नेपाल विद्युत् प्राधिकरणले ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेको छ । विगत चार दशकदेखि विद्युत् उत्पादन, प्रसारण र वितरणको प्रभावकारी व्यवस्थापनमार्फत सुलभ, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण निरन्तर क्रियाशील रहिआएको छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले गरेका कार्यप्रगतिको समीक्षा गर्दै ऊर्जा क्षेत्रको समग्र विकासका लागि भावी कार्यदिशा एवं संस्थागत प्रतिबद्धता समेत प्रस्तुत गरिएको छ ।
विद्युत् आपूर्ति व्यवस्थापनमा मात्र सीमित नरही स्वदेशमा विद्युत् खपत वृद्धि गर्ने, बचत हुने विद्युत् निरन्तर रूपमा निर्यात गर्ने, विद्युत् सेवाको विश्वसनीयता तथा गुणस्तर अभिवृद्धि गर्ने र ग्राहक सेवामा उल्लेख्य सुधार ल्याउने रणनीतिका साथ प्राधिकरण अघि बढिरहेको छ ।
उच्च भोल्टेज प्रसारण लाइन तथा सबस्टेसनहरूको निर्माण, ठूला जलाशय तथा आंशिक जलाशय आयोजनाहरूको विकास, विद्यमान वितरण पूर्वाधारको सुदृढीकरण तथा सबै नागरिकमा विद्युत् पहुँच पुर्याउन वितरण सञ्जाल विस्तारका कार्यहरू अघि बढाइएका छन् । ऊर्जा क्षेत्रमा लगानी तथा नवप्रवर्द्धनका प्रमुख आधारका रूपमा निजी क्षेत्रको सहभागितालाई निरन्तर प्रोत्साहन गरिएको छ । साथै, पारदर्शिता, जवाफदेहिता तथा सञ्चालन दक्षता अभिवृद्धि गर्न सूचना प्रविधि तथा डिजिटल प्रणालीको प्रयोगलाई तीव्रता दिँदै थप उत्तरदायी, भरपर्दो तथा ग्राहक केन्द्रित सेवा प्रवाहमा जोड दिइएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले सम्पादन गरेका कार्य र त्यसबाट प्राप्त नतिजाहरूको संक्षिप्त विवरण देहायबमोजिम रहेको छ:
सञ्चालनको अवस्था
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ४,१२० मेगावाट पुगेको छ । सो आर्थिक वर्षमा मात्र ५२९ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय प्रणालीमा थप भएको छ । २०८३ असार १४ गते रातिको उच्चतम विद्युत् माग २,४७९ मेगावाट रहेको छ भने असार २२ गते प्रणालीको उच्चतम विद्युत् माग ३,२२६ मेगावाट पुगेको छ । यस अवधिमा आन्तरिक विद्युत् खपत ९.२७ प्रतिशतले वृद्धि भएको छ । चुहावट नियन्त्रणका प्रभावकारी कार्यक्रम र प्रणालीगत सुधारबाट विद्युत् चुहावट अघिल्लो आर्थिक वर्षको १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा कायम गर्न सकिएको छ ।
आर्थिक वर्ष २०८२/८3 मा प्राधिकरणका विद्युत् ग्राहकको संख्या ५९ लाख २७ हजार पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८५ प्रतिशतले वृद्धि हो। कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत तथा अन्य ग्राहकहरूको हिस्सा ८.१६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा कुल १८,६२४ गिगावाट घण्टा विद्युत् ऊर्जा उपलब्ध भएकोमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३६ प्रतिशत, स्वतन्त्र विद्युत् उत्पादकहरूको योगदान ५८ प्रतिशत र भारतबाट आयात गरिएको विद्युत्को योगदान ६ प्रतिशत रहेको छ । आन्तरिक विद्युत् खपत १२,३७६ गिगावाट घण्टा पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बढी हो । सोमध्ये घरेलु ग्राहकको हिस्सा ४२ प्रतिशत र उद्योगको हिस्सा ३६ प्रतिशत रहेको छ ।
आर्थिक पक्ष
आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट रु. १ खर्ब ६६ अरबा कुल आम्दानी गरेको छ । जसमध्ये विद्युत् बिक्रीबाट मात्र प्राप्त आय अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४८ अर्ब ६२ करोड भएको छ । प्राधिकरणले समग्र कार्यसम्पादनमा गरेको सुधार, विद्युत् चुहावटको न्यूनीकरण, विद्युत् निर्यातमा भएको वृद्धि समेतका कारण कुल नाफा गत वर्षको तुलनामा १३.१७ प्रतिशतले वृद्धि भई रु. ३१ अर्ब २३ करोड भएको छ भने कुल सञ्चालन मुनाफा गत वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि भई रु. २४ अर्ब ८१ करोड भएको छ ।
यद्यपि, विदेशी विनिमय दर वृद्धिका कारण संस्थाले व्यहोर्नुपर्ने दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा २७२.८६ प्रतिशतले वृद्धि भई रु. ११ अर्ब ५१ करोड पुगेको र ह्रास कट्टी तथा व्याज खर्चमा भएको वृद्धि, इम्पेयरमेण्ट नोक्सानी (खर्च) का लागि गरिएको व्यवस्थासमेतका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा केही कमी भई आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको कर अघिको नाफा रु. ५ अर्ब ४ करोड हुन गएको छ ।
निर्माणाधीन पुँजीगत कार्यमा रु. २ खर्ब ६ अर्ब २६ करोड ७० लाख लगानी रहेको छ । यस अवधिमा रु. ७४ अर्ब ६ करोड ६० लाख पुँजीकरण भएको छ । प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले वृद्धि भई रु. ७ खर्ब ७१ अर्ब १९ करोड २० लाख पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा अवकाश कोषको कुल मौज्दात रु. १० अर्ब १२ करोड ८० लाख रहेकोमा सो रकम नेपाल सरकारको निर्देशन र प्रचलित कानून बमोजिम अवकाश कोष सञ्चालन गर्ने निकायमा हस्तान्तरण गरिएको छ ।
सरकारी अनुदान, सडकबत्ती बक्यौता र डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता बाहेक प्राधिकरणको औसत संकलन अवधि ४४ दिन रहेको छ । ५ एम्पियरका करिब २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई कुल २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् प्राधिकरणले निःशुल्क उपलब्ध गराएको छ । प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट रु. ९.६८ रहेको छ । प्रतिग्राहक औसत बिक्री १,९७८ युनिटबाट वृद्धि भई २,०८८ युनिट पुगेको छ भने अनलाइन भुक्तानीमार्फत महसुल सङ्कलन रु. ३४ अर्ब ३३ करोडबाट वृद्धि भई रु. ४० अर्ब ९९ करोड पुगेको छ ।
पूर्वाधार विस्तार
आर्थिक वर्ष २०८२/८३ मा १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई उत्पादन परीक्षण भइरहेको छ ।
प्रसारणतर्फ कोहलपुर-सुर्खेत प्रसारण लाइनको निर्माण सम्पन्न भई कर्णाली प्रदेश पहिलोपटक १३२ केभी प्रसारण सञ्जालसँग जोडिएको छ । खिम्ती-बाह्रबिसे ४०० केभी प्रसारण लाइन सञ्चालनमा आई तामाकोशी तथा सुनकोशी नदी बेसिनमा उत्पादित विद्युत् प्रसारण क्षमता थप सुदृढ भएको छ । त्यसैगरी, मार्किचोक-भरतपुर २२० केभि प्रसारण लाइन सञ्चालनमा आएपछि मस्याङ्दी नदी बेसिनका विद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न सहज भएको छ ।
हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा उत्पन्न समस्या समाधान भई निकट समयभित्र सम्पन्न हुनेगरी कार्य अगाडि बढाइएको छ । तम्घास-बुटवल, ढल्केबर-बालगंगा, लालबन्दी-सलिमपुर तथा कालीगण्डकी-रिडी १३२ केभी प्रसारण लाइन र मूलपानी तथा फुटुङ १३२/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ । लमजुङको रुदी २२० केभी सबस्टेसन निर्माण सम्पन्न भई १३२ केभीमा चार्ज गरिएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म उच्च भोल्टेज प्रसारण लाइनको कुल लम्बाइ ७,११० सर्किट किमि र प्रसारण सबस्टेसनको क्षमता १५,५४१ एमभीए पुगेको छ । सो आर्थिक वर्षमा मात्रै सबस्टेसनको क्षमता १,४१८ एमभीए थप भएको छ ।
साथै १,६५० सर्किट किलोमिटर प्रसारण लाइन तथा ६,२६१ एमभीए क्षमताका ग्रिड सबस्टेसन निर्माणाधीन अवस्थामा छन् । स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग आबद्ध गर्ने गरी ३९ वटा विद्यमान र १५ वटा नयाँ ग्रिड सबस्टेसनमा स्वचालित प्रणाली जडान गर्ने कार्य चालू आर्थिक वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
वितरणतर्फ ३३/११ केभी का २२१ वटा सबस्टेसन जडान गरिएका छन्, जसको कुल ट्रान्सफर्मर क्षमता ३,०४८ एमभीए रहेको छ । ३३ केभीका ८,३३८ सर्किट किलोमिटर, ११ केभी का ५४,२९६ सर्किट किलोमिटर तथा ४००/२३० भोल्टेजका १,६३,४९० सर्किट किलोमिटर वितरण लाइन निर्माण भएका छन् । त्यस्तै, कुल ५,४५४ एमभीएका ५५,९४८ वटा वितरण ट्रान्सफर्मर जडान गरिएका छन् ।
केन्द्रीय प्रसारण लाइन नपुगेका देशका विभिन्न क्षेत्रमा प्रसारण तथा वितरण लाइन विस्तारको कार्य जारी रहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, भरतपुर तथा पोखरामा क्षमता, सुरक्षा तथा सहरी सौन्दर्य सुधार गर्ने उद्देश्यले भूमिगत वितरण प्रणाली निर्माण भइरहेको छ । मधेश प्रदेशमा वितरण सञ्जाल सुदृढीकरणको कार्य समेत अघि बढिरहेको छ। बागमती तथा लुम्बिनी प्रदेशमा विद्युत् आपूर्ति अवरुद्ध नगरी लाइन मर्मतसम्भार (लाइभ लाइन मेन्टेनेन्स) गर्न सकिने प्रविधिको प्रारम्भ गरिएको छ जसबाट सो क्षेत्रको नियमित आपूर्ति र विश्वसनीयतामा अभिवृद्धि हुनेछ ।
निजी क्षेत्रको संलग्नता
प्राधिकरणले मुलुकको समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्दै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा स्वतन्त्र विद्युत् उत्पादकद्वारा विकास गरिएका २३ वटा नयाँ आयोजना सञ्चालनमा आएका छन्, जसबाट कुल ५२८.९९ मेगावाट थप भएको छ ।
यससँगै सञ्चालनमा रहेका निजी क्षेत्रका आयोजनाको संख्या २२७ पुगेको छ भने ती आयोजनाको कुल जडित क्षमता ३,४५९ मेगावाट पुगेको छ । हाल वित्तीय व्यवस्थापन सम्पन्न भई ६,४७२.२१ मेगावाट कुल जडित क्षमता भएका २१३ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् भने २,२०० मेगावाट भन्दा बढीका १०५ वटा आयोजनाहरू विकासका विभिन्न चरणमा रहेका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ५४ वटा नयाँ विद्युत् खरिद सम्झौता गरेको छ । तीमध्ये ५ वटा जलविद्युत् आयोजनाहरूबाट २८.६ मेगावाट र ४९ वटा सौर्य विद्युत् आयोजनाहरूबाट ६७५ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता भएको छ । यससँगै स्वतन्त्र विद्युत् उत्पादकहरूसँग प्राधिकरणले गरेको कुल विद्युत् खरिद सम्झौताको संख्या ५४५ पुगेको छ भने ती आयोजनाको कुल क्षमता १२,१३५ मेगावाट पुगेको छ ।
ऊर्जा उत्पादनमा निजी क्षेत्रको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै प्रसारण लाइन आयोजनाको विकासमा समेत निजी क्षेत्रलाई 'बूट' मोडलमा सहभागी गराउने नीति अघि बढाइएको छ । यसका लागि सरकारले स्वीकृत गरेको प्रसारण आयोजना सम्बन्धी शुल्कमा आधारित प्रतिस्पर्धात्मक बोलपत्र (टिबिसीबी) ढाँचा अन्तर्गत चार वटा प्रसारण लाइन आयोजना निर्माणका लागि इच्छुक प्रसारण सेवा प्रदायकहरूबाट आशय पत्र प्राप्त भई मूल्याङ्कनको चरणमा रहेको छ।
सीमापार विद्युत् व्यापार
आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल १,१७१ गिगावाट घण्टा विद्युत् आयात गरेको थियो भने विद्युत् निर्यात ६६.६० प्रतिशतले वृद्धि भई ३,९६५ गिगावाट घण्टा पुगेसँगै खुद विद्युत् निर्यात २,७९४ गिगावाट घण्टा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा चार गुणा बढी हो । विद्युत् आयातमा रु. १०.५६ अर्ब खर्च भएको थियो भने विद्युत् निर्यातबाट रु. २९.३१ अर्ब आम्दानी भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो ।
भारतसँगको विद्युत् व्यापार पावर एक्सचेञ्ज मार्केट अन्तर्गत डे–अहेड तथा रियल टाइम मार्केट, मध्यम अवधिको द्विपक्षीय सम्झौता तथा नेपाल-भारत विद्युत् आदानप्रदान संयन्त्रमार्फत हुँदै आएको छ । प्राधिकरणले हरियाणाका विद्युत् वितरण कम्पनीहरूलाई दुई छुट्टाछुट्टै २०० मेगावाटका सम्झौतामार्फत कुल ४०० मेगावाट विद्युत् आपूर्ति गर्ने तथा नेपाल-बिहार १३२ केभी प्रसारण पूर्वाधारमार्फत बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडलाई २०० मेगावाटसम्म विद्युत् निर्यात गर्ने मध्यम अवधिको सम्झौता गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ सम्म प्राधिकरणले बंगलादेशको ४० मेगावाट सहित भारततर्फ १,२०० मेगावाटसम्म विद्युत् निर्यात तथा करिब ७५० मेगावाट विद्युत् आयात गर्दै आएको छ । १४-१५ जुलाई २०२६ मा सम्पन्न १३औँ संयुक्त कार्यदल (जेडब्लुजी) तथा संयुक्त निर्देशन समिति (जेएससी) को बैठकले बुटवल-गोरखपुर प्रसारण लाइनलाई ४०० केभी मा सञ्चालन नभएसम्म अन्तरिम रूपमा २२० केभी मा सञ्चालन गर्ने व्यवस्था स्वीकृत गरेको छ । यस अवधिमा उक्त प्रसारण लाइनबाट नेपालले अधिकतम १३० मेगावाट विद्युत् आयात तथा २०० मेगावाट विद्युत् निर्यात गर्न सक्नेछ ।
साथै, सो बैठकले ढल्केबर-मुजफ्फरपुर ४०० केभी तथा ढल्केबर-सीतामढी ४०० केभी प्रसारण लाइनको संयुक्त क्षमता नेपालबाट विद्युत् निर्यातका लागि १,६५० मेगावाट तथा नेपालले विद्युत् आयातका लागि १,४०० मेगावाट कायम गर्ने निर्णय भएसँगै सीमापार विद्युत् व्यापार क्षमता थप विस्तार हुनेछ ।
सहायक कम्पनीमार्फत व्यवसाय विस्तार
प्राधिकरणले विद्युत् उत्पादन, सीमापार प्रसारण पूर्वाधार, विद्युत् व्यापार, इन्जिनियरिङ सेवा तथा डिजिटल पूर्वाधारका लागि १९ वटा सहायक तथा सम्बद्ध कम्पनीमार्फत व्यवसाय विस्तार गरेको छ । यसबाट अतिरिक्त लगानी परिचालन, आयोजनाको जोखिम बाँडफाँट, विशिष्टीकृत दक्षता विकास तथा रणनीतिक महत्त्वका ऊर्जा आयोजनाको कार्यान्वयनमा तीव्रता आएको छ ।
प्राधिकरणको पहिलो सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी र त्यसका तीन सहायक कम्पनी सान्जेन, मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनी मार्फत कुल २९२.४ मेगावाट विद्युत् उत्पादन भइरहेका छन्। चिलिमेका अन्य दुई सहायक कम्पनी मध्ये चिलिमे सेती हाइड्रोपावर कम्पनीले ८७ मेगावाटको सेती नदी-३ जलविद्युत् आयोजना विकास गरिरहेको छ भने चिलिमे इन्जिनियरिङ सर्भिसेस कम्पनीले इन्जिनियरिङ सम्बन्धी सेवा प्रदान गरिरहेको छ ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र सञ्चालन गर्नुका साथै २०.६६ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको विकाससमेत गरिरहेको छ । तामाकोशी जलविद्युत् कम्पनीले ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । मोदी जलविद्युत् कम्पनीले कास्की जिल्लामा ४२ मेगावाट क्षमताको माथिल्लो मोदी- ए तथा १८.२ मेगावाटको माथिल्लो मोदी क्यास्केड आयोजना विकास गरिरहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा विस्तृत डिजाइन तथा अध्ययन अघि बढिरहेको दूधकोशी जलविद्युत् कम्पनीले ओखलढुंगा तथा खोटाङ जिल्लामा ६७० मेगावाटको दूधकोशी जलाशय आयोजना विकास गरिरहेको छ । जग्गा प्राप्ति तथा पहुँचमार्ग निर्माणको कार्य भइरहेको आयोजनाको वित्तीय व्यवस्थापन अक्टोबर २०२६ सम्म सम्पन्न गर्ने तथा सन् २०३५ मा आयोजना सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।
चैनपुर सेती जलविद्युत् कम्पनीले बझाङ जिल्लामा २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भई ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ ।
त्रिशूली जलविद्युत् कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ बी आयोजना निर्माण गरिरहेको छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म आयोजनाको भौतिक तथा वित्तीय प्रगति करिब ७० प्रतिशत रहेको छ । उत्तर गंगा पावर कम्पनीले बागलुङ जिल्लामा निर्माण गर्ने ८२८ मेगावाटको उत्तर गंगा जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ ।
तनहुँ हाइड्रोपावर कम्पनीबाट निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति करिब ७८ प्रतिशत पुगेको छ। सो कम्पनीले १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजना पनि विकास गरिरहेको छ ।
अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेडले संखुवासभा जिल्लामा १,०६३.३६ मेगावाटको अपर अरुण तथा ४० मेगावाटको इकुवा खोला जलविद्युत् आयोजना विकास गरिरहेको छ । पहुँचमार्ग, सुरुङ, आयोजना शिविर तथा हाइड्रोलिक मोडेलसम्बन्धी कार्य अघि बढिरहेका छन् भने डिजाइन पुनरावलोकन तथा वित्तीय व्यवस्थापन जुटाउने विभिन्न विकल्प सहितको कार्य अघि बढाएको छ ।
एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले नेपालको पूर्वाधार विकासको लागि आवश्यक इन्जिनियरिङ्ग सेवा प्रदान गरिरहेको छ। जसबाट आर्थिक वर्ष २०८२/८३ मा रु. ५५ करोडको कारोबार गर्न सफल भएको छ ।
नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेडले नेपालभित्र तथा सीमापार विद्युत् व्यापार गर्ने उद्देश्य सहित विभिन्न कार्ययोजना तयार गरेको छ। विद्युत् नियमन आयोगबाट आवश्यक स्वीकृति प्राप्त भएपछि विद्युत् व्यापार गर्ने कार्य अघि बढाइनेछ ।
पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले ४०० केभी को ढल्केबर-भिट्टामोड प्रसारण लाइन प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले रु. २८ करोड ३७ लाख ९० हजार कारोबार गरी रु. ११ करोड ५१ लाख ६० हजार नाफा आर्जन गर्न सफल भएको छ ।
प्राधिकरणले गत आर्थिक वर्ष सूचना प्रविधिको अधिकतम उपयोग र व्यवसाय गर्ने उद्देश्यले नेपाल डिजिटल इन्फ्रास्ट्रक्चर कम्पनी स्थापना गरेको छ। यस कम्पनीले प्राधिकरणको ग्रिड सञ्जालमा अप्टिकल फाइबर तथा डाटा सेन्टरसम्बन्धी पूर्वाधार निर्माण गरी डिजिटल नेपाल फ्रेमवर्कलाई अघि बढाउने तथा प्राधिकरणको आम्दानीका स्रोत विविधीकरण गर्नेछ।
भावी कार्यदिशा
नेपाल सरकारको कार्ययोजना एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मार्गदर्शन बमोजिम प्राधिकरणका आगामी योजना तथा कार्यक्रमहरू निर्देशित हुनेछन् । सरकारको सुशासन र पारदर्शिताको राष्ट्रिय संकल्पप्रति पूर्ण प्रतिबद्ध हुँदै सेवा प्रवाहलाई सरल, सहज नागरिकमैत्री हुने गरी कार्ययोजना लागु गरिनेछ । अधिकार र स्रोतको न्यायोचित परिचालनमार्फत प्रादेशिक र स्थानीय तहसम्मका कार्यालयमा अधिकार प्रत्यायोजन गरी यस वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमा गरिएको छ । यस कदमले नीतिगत सुधार मात्र नभई आम नागरिकको घरदैलोसम्म शीघ्र सेवा प्राप्त हुने अवसर दिई सुशासन र सकारात्मक नतिजा प्राप्त हुनेछ ।
आगामी दिनमा सुरक्षित, भरपर्दो, सुलभ तथा गुणस्तरीय विद्युत् आपूर्ति गर्दै सञ्चालन दक्षता अभिवृद्धि गर्ने, आन्तरिक विद्युत् खपत बढाउने तथा बचत भएको विद्युत्को नियमित निर्यातमार्फत उल्लेख्य आय आर्जन गर्ने पूर्वाधार निर्माण गरिनेछ ।
हाल सरकारले नेपालको ऊर्जा विकासलाई उच्च प्राथमिकतामा राखेको छ । परिणामस्वरूप चालू आवमा ऊर्जा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन भएकोले प्राधिकरणको प्रसारण, वितरण र सूचना प्रविधि पूर्वाधार निर्माण तथा स्तरोन्नतिका साथै विद्युत् पहुँच नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका विकट क्षेत्रहरूमा राष्ट्रिय प्रसारण लाइन र भरपर्दो वितरण लाइन निर्माण गर्न मद्दत पुग्नेछ ।
सरकारको सन् २०३५ सम्म २८,५०० मेगावाट जडित विद्युत् उत्पादन क्षमता पुर्याउने राष्ट्रिय लक्ष्य साकार पार्न प्राधिकरणले उल्लेख्य भूमिका निर्वाह गर्नेछ । मध्यम तथा ठूला जलाशययुक्त तथा पिकिङ आयोजना निर्माणमा विशेष प्राथमिकता दिइनेछ । सौर्य विद्युत् उत्पादन क्षमता वृद्धि गर्दै ऊर्जा सुरक्षा र ग्रिड स्थायित्व सुधार गर्न ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बिइएसएस) सम्बन्धी अध्ययन अघि बढाइनेछ ।
सीमापार विद्युत् प्रसारण क्षमता विस्तार गर्न बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । चमेलिया-जौलजिबी २२० केभी, इनरुवा-पूर्णिया, दोधधारा-बरेली सीमापार प्रसारण लाइनको निर्माण अगाडि बढाइनेछ भने चिलिमे-केरुङ/जिलुङसम्मका प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिनेछ ।
विद्युत् आपूर्तिको गुणस्तर सुधार गरी विद्युत्को पहुँच पुग्न बाँकी क्षेत्रमा पूर्ण विद्युतीकरण गरिनुका साथै अन्य क्षेत्रमा वितरण सञ्जालको सुदृढीकरण, आधुनिकीकरण तथा स्वचालितीकरणलाई प्राथमिकता दिइने छ । घरको भान्सादेखि यातायात, सिँचाइ तथा उद्योगमा विद्युत् खपत वृद्धि गर्ने कार्यक्रमहरू अघि बढाइनेछन् । स्काडा प्रणालीसँग आबद्ध सबस्टेसन स्वचालित प्रणालीको विस्तार गरिनेछ । स्यूचाटारस्थित नयाँ वितरण प्रणाली नियन्त्रण केन्द्र तथा डाटा सेन्टरमार्फत वितरण प्रणालीको सञ्चालन दक्षता अभिवृद्धि गरिनेछ । काठमाडौँ उपत्यकामा जारी भूमिगत वितरण आयोजनाहरू शीघ्र सम्पन्न गरी विद्युत् सुरक्षा तथा सहरी सौन्दर्यमा थप सुधार गर्न आवश्यक पहलकदमी लिइनेछ। प्राधिकरणका दूरसञ्चार पूर्वाधारलाई अधिकतम उपयोग गरी व्यावसायिक रूपमा सञ्चालन गरिनेछ ।
रणनीतिक विद्युत् पूर्वाधारमा निजी पुँजी परिचालन गर्न उच्च भोल्टेज प्रसारण लाइन निर्माण, प्रमुख सहरहरूमा स्मार्ट मिटर जडान तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली स्थापनामा सार्वजनिक-निजी साझेदारीलाई प्राथमिकता दिइनेछ । हरित हाइड्रोजनमार्फत आन्तरिक विद्युत् खपत वृद्धि गर्न हेटौँडामा २.५ मेगावाटको इलेक्ट्रोलाइजर स्थापना गरी हरित एमोनिया तथा मथानोल विकास गर्ने योजना अघि बढाइनेछ ।
प्राधिकरणका कार्यलाई डिजिटल रूपान्तरण तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत परम्परागत कार्यसम्पादन शैलीलाई रूपान्तरण गर्न उच्च कार्यसम्पादन क्षमताको कम्प्युटिङ, बिग डाटा तथा क्लाउडमा आधारित सेवासहितको डाटा सेन्टर विकास गरिनेछ । यसबाट तथ्याङ्क सुरक्षा, नवप्रवर्द्धन, लगानी आकर्षण तथा नेपालको जलविद्युत् स्रोतबाट सञ्चालित दिगो डिजिटल पूर्वाधार विकासमा सहयोग पुग्नेछ ।
प्राधिकरणले एआई च्याटबोट तथा “नो लाइट” च्याटबोट सेवा सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा यी सेवाहरूलाई निरन्तर स्तरोन्नति गरी प्राधिकरणका अन्य कार्यक्षेत्रमा समेत विस्तार गरिने छ । यसबाट तत्काल सहायता उपलब्ध गराउन, विद्युत् अवरोधसम्बन्धी गुनासो दर्ता सरल बनाउन, प्रतिक्रिया उपलब्ध गराउने समय घटाउन तथा ग्राहक सेवामा सन्तुष्टि अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।
सबै पक्ष तथा सरोकारवाला निकायको सहयोग र सहकार्यमा प्राधिकरणले आगामी दिनमा अझ उत्कृष्ट कार्य सम्पादन गर्ने लक्ष्य राखेको छ ।
नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा कामु कार्यकारी निर्देशक श्रेष्ठद्वारा प्रस्तुत मन्तवयसहितको वार्षिक प्रतिवेदन २०८३ मा आधारित