काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रण गर्न प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो भएको आगलागी रहस्यमय भएको पत्ता लागेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित ग्राहक तथा वितरण सेवा निर्देशनालय र बागमती प्रादेशिक कार्यालयका निर्देशक लगायतको टोलीले गरेको स्थलगत निरीक्षणपछि समस्याको स्रोत पत्ता लागेको हो । प्राविधिक समस्या पत्ता लागेको र यस्तो घटना कसरी हुन गयो भन्ने विषय रहस्यमय रहेको शाक्यले बताए ।
‘ठेकेदारले काम गर्ने क्रममा भएको हो वा अन्य कसैबाट जानीबुझी वा आफूलाई कमजोर ठह¥याउन गरेको हो त्यसको छानबिन हुन्छ,’ उनले भने, ‘त्यसका लागि मंगलबार ३ सदस्यीय कमिटि गठन गरिनेछ ।’ हालको विद्युत् आपूर्तिको समस्या ३ दिनपछि पुरानै अवस्थामा कायम गरिने उनको भनाइ छ ।
चपली सबस्टेसनको ब्रेकर ल्याएर जडान गर्ने र त्यसका लागि दिनरात २ ‘सिफ्ट’मा काम गरेर ३ दिनभित्र पुरानै स्थितिमा ल्याउन निर्देशन दिइएको पनि शाक्यले बताए । अहिले त्यस क्षेत्रको विद्युत् आपूर्ति वैकल्पिक व्यवस्थाबाट गरिएको छ ।
मातातीर्थ सबस्टेशनको ब्रेकर प्यानलमा आगलागी, ११ केभीका ३ वटा फिडरको आपूर्ति अवरुद्ध