काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा नदी प्रवाहमा आधारित (आरओआर) ४.९५ मेगावाटको माथिल्लो मेलम्ची र ४.९६ मेगावाटको तल्लो मेलम्ची जलविद्युत् आयोजना निर्माण हुने भएको छ । प्रवर्द्धक गुगेश्वरी इनर्जी प्रालिले यी दुई आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
माथिल्लो मेलम्ची जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) र प्रारम्भिक वातावरणी परीक्षण (आइइई) प्रतिवेदन अनुसार उक्त स्थानमा पर्ने मेलम्ची नदीमा ३.४ मिटर अग्लो र १८ मिटर लम्बाइ भएको बाँध (डाइभर्सन वेयर) बनाएर नदीको पानी विद्युत्गृहतर्फ लगिने छ ।
१.५ मिटर चौडाइ र ८३ मिटर लम्बाई भएको पेनस्टक पाइपमार्फत विद्युत् गृहमा पानी पुर्याइने छ । आयोजनाको सतही विद्युत् गृहमा २ वटा जेनेरेटर युनिटमार्फत विद्युत् उत्पादन गरिने छ । विद्युत् उत्पादनपछि ५२ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएको टेलरेसमार्फत पानी पुनः मेलम्ची नदीमा छोडिने छ ।
आयोजनाबाट वार्षिक करिब २९.२७ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् स्वीचयार्डबाट ४ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत २३.६ मेगावाटको सुपर मेलम्ची जलविद्युत् आयोजनाको स्वीचयार्ड हुँदै करिब १२ किलोमिटर लामो १३२ केभीको संयुक्त प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको समुन्द्रटार सबस्टेशनमा जोडिने छ । आयोजनाबाट २०६३ साल भदौभित्र विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, प्रवर्द्धक गुगेश्वरी इनर्जीले नै ४.९६ मेगावाटको तल्लो मेलम्ची जलविद्युत् आयोजना समेत निर्माण गर्ने भएको छ । सम्भाव्यता अध्ययन र आइइई प्रतिवेदन २०८० पुस मै तयार भइसकेको छ । आयोजना अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु–१ मा पर्ने रिवाल खोलाको झोलुङ्गे पुल नजिकै मेलम्ची खोलामा ३.८ मिटर अग्लो तथा ४५ मिटर लामो बाँध बनाएर विद्युत्गृहतर्फ पानी लगिने छ ।
२.५ मिटर ब्यास र १ हजार १५२ मिटर लामो हेडरेस पाइपमार्फत पानीलाई आयोजनाको सतही विद्युत्गृहमा खसालिने छ । विद्युत् गृहमा रहेने २.४८ मेगावाट क्षमताका २ वटा टवाईनमार्फत विद्युत् उत्पादन गरिने छ ।
आयोजनाबाट वार्षिक सरदर २९.१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उत्पादन हुने विद्युत्लाई ३.३ किलोमिटर लामो ३३ केभी लाइनमार्फत २३.६ मेगावाटको सुपर मेलम्चीको स्वीचयार्ड हुँदै त्यहाँबाट करिब १२ किमी लामो १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको समुन्द्रटार सबस्टेशनमा जोडिने छ ।
यो आयोजनाबाट पनि २०८३ भदौभित्र विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।