विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग (आइसिआइडी) को उपाध्यक्षमा इन्जिनियर सञ्जिव बराल निर्वाचित भएका छन् । उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव हुन् ।

चौथो विश्व सिँचाइ मञ्च तथा ७६औँ आइसिआइडीको ७६औँ अन्तर्राष्ट्रिय कार्यकारी परिषद् (आइइसी) बैठकबाट तीन वर्षे कार्यकाल (सन् २०२५ देखि २०२८ सम्म) का लागि बराल निर्वाचित भएका छन् । सो बैठक गत ७ देखि १३ सेप्टेम्बरसम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको थियो ।

कार्यकारी समितिमा ९ जना उपाध्यक्ष रहने व्यवस्था अनुसार प्रत्येक वर्ष तीन जना उपाध्यक्ष तीन वर्षका लागि निर्वाचित गर्ने गरिन्छ । सन् २०२५ देखि २०२८ सम्मका लागि उपाध्यक्षमा बरालसहितत स्पेनकी मिस क्रिष्टिना क्लेमेन्ट मार्टिन्ज र नाइजेरियाकफ इस्टर ओयरोन्के ओलुनियी निर्वाचित भएका छन् । उक्त संस्थाका अध्यक्ष ईटलीका डा. मार्को अर्किरी छन् ।

नेपाल सन् २००० (२०५७ साल वैशाख १९ गते) देखि आइसिआइडीको सदस्य मुलुक बनेको हो । नेपाल राष्ट्रिय समितिले आयोगका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको छ । बरालले यसअघि समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनी आइसिआइडी अन्तर्गतको एसियाली क्षेत्रीय कार्य समूह (एएसआरडब्लुजी) को सदस्यको रूपमा समेत क्रियाशील छन् ।

सन् १९५० मा आइसिआइडी स्थापना भई यसले सिँचाइ, जलनिकासी तथा बाढी व्यवस्थापनका क्षेत्रमा नीति, विज्ञान र अभ्यासलाई जोड्ने विश्वव्यापी मञ्चको भूमिका निर्वाह गर्दै आएको छ । यसका राष्ट्रिय समितिहरू कार्य समूह र साझेदार संस्थामार्फत विचार आदान–प्रदान, उत्कृष्ट अभ्यासको प्रवर्द्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै जल तथा खाद्य सुरक्षा र दिगो ग्रामीण विकासलाई अघि बढाउने कार्यमा सक्रिय छन् ।

बराल हाल जल तथा ऊर्जा आयोग सचिवालय अन्तर्गतको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रको प्रमुखको जिम्मेवारीमा छन् । बागमती प्रदेशक 'प्रदेश सचिव' तथा जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक हुँदै उनले दुई पटक विभागको महानिर्देशकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

जलविद्युत्, सिँचाइ तथा जलस्रोत क्षेत्रमा करिब १८ वर्षभन्दा बढीको अनुभव हासिल गरेका बरालले राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जलस्रोत आयोजना तयारी सुविधा तथा बूढी गंगा जलविद्युत् आयोजना लगायत ठूला परियोजनामा आयोजना निर्देशकको भूमिकामा काम गरिसकेका छन् । उनीसँग मन्त्रालय, विद्युत् विकास विभाग, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल), नेपाल विद्युत प्राधिकरण तथा बुटवल पावर कम्पनीमा समेत सिनियर हाइड्रोपावर इन्जिनियरका रूपमा कार्य गरेको अनुभव छ ।

आइइसीको बैठकका अवसरमा उनले राखेको दृष्टिकोण र प्रतिबद्धताका केही बुँदाहरू

१.    दिगो सिँचाइ र जलनिकासका लागि विभिन्न देश र संस्थाहरूबीच सहकार्य सुदृढ : आइसिआइडी साझेदारी प्रवर्द्धन गर्ने, ज्ञान आदानप्रदान गर्ने र नवप्रवर्तनलाई विस्तार गर्ने अद्वितीय मञ्च हो। हाम्रो सामूहिक ज्ञान र सीप सबैभन्दा बढी आवश्यक भएका देश र समुदायसम्म पुर्‍याइने ।

२.    पानी प्रयोग दक्षता र जलवायु–मैत्री सिँचाइ प्रवर्द्धन गर्ने: पानी बचत गर्ने, उत्पादकत्व बढाउने र उत्सर्जन घटाउने सिँचाइको प्रविधि र अभ्यासमा जोड दिनु पर्ने ।  स्मार्ट सिँचाइ, सतह र भूमिगत पानीको संयुक्‍त प्रयोग तथा सिँचाइ प्रणालीमा नवीकरणीय ऊर्जाको समावेशीकरणको पक्षमा वकालत गर्ने ।

३.    किसान–व्यवस्थित र समुदाय–आधारित प्रणालीलाई सशक्त पार्ने: सिँचाइ अन्ततः किसानकै लागि हो । उनीहरूको क्षमता, ज्ञान र सिँचाइ योजनामा स्वामित्व सुदृढ गर्नु अत्यावश्यक छ । अतः किसानलाई सिँचाइ शासनको केन्द्रमा राख्ने कार्यक्रमलाई अगाडि बढाइने ।

४.    नीति र व्यवहारबीच पुल निर्माण गर्ने: वैज्ञानिक प्रमाणमा आधारित सुदृढ नीतिहरू अनिवार्य छन् । आइसिआइडीलाई विश्वव्यापी नीतिगत छलफललाई अगुवाइ गर्ने सक्रिय भूमिका खेल्दै उत्कृष्ट अभ्यासलाई स्थानीय कार्यान्वयनमा परिणत गर्ने ।

५.    युवाहरुलाई शसक्त बनाउने र क्षमता विकासमा ध्यान केन्द्रित गर्ने: यस क्षेत्रमा दिगो प्रगति युवा पेशागत क्षमता विकास, अनुसन्धानकर्ता र नवप्रवर्तकलाई आकर्षित गर्ने क्षमतामा निर्भर छ । युवालाई मार्गदर्शन गर्ने, लैंगिक समावेशिता प्रवर्द्धन गर्ने र सदस्य मुलुकबीच क्षमता विकास गर्न पहल गर्ने ।

६.    राष्ट्रिय समितिहरूको भूमिकालाई सुदृढ गर्ने: राष्ट्रिय समितिहरू आइसिआइडीको मेरुदण्ड हुन् । तिनीहरूले विश्वव्यापी ज्ञानलाई स्थानीय यथार्थसँग जोड्छन् र स्थलस्तरका अनुभवलाई विश्व मञ्चमा पुर्‍याउँछन् । तिनीहरूको क्षमता सुदृढ गर्ने, सहकार्य बढाउने र निर्णय प्रक्रियामा उनीहरूको आवाज सुन्ने सुनिश्चित ।

बराल त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पसमा जलस्रोत योजना तथा व्यवस्थापनमा विद्यावारिधि अध्ययनरत छन् । उनले जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर उपाधि तथा पोखरा विश्वविद्यालय अन्तर्गतको एस कलेज अफ म्यानेजमेन्टबाट एक्जुकिटिभ एमबिएको अध्ययन पूरा गरेका छन् । उनी नेपाल सरकारले प्रदान गर्ने “सुप्रबल जनसेवा श्री” पुरस्कार तथा नेपाल इन्जिनियर्रस एसोसिएसनले २०१२ मा “युवा पेशागत पुरस्कारबाट पनि सम्मानित भएका छन् । उनले २०१६–२०१७ मा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट ह्युबर्ट एच हम्फ्री फेलोशिप कार्यक्रम (फुलब्राइट फेलोशिप अन्तर्गत) पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३