काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको खुद नाफा गत आर्थिक वर्ष (आव) मा पौने ४ अर्बभन्दा बढीले घटेको छ ।
प्राधिकरणका अनुसार आव २०८१÷८२ मा ८ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आव २०८२÷८३ मा आइपुग्दा प्राधिकरणको खुद नाफा ३ अर्ब ८७ करोड रुपैयाँले घटेर ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो ।
यस सार्वजनिक संस्थानका पछिल्ला केही वर्षको आँकडा हेर्दा वर्षेनी यसको नाफा आर्जन गर्ने क्षमतामा ह्रास आएको देखिन्छ । आव २०८०÷८१ मा प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।
प्राधिकरणले भने मुख्यतयाः विदेशी विनिमय दर वृद्धिका कारण नाफा घटेको दाबी गरको छ । यसका अनुसार अघिल्लो आवको तुलनामा विदेशी विनिमय दर वृद्धिका कारण विद्युत् प्राधिकरणको दायित्व मात्रै २७२.८६ प्रतिशत बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । विदेशी विनिमय दरसँगै प्राधिकरणको बढेका दायित्व, ब्याज र ह्रासकट्टी खर्चका कारण नाफा घटेको प्राधिकरणको दाबी छ ।
आव २०८२÷८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट कुल आम्दानी १ खर्ब ६६ अर्ब रुपैयाँ प्राप्त गरेको छ । यसमध्ये समिक्षा वर्षमा विद्युत् बिक्रीबाट प्राप्त आम्दानी मात्र १८.२० प्रतिशत वृद्धि भएर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको बताइएको छ ।
यस्तै कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण र निर्यात वृद्धिका कारण समग्र कुल नाफा भने १३.१७ प्रतिशत बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको तथा सञ्चालन मुनाफा ७.२८ प्रतिशत बढेर २४ अर्ब ८१ करोड पुगेको जानकारी विद्युत् प्राधिकरणले दिएको छ।
प्राधिकरणका अनुसार यस संस्थानको कुल सम्पत्ति ८.९ प्रतिशत बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैया पुगेको छ । निर्माणाधीन पुँजीगत आयोजनाहरूमा रु. २ खर्ब ६ अर्ब २६ करोड ७० लाख लगानी छ भने यस अवधिमा रु. ७४ अर्ब ६ करोड ६० लाख पुँजीकरण भएको छ।
यसैगरी, प्राधिकरणले ५ एम्पियरका उपभोगकर्ता २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क दिइएको जनाएको छ । औसत बिक्री दर प्रतियुनिट रु. ९.६८ छ भने प्रतिग्राहक खपत बढेर २,०८८ युनिट पुगेको प्राधिकरणको भनाइ छ ।