काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि प्राथमिक सेयर निष्कासन (आइपिओ जारी) गर्ने भएको छ । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने २६ करोड ७ लाख रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका २६ लाख ७ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।
यस मध्ये ११ करोड ८५ लाख रुपैयाँ बराबरका ११ लाख ८५ हजार कित्ता प्राथमिक सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गर्ने छ । गोरखाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडा र लमजुङको दूधपोखरी गाउँपालिकाका वडा नम्बर १, २, ३ तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का बासिन्दाले उक्त आइपिओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले सर्वसाधारण नेपाली नागरिकका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरका १ लाख ४२ हजार २०० कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने छ ।
आइपिओमा कम्तीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका जारी गरिने आइपिओ छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते खुला हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने आइपिओ छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म खुला हुने छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ ।
कम्पनीले ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत् केन्द्रबाट २०८० माघ ८ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिरहेको छ । उक्त जलविद्युत् केन्द्रको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ । उक्त केन्द्र सञ्चालनको अनुमति अवधि ३० वर्ष ११ महिना बाँकी छ । जलविद्युत् केन्द्रमा भएको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना रहेको छ डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।