काठमाडौं । जलविद्युत तथा सौर्य ऊर्जामा लगानी गर्दै आएको अपि पावर कम्पनीले जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा २९ प्रतिशत (१ः०२९ अनुपात) हकप्रद सेयर जारी गर्न लागेको हो ।
आफ्ना लगानीकर्ताका लागि ५६ करोड ७० लाख रुपैयाँ मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लगानीकर्ताले असार ९ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
हकप्रद सेयर बिक्रीबाट संकलन भएको रकम निर्माणाधीन सौर्य विद्युत तथा जलविद्युत आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म पहिलो चरणमा ४७ प्रतिशत (१ः०४७ अनुपात) हकप्रद सेयर निष्कासन गरेको थियो ।
कम्पनीले अहिले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको ३० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ ।
यस्तै, रौतहटमा ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना पनि निर्माण गरिरहेको छ । यो सौर्य विद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।
१/१ मेगावाटका २ सौर्य विद्युत आयोजनाको निर्माण चाँडै सुरु हुँदैछ । यसअघि निर्माण पूरा भएका साढे १६ मेगावाटका २ जलविद्युत आयोजना सञ्चालनमा छन् ।