काठमाडौँ । बझाङ माथिल्लो सेती आंशिक जलाशय जलविद्युत् आयोजना (२१६ मेगावाट) को वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको छ । बझाङको साइपाल गाउँपालिकामा समृद्धि इनर्जी लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा १४ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको हो ।
कुल ४१ अर्ब ६० करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत (२९ अर्ब १२ करोड रुपैयाँ) बैंक ऋण र बाँकी ३० प्रतिशत (१२ अर्ब ४८ करोड) स्वपुँजी लगानी गरिने भएको छ । स्वपुँजीको केही हिस्सा भने प्राथमिक सेयर निष्काशन (आइपिओ) बाट जुटाउने लक्ष्य राखिएको छ । आयोजनामा कुमारी बैंकको अगुवाइ र एनएमबि बैंकको सह–अगुवाइमा सहवित्तीयकरणमा ऋण लगानी हुने भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको उपस्थितिमा एक समारोहकाबीच शुक्रबार (साउन १६ गते) आयोजनामा ऋण लगानीसम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईं र लगानीकर्ता बैंकहरूका तर्फबाट कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् ।
आयोजनामा लगानी गर्ने बैंक/वित्तीय संस्था
आयोजनामा कुमारी बैंक लिमिटेड, एनएमबि बैंक, माछापुच्छ्रे बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक, नेपाल एसबिआई बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड जस्ता ठूला बैंकले लगानी गर्ने छन् ।
त्यस्तै, सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड गरी ‘ख’ वर्गका बैंक र आइसिएफसि फाइनान्स लिमिटेडले समेत आयोजनामा लगानी गर्ने भएको छ ।
पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य
कम्पनीले आयोजना स्थलमा हाल प्रारम्भिक चरणका काम गरिरहको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) अनुसार साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा आयोजना निर्माण हुने छ । आयोजना स्थलमा पुग्न २५ किलोमिटर लामो पहुँच मार्ग निर्माण गर्नुपर्ने छ ।
आयोजनाको विद्युत्गृह रामुखोला (स्थान) मा र साइपाल–४ र ५ मा पर्ने सेती र इङ्गलदारको दोभानमा बाँध निर्माण गरिने छ । बाँधको उचाइ १४ मिटर र लम्बाइ ४० मिटर रहने छ । आयोजनाकोे डिजाइन डिस्चार्ज ३४.१ घन मिटर प्रतिसेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ ।
आयोजनाको विद्युत्गृहमा ५५.७ मेगावाटका ४ वटा विद्युत् उत्पादन युनिट रहने छन् । प्रत्येक युनिटमा 'भर्टिकल एक्सिस पेल्टन टर्वाइन' जडान गरिने छ । आयोजनाको जलाशयले ५ लाख ५२ हजार ४२० घनमिटर पानी जम्मा गरी दैनिक साढे ४ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्छ ।
आयोजनाबाट वार्षिक १२२९.६ गिगावाट घण्टा (१ अर्ब २२ करोड ९६ लाख किलोवाट घण्टा/युनिट बिजुली) ऊर्जा उत्पादन गर्दछ । आयोजनाबाट वर्षायाममा ८३४.४९ गिगावाट घण्टा र ३९५.११ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ । यस मध्ये १६३.६३ गिगावाट घण्टा पिक इनर्जी रहने छ ।
उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभीको बझाङ सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ ।
आयोजनाको विद्युत् बर्खायाममा ४.८० रुपैयाँ र सुख्खायाममा ८.५० रुपैयाँदेखि १०.५५ रुपैयाँसम्ममा खरिद बिक्री गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिएको छ । त्यस्तै आयोजना सञ्चालन अवधिमा ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि गर्न सकिने व्यवस्था समेत गरिएको छ । आयोजनाको पिपिए २०८० साल साउन १९ गते भएको थियो । २०८१ वैशाख ३१ गते विद्युत् उत्पादन अनुमतिपत्र समेत प्राप्त गरिसकेको छ ।
आयोजाको निार्माण ५ वर्षभित्र अर्थात् २०८८ असार ३१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब रू. १९.२५ करोड हुनेछ । पहिलाे वर्षमै करिब ७ अर्ब ६७ करोड रुपैयाँ आर्जन हुने अपेक्षा गरिएको छ ।