विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरिरहेको बहुप्रतिक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले ४५ महिनामा आयाेजनाकाे निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो र सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो ।

हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनाको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्मका लागि थपिएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । ‘ठेकेदारले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको थियो’, उनले भने, ‘परामर्शदाता वापकोस लिमिटेडको सिफारिसअनुसार ४ महिनामात्र म्याद थपिएको हो ।’

कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएको छ ।

बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले ३ वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो ।

विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि विद्युत्‌गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्का सम्झाैताको म्याद आगामी डिसेम्बर ३१ सम्म छ ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजु विष्टले सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारलाई तालमेल मिलाएर काम गराउन समन्वय, सहजीकरण र ताकेता गरिरहेको बताए । कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माण सम्पन्न हुने उनले बताए ।

यसअघि गत असार १५ गते सम्पन्न कार्ययोजना ठेकेदारहरूको ढिलासुस्तीका कारण असफल भएको विष्टले बताए । रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँ को फेदीमा बाँध, ६ किलोमिटर २ सय ७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्‌गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । ४ वटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३