काठमाडौँ । एबिपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत् परियोजना निर्माणका लागि कर्जा व्यवस्थापन (क्रेडिट फेसिलिटी) गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एबिपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले बुधबार एक समाराेहकाबीच हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आयोजनामा कुल लागतको ७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋण सिद्धार्थ बैंकले व्यवस्थापन गर्ने भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । बाँकी २५ प्रतिशत रकम भने स्वपुँजीबाट व्यवस्थापन गरिने छ । उनका अनुसार आयोजनामा कूल १ अर्ब ६४ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।
अनुभवी प्रवर्द्धकहरूको समूहले विकास गर्न लागेको आयोजना प्रवर्द्धक कम्पनीको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रका हस्ती असगर अलीलगायत रहेका छन् । श्रेष्ठ नुवाकोटमा सञ्चालनमा रहेको बुद्धभूमि हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन् भने एटलस इनर्जी र ह्याप्पी इनर्जीमा पनि आवद्ध छन् । त्यस्तै खतिवडा पनि एबिपी इनर्जीका साथै सञ्चालनमा आइसकेको बुद्धभूमि हाइड्रोपावर, बराह मल्टिपा वर, एटलस इनर्जी लगायतका कम्पनीका अध्यक्ष तथा निर्देशक छन् । असगर अलि भने प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार हुन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित तादी घ्याङफेदी जलविद्युत् आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट २०८४ वैशाखभित्र विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।
आयोजना सञ्चालनमा आएपछि हाइड्रो टुरिजमबाटसमेत आयोजनाले आम्दानी गर्ने लक्ष्य लिएको इप्पानका महासचिव तथा आयोजनाका निर्देशक बलराम खतिवडाले बताए । गोसाईंकुण्ड जाने ट्रेकिङ रुटमा निर्माण हुने आयोजनाले बनाएका क्याम्प हाउस होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधासमेत दिन सकिने खतिवडाको भनाइ छ ।
आयोजनाले २०८१ असार ३१ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो भने २०८१ भदौ २७ मा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।
विद्युत्गृहमा पानी लैजान ३ हजार ९ सय मिटर लामो पाइपलाइन रहने आयोजनाको ४४६ मिटर हेड रहेको छ । डिजाइन डिस्चार्ज २.२ क्यूसेक रहेको छ । आयोजनाबाट सुख्खायाममा १५.९७ गिगावाट आवर र वार्षिक ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ । वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाले वार्षिक २९ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।