि प्राप्त सिलिङभित्रको रकम पर्याप्त छैन भनेर हामीले भनिरहेका छौँ,’ उनले भने, ‘यसलाई पक्कै बजेटले सम्बोधन गर्ने छ ।’
सरकारले चालु आव २०८१/८२ मा ऊर्जामा ५० अर्ब ७४ करोड र जलस्रोत तथा सिँचाइ क्षेत्रका लागि ३६ अर्ब ८१ करोड गरी कुल ८७ अर्ब ५५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । त्यस्तै, २०८०/८१ मा बजेटको आकार कुल ८७ अर्ब ४५ करोड रुपैयाँ थियो ।
यसैगरी, आव २०७९/८० का लागि कुल १ खर्ब ८ अर्ब ६० करोड रुपैयाँ र २०७८/७९ का लागि १ खर्ब २१ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । मुलुक कोरोना महामारी (कोभिड–१९) को वर्ष अर्थात् आव २०७७/७८ मा भने ऊर्जा तथा जलस्रोत विकासतर्फ कुल ७२ अर्ब ३९ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।
आगामी आवको बजेटका केही मुख्य प्राथमिकताका कार्यक्रम
– अन्तरदेशीय (नेपाल–भारत) उच्च भोल्टेजयुक्त प्रसारण लाइन
– जलस्रोत तथा सिँचाइतर्फका नियमित कार्यक्रम
– बूढीगण्डकी जलाशयसहित राष्ट्रिय गौरवका जलविद्युत् तथा जलस्रोत आयोजना
– विपन्न वर्गका जनताले समेत जलविद्युत् लगानी गर्न पाउने व्यवस्था
विगत ५ वर्षमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा विनियोजित बजेट
क्र.सं. | आर्थिक वर्ष | विनियोजित बजेट (रु) |
१. | २०८२/८३ | ९४ अर्ब (प्रस्तावित) |
२. | २०८१/८२ | ८७ अर्ब ५५ करोड |
३. | २०८०/८१ | ८७ अर्ब ४५ करोड |
४. | २०७९/८० | १ खर्ब ८ अर्ब ६० करोड |
५. | २०७८/७९ | १ खर्ब २१ अर्ब ९७ करोड |
६. | २०७७/७८ | ७२ अर्ब ३९ करोड |
स्रोतः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय