काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) को २५ औँ वार्षिकोत्सव ‘इपान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनामा लगानी गर्न आग्रह गरे ।
‘तपाइँहरू लगानी गर्नुस्, अरुलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन, उनले भने, ‘अपर अरुण अरुले पैसा नदिने भएर समस्या भएको हो । आफैँ आफैँ उठाऔँ न । ठूलो कुरा मानिसहरूको सहभागिता हो । ठूला ठूला आयोजना विदेशी सहायताले चलेका छैनन् ।’
उनले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केही गरेको भन्दै आभार व्यक्त गरे । ‘देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ,’ उनले भने, ‘यो राष्ट्रिय भावनालाई सम्मान छ । कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पुर्याउन खोजेका हुन्छन् । तपाइँहररूले यहीँ लगानी गरेर देशको विकास गर्न खोज्नु भयो । गर्यो भने हुन्छ भन्ने सफलताका कथाहरू भनिरहनु भएको छ । ९५ प्रतिशतमाथि विद्युतीकरण भइसकेको छ । ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको छ । हामी काम गर्न सक्छौ ।’
उनका अनुसार ऊर्जा बिक्री चिन्ता गर्नुपर्ने विषय नभएको उनले बताए । ‘ऊर्जाले खपतका ठाउँहरू आफैँ बनाउँछ,’ उनले भने, ‘धौबादीबाट फलाम खानी उत्खनन् हुँदैछ । त्यहाँबाट उत्खनन गरेर फलाम बनाउने हो । ऊर्जा नभए कुटोले उत्खनन गर्न सकिँदैन् । मल उद्योग खोल्नुछ । अरु उद्योगहरू ब्युताउनुपर्नेछ । विभिन्न मोडल अपनाएर चला उनुपर्नेछ । त्यसका लागि ऊर्जा चाहिन्छ ।’
प्रधानमन्त्री ओलीले जनकपुर चुरोट कारखाना कसले खायो ? भन्दै प्रश्न गरे । ‘५०० कर्मचारीले काम हुने ठाउँमा २७०० कर्मचारी भयो,’ उनले भने, ‘६ महिनामा सरकार परिवर्तन हुने भयो । सबै मन्त्रीले आफ्ना मान्छे जागिरमा लगाउने भए । ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो । कारण अरु पनि छन् । प्राकृतिक रुपले सम्पन्न छौँ । विकास चाहिन्छ, वातावरण पनि चाहिन्छ । इकोसिस्टम कायम राख्नु छ । सँगसँगै विकास गर्नु पनि छ ।’
उनले मान्छे पस्न नपाउने वन के काम ? भन्दै प्रश्न गरे । नीतिहरू काम गर्नका लागि भएको तर रोक्नका लागि नभएको उनले बताए । ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर छ,’ उनले भने, ‘नागरिकको लगानी डुबे डुबोस भन्ने हुँदैन ।’
प्रधानमन्त्री ओलीका अनुसार नेपालमा अहिले साढे ३ सय बाघ छन् । ‘अब पनि डबल गर्ने ?,’ उनले भने, ‘बाघ घटाउनु पर्छ, बाघको सुरक्षा गर्ने तर मान्छेको नगर्ने भन्ने हुँदैन ।’