काठमाडौं । सरकारले पहिलोपटक निजी क्षेत्रलाई समेत अन्तरदेशीय विद्युत् व्यापारको पूर्वतयारीका लागि बाटो खुला गरिदिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको तयारीका लागि सैद्धान्तिक सहमतिस्वरूप आशयपत्र (एलओआई) जारी गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि विद्युत् उत्पादनमा मात्र सीमित रहँदै आएको निजी क्षेत्रका लागि यो निर्णयले बजार खोज्ने, स्वदेशी तथा विदेशी साझेदार पहिचान गर्ने र खरिद-बिक्री सम्झौता (पिपिए) को तयारी गर्नेसम्मको नयाँ व्यावसायिक अवसर सिर्जना गरिदिएको छ । सरकारले तोकेका आवश्यक सर्तहरू पूरा गर्ने कम्पनीले अब प्राप्त आशयपत्रका आधारमा प्राविधिक, वित्तीय तथा व्यावसायिक सम्भाव्यता अध्ययन गर्न पाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बताए ।
यसअघि निजी क्षेत्रलाई विद्युत् आयोजना निर्माण र उत्पादनमा अनुमति दिइए पनि अन्तरदेशीय व्यापारमा प्रत्यक्ष सहभागिताको स्पष्ट कानुनी बाटो बनेको थिएन । मन्त्री श्रेष्ठको यस निर्णयलाई नेपालको ऊर्जा क्षेत्रको संरचनात्मक सुधार र निजी लगानीको दायरा फराकिलो बनाउने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
यद्यपि, आशयपत्र पाउँदैमा सोझै कारोबार गर्न भने पाइने छैन; औपचारिक व्यापार, प्रसारण क्षमता बुकिङ र खुला पहुँचको उपयोगका लागि प्रचलित कानुनबमोजिमका अन्तिम अनुमतिपत्र र प्राविधिक स्वीकृतिहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ ।
निजी क्षेत्रलाई व्यापारको ढोका खोलिएसँगै सम्भावित दुरुपयोग रोक्न सरकारले कडा सर्तहरू पनि लागू गरेको छ । मन्त्रालयका अनुसार कम्पनीहरूले कालोसूचीमा नपरेको र पेस गरिएका विवरण सत्य भएको स्वघोषणा गर्नुपर्नेछ । आशयपत्रका आधारमा मात्रै अनुमतिपत्र पाउने कानुनी हक वा सरकारमाथि कुनै दायित्व सिर्जना हुने छैन ।
यसैगरी, आशयपत्र प्राप्त कम्पनीले प्रत्येक त्रैमासिक अवधि सकिएको १५ दिनभित्र मन्त्रालयमा प्रगति प्रतिवेदन पेस गर्नुपर्ने छ । सेयर संरचना परिवर्तन गर्दा पूर्वस्वीकृति लिनुपर्ने छ भने गलत विवरण पेस गरेमा वा सर्त उल्लङ्घन भएमा सरकारले आशयपत्र निलम्बन वा खारेज गर्न सक्नेछ ।
आशयपत्रको अधिकतम अवधि दुई वर्षको रहने र थप गर्नुपर्ने भए ३० दिन अगाडि नै प्रगति विवरण र कारणसहित मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ । सरकारको यस कदमले विद्युत् क्षेत्रलाई उत्पादनमुखीबाट बजारमुखी बनाउन र थप वैदेशिक तथा निजी लगानी आकर्षित गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आशयपत्र पाउने निजी कम्पनीहरूको नामावली
| क्र.सं. | कम्पनी | प्रवर्द्धक/समूह |
| १. | ग्रिन इनर्जी पावर ट्रेडिङ | बटु लामिछाने र गणेश कार्की (बिजी ग्रुप) |
| २. | ट्रान्स एसियन पावर ट्रेडिङ कम्पनी | कुनाल कयाल तथा समूह |
| ३. | नेपाल पावर ट्रेडिङ एन्ड म्यानेजमेन्ट लिमिटेड | भाटभटेनी ग्रुप |
| ४. | नेपाल पावर एक्सचेन्ज (नेपेक्स) लिमिटेड | मोहनकुमार डाँगी, कृष्णप्रसाद आचार्य, उत्तम भ्लोन लामा र आशिष गर्ग |
| ५. | पावर ट्रेडिङ एण्ड इको इनर्जी | भवानी राणा एन्ड समूह |
| ६. | पावर ट्रेडिङ एन्ड इनर्जी एक्सचेन्ज | भानु पोखरेल तथा समूह |
| ७. | निफ्रा ट्रेडिङ एन्ड इनर्जी एक्सचेन्ज | निफ्रा बैंकको अगुवाई |
| ८. | हिमालयन पावर ट्रेडिङ कम्पनी प्रालि | मोतिलाल दुगड तथा समूह |
| ९. | एभरेष्ट पावर ट्रेडिङ | |
| १०. | क्रस बोर्डर इनर्जी लिमिटेड | |
| ११. | वेस्ट सेती ट्रान्समिसन लिमिटेड | |
| १२. | ऊर्जा ट्रेड इन्टरनेशनल |