विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवामा निर्माण सम्पन्न भएकाे १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको संरचनामा शुक्रबारदेखि पानी भरेर परीक्षण सुरु गर्न लागिएकाे छ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेकाे आयोजना विभिन्न समस्या, अवराेध र प्राकृतिक विपद् झेल्दै परीक्षणकाे चरणमा पुगेकाे हाे ।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपश्चात् सुरुङका विभिन्न संरचनाहरूकाे चरणवद्ध रूपमा परीक्षण गर्ने कार्यतालिका रहेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए । उनका अनुसार माघ ५ गतेदेखि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण सुरु गर्ने तयारी छ ।

यसैगरी, कम्पनीले सम्पूर्ण संरचनाको चरणबद्ध रूपमा प्राविधिक परीक्षण गरेपछि व्यापारिक उत्पादनकाे चरणमा प्रवेश गर्ने आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए । ‘शुक्रबार डिस्याण्डर (बालुवा थिग्रयाउने पाेखरी) मा पानी भरेर २४ घण्टासम्म परीक्षण गर्छौ,’ उनले आयाेजनास्थलबाट बिहीबार ऊर्जा खबरसँग भने, ‘पेनस्टकको पनि परीक्षणपछि सुरुङ त्यसपछि मात्र मेसिनको परीक्षण सुरु हुन्छ ।’

परीक्षण अवधिभर नदीको पानी छेक्ने र छोड्ने कार्य गरिरहनुपर्ने भएकोले नदीको आसपास कार्यहरू नगर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले सूचना जारी गरी बाँधस्थलको तल्लो तटीय क्षेत्रअन्तर्गत नदीको किनारामा पर्ने स्थानहरूमा पानीको सतह घटबढ भइरहने जानकारी दिएको छ । उक्त समयमा नदीमा माछा मार्ने, नुहाउने, लुगा धुने, वस्तुभाउ चराउने र ढुंगागिट्टी उत्खनन गर्ने तथा नदीमा कुनै पनि किसिमका कार्यहरू नगर्न आग्रह गरेको छ ।

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ को सिमाना हुँदै बहने नदीमा निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको ९९ प्रतिशत निर्माण पूरा भएको छ । आयोजनाको इलेक्ट्रोमेकानिकलको भारतीय कम्पनी भोइथ हाइड्रोले गरेको हो । सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेश्नल वाटर एण्ड इलेक्ट्रिक ग्रुप, चाइनाले गरेकाे छ ।

आयोजनाबाट यसअघि नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भएपनि २०७२ सालको विनासकारी भुकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र  सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्‍याई आवत/जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेको जनाइएकाे छ ।

साथै, टेलरेस सुरुङको १४६ मिटर अत्यन्त कमजोर भौगर्भिक अवस्था तथा भूमिगत विद्युत्‌गृहमा जडानको तयारीमा रहेको इलेक्ट्रोमेकानिकल उपकरणहरू डुबानमा परेको कारण सबै क्षेत्रको कार्य प्रगतिमा असर परेकोले निर्माणमा ढिलाई भएको कम्पनीले जनाएको छ ।

कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०८० चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १८ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने समयमा कूल १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँमा लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

यस्तै, आयोजनाको विद्युत् जोडिने प्रसारण लाइनको ठेक्का एमएस रोयल कन्स्ट्रक्सन कम्पनी गरिरहेको छ । यसअघि ठेक्का पाएको मुडभरी एण्ड जोशी प्रालिले विविध कारण पटकपटक म्याद थप गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुने कुनै ठोस आधार नदेखिएको हुँदा ठेक्का अन्त्य गरिएको हो । रोयल कन्स्ट्रक्सनसँग २०७९ कात्तिक १५ गते ठेक्का सम्झौता भई लाइनको जग तयार गरी टावर खडा गर्ने तथा तार तान्ने काम समेत सम्पन्न भइसकेको जनाइएको छ ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : रसुवागढी जलविद्युत आयोजना

प्रवर्द्धक : रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड

आयोजनास्थल : रसुवा, गोसाइकुण्ड गाउँँपालिका

क्षमता : १११ मेगावाट

इलेक्ट्रो मेकानिकल ठेक्का : भारतीय कम्पनी भोइथ हाइड्रो प्रालि

सिभिल तथा हाइड्रो मेकानिकल : चाइना इन्टरनेश्नल वाटर एण्ड इलेक्ट्रिक क्रप, चाइना

प्रसारण लाइन : एमएस रोयल कन्स्ट्रक्सन कम्पनी (मुडभरी एण्ड जोशी प्रालिसँग ठेक्का रद्द)

लागत : सुरुकाे १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ, संशोधित–१७ अर्ब १ करोड रुपैयाँ, नयाँ संशाेधित लागतः १८ अर्ब ४७ कराेड

उत्पादन तालिका : २०७८ भित्र, संशाेधितः २०८० असार, थप संशाेधितः २०८० असाेज, नयाँ संशाेधितः २०८० चैत

वार्षिक ऊर्जा उत्पादन : ६१ करोड ६८ लाख ७५ हजार युनिट

वार्षिक ऊर्जा उत्पान आम्दानी : ३ अर्ब २५ करोड रुपैयाँ

प्रसारण लाइन : १० किलोमिटर, १३२ केभी

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३