विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय ५औं बैठक सम्पन्न

काठमाडौं । नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना विकासका लागि आगामी ६ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने विषयमा सहमति भएको छ । बंगलादेशको पतुवाखालीमा जेठ २ गते (मंगलबार) सम्पन्न दुवै देशका ऊर्जा सचिवस्तरीय ५औं संयुक्त बैठकमा यस्तो सहमति भएको हो ।

आयोजना विकासका लागि आउने ६ महिनाभित्र संयुक्त उपक्रम सम्झौता (जेभिए) मा हस्ताक्षर हुने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) ले हस्ताक्षर गर्ने बताइएको छ ।

मन्त्रालयका सचिव घिमिरे तथा बंगलादेश विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सहअध्यक्षतामा सम्पन्न बैंठकमा सुनकोसी निर्माण तथा अन्तरदेशीय विद्युत व्यापारका विषयमा समेत छलफल भएको घिमिरेले बताए । जेठ १ गते मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल तथा बंगलादेश विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सहसचिव डा. साइद मासुम अहमद चौधरीको सहअध्यक्षतामा सम्पन्न संयुक्त कार्यदल (जेडब्लूजी को बैठकले गरेका सिफारिसहरूमा छलफल भई २ गतेको सचिवस्तरीय छलफलले अनुमोदन गरेको थियो ।

२०७९ सालको भदौमा काठमाडौंमा सम्पन्न दुई देशका सचिवस्तरीय बैठकमा प्राधिकरण र बिपिडिबीबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी–३ अगाडि बढाउने सहमति बनेको थियो । हालसम्म आयोजनाको सम्भाव्यता सम्बन्धी अध्ययन तथा वतावरणीय अध्ययन प्रतिवेदन पूरा भएको प्राधिकरणले जानकारी दिएको छ ।

छलफलका क्रममा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत बंगलादेशले खरिद गर्ने सम्बन्धमा बिपिडिबी र जिएमआर, भारत बीच हुने ‘पावर सेल्स एग्रिसेन्ट (पिएसए) अन्तिम चरणमा पुगेको र यथाशिघ्र उक्त सम्झौतामा हस्ताक्षर हुने बंगलादेशले जानकारी गराएको थियो ।

यसअघि भारतको माउन्ट अबुमा सम्पन्न नेपाल–भारत १०औं ऊर्जा सचिवस्तरीय बैठकमा भारतले ५० मेगावाट नेपालको बिजुली बंगलादेश निर्यात गर्ने बाटो दिने विषयमा सहमति भएको थियो । तर, यस विषयमा अहिलेसम्म नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय बैठक हुन सकेको छैन ।

सन् २०१८, अगष्ट १० मा ऊर्जा क्षेत्रमा सहकार्यका लागि सम्पन्न समझदारीको दफा ५ को व्यवस्था अनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय समिति (जेएससी) तथा सहसचिवस्तरीय कार्यदल (जेडब्लूजी) गठन गरिएको थियो ।

संयुक्त बैठकमा भएको छलफलपछिका मुख्य–मुख्य निर्णयहरू

१.    नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट वोर्डबीच विद्युत बिक्री सम्झौता (पावर सेल्स एग्रिमेन्ट) मा यथाशीघ्र हस्ताक्षर गर्ने ।

२.    सुनकोश–३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट वोर्डबीच ६ महिनाभित्र संयुक्त उपक्रम (जोइन्ट भेन्चर एग्रिमेन्ट–जेभिए) मा हस्ताक्षर गर्ने ।

३.    नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पहरूको अध्ययन गरी ६ महिनाभित्र प्रतिवेदन पेश गर्न विद्युत प्रसारण लाइन सम्बन्धी संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिने ।

४.    नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न सहजीकरण गर्ने ।

५.    वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र सस्टेनेबल एन्ड रिन्यूएबल इनर्जी अथोरिटी, बंगलादेशबीच सहकार्यका लागि तयार गरिएको समझदारी पत्र (एमओयू) को मस्यौदामा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने ।

६.    नेपाल, बंगलादेश र भारत बीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायत विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि उच्चस्तरीय त्रिपक्षीय प्रशासनिक संयन्त्र स्थापना गर्नको लागि दुवै पक्षबाट पहल गर्ने ।

सुनकोसी–३ को संक्षिप्त विवरण

सन् १९८५ मा जापानी सहयोग नियोग (जाइका) ले तयार गरेको कोसी बेसिन गुरुयोजनामा सुनकोसी–३ पहिचान भएको थियो । काठमाडौंबाट ९५ किलोमिटरको दूरीमा रहेको आयोजनाले काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली जिल्लालाई जोडेको छ ।

२०७४ सालदेखि अध्ययन सुरु भएको यो आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ । प्रारम्भिक अध्ययनअनुसार बाँधको उचाइ १८० मिटर रहने अनुमान छ । वार्षिक २३५६.२७ गिगावाट घन्टा विद्युत उत्पादन हुने आयोजनाको लागत करिब १.५० खर्ब रुपैयाँ अनुमान गरिएको छ । सुनकोसी–३ निर्माण हुँदा लुभुघाटबाट ४५ किलोमिटरको ताल बन्ने अध्ययनले देखाएको छ ।

३ हजार २ सय ३७ हेक्टर जमीन डुबानमा पर्ने आयोजनाका लागि ६५५.९ हेक्टर वन क्षेत्रसहित ३३०१.७ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । करिब १५ सय ६५ घरधुरीका ११ हजार ७ सय ७३ जनसंख्या आयोजनाका कारण विस्थापित हुने पनि अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३