काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा २२ वटा विद्युत् उत्पादन आयोजनाबाट कुल ४३४.१२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यी मध्ये १७ वटा नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत्, एउटा आंशिक जलाशयमा आधारित (पिआरओआर) र ४ वटा सौर्य विद्युत् आयोजना रहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले ऊर्जा खबरलाई जानकारी दिए ।
उनका अनुसार सञ्चालनमा आएका मध्ये सबैभन्दा ठूलो विद्युत् आयोजना १११ मेगावाटको रसुवाढी जलविद्युत् आयोजना (भोटेकोसी बाढीका कारण क्षतिग्रष्त भई हाल बन्द अवस्थामा) रहेको छ । त्यस्तै सबैभन्दा सानो ९७५ किलोवाटको इडी खोला जलविद्युत् आयोजना रहेको छ ।
सौर्य विद्युत् आयोजना मध्ये सबैभन्दा ठूलो १५ मेगावाटको धर्मनगर सोलार फार्म रहेको छ भने सानोमा तराई इनर्जीको २.३ मेगावाटको सौर्य आयोजना रहेको छ ।
त्यस्तै निर्माण सकेर परीक्षणका क्रममा रहेका तथा परीक्षण उत्पादन गरिरहेका ५ वटा जलविद्युत् आयोजना रहेका छन् । यीनको क्षमता ९४.७३ मेगावाट रहेको छ । यी सबैलाई जोड्ने हो भने चालू वर्षमा कुल २७ विद्युत् आयोजनाको निर्माण पूरा भई कुल ५२८.८५५ मेगावाट विद्युत् केही दिनभित्रै प्रणालीमा थपिने करिब सुनिश्चित भएको देखिन्छ ।
उत्पादन सुरु गरेका र गर्ने तयारीमा रहेका आयोजनाहरूकाे तालिका