नेपालको विद्युत् क्षेत्रमा झन्डै ५० वर्ष पुरानो नाम हो– लिटमस इन्डस्ट्रिज लिमिटेड । लिटमस केबल नामबाट चिनिँदै आएको यो कम्पनीले नेपालमै पहिलो पटक ‘४०० केभी एसिएसआर मुज कन्डक्टर’ उत्पादन गरी नेपाल–भारत सीमापार प्रसारण लाइनका लागि आपूर्ति गर्ने ठेक्का प्राप्त गरेको छ ।
भारतीय कम्पनी सतलज जलविद्युत् निगमको लगानीमा सङ्खुवासभा र भोजपुरको सीमा क्षेत्रमा निर्माण भइरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् भारत लैजान निर्माण गर्न लागिएको ‘दिदिङ–ढल्केबर–बथनाह’ प्रसारण लाइनमा कम्पनीले उत्पादन गर्ने उच्च भोल्टेज क्षमताको कन्डक्टर प्रयोग गरिने छ ।
साना वितरण लाइनमा प्रयोग हुने कन्डक्टर र हाउस वायरिङमा प्रयोग हुने तारलगायतका सामान उत्पादन गर्दै आएको एउटा नेपाली कम्पनीका लागि यो स्तरको सफलता आफैँमा महत्त्वपूर्ण विषय हो । झन्डै ५ दशक लामो आफ्नो व्यावसायिक यात्रामा कम्पनीले तय गरेका आरोह–अवरोह र सफलताका सूत्रहरू खोतल्ने प्रयास ऊर्जा खबरले गरेको छ । प्रस्तुत छ– यसै सन्दर्भ सेरोफेरोमा रहेर लिटमस इन्डस्ट्रिज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रसँग गरिएको कुराकानीको सार संक्षेप:
लिटमस इन्डस्ट्रिज लिमिटेड (लिटमस केबल) स्थापना हुँदा आन्तरिक खपतका लागि मात्र केबल उत्पादन गर्ने गरेको थियो । अहिले यो एउटा अन्तर्राष्ट्रिय आपूर्तिकर्ता रूपमा स्थापित भइसकेको छ । झन्डै ५ दशक लामो यो सफल यात्राको पृष्ठभूमि र आधारबारे बताइदिनुस् न ।
लिटमस इन्डस्ट्रिज लिमिटेड सन् १९७७ (वि.सं. २०३४) मा 'लुम्बिनी विद्युत् उद्याेग'काे नामले स्थापित भएको थियाे । यो नेपालको पहिलो कन्डक्टर (विद्युत् तार) उत्पादक कम्पनी हो भन्न पाउँदा मलाई गर्व लागिरहेको छ । खास गरी, नेपालमा प्रसारण र वितरण लाइनमा प्रयोग हुने ‘एसिएसआर’ (आल्मुनियम कन्डक्टर स्टील रिइन्फोर्स्ड) कन्डक्टर उत्पादन गर्ने यो पहिलो उद्योग हो ।
त्यसताका नेपाल झन्डै अँध्यारो अवस्थामा थियो । जब सरकारी क्षेत्रबाट जलविद्युत् उत्पादनका कामहरू सुरु भए, प्रसारण र वितरणका लागि आवश्यक पर्ने कन्डक्टरहरू भारत र चीनबाट आयात गर्न थालियो । निजी क्षेत्रबाट त्यतिबेला हामीले ‘नेपालमै किन उत्पादन नगर्ने ?’ भन्ने परिकल्पनाका साथ यो उद्योग सुरु गरेका हौँ । आयात प्रतिस्थापन गर्ने र स्वदेशमै उत्पादन गर्ने मुख्य हेतुले नै हाम्रो यात्रा सुरु भएको हो ।
कन्डक्टरबाट सुरु भएको यो कम्पनीको यो उत्पादन क्रम अहिले कुन–कुन क्षेत्रमा विविधीकरण भएर फैलिएको छ ?
सुरुमा हामीले एसिएसआर कन्डक्टर बनायौँ । जब विद्युत् वितरण लाइन विस्तार भएर घर–घरमा पुग्न थाल्यो, त्यसपछि ‘हाउस वायरिङ’का तारहरूको आवश्यकता देखियो र हामीले त्यसको उत्पादन सुरु गर्याैँ । त्यसपछि उद्योग र पूर्वाधारका लागि पावर केबल र कन्ट्रोल केबलहरू थप्दै लग्यौँ । अहिले अत्याधुनिक प्रविधिसहित हाम्रो उत्पादनको दायरा निकै विस्तार भइसकेको छ ।
हामीले अहिले एसिएसआर कन्डक्टर, हाउस वायरिङका तारसहितका उपकरण, एबिसी केबल (एरियल बन्च्ट केबल) उत्पादन गरिरहेका छौँ । त्यस्तै, हामीले अहिले अत्याधुनिक प्रविधिका एक्सएलपिई, एफआरएलएस, एएल–५९, एचटिएलएस जस्ता कन्डक्टर उत्पादनको तयारी गरिरहेका छौँ । एसिएसआर कन्डक्टरलाई नै प्रतिस्थापन गर्ने नयाँ प्रविधिको तार हो– एएल–५९ । यी उत्पादनहरूलाई सबैले बुझ्ने भाषामा निम्नानुसार उल्लेख गर्न सकिन्छ :
यसभन्दा पनि अझै आधुनिक प्रविधिमा गएर हामीले उच्च तापक्रममा पनि कम लच्किने प्रविधिका तारहरू पनि नेपालमा ल्याउने तयारी गरिरहेका छौँ । हामीले जहिल्यै नयाँ प्रविधि अङ्गीकार गरेर देशमा हरेक उत्पादनमा पहिलो बन्ने लक्ष्य राखेका छौँ ।
उद्योगको यो विकास र विस्तारका क्रममा के–कस्ता आरोह–अवरोह तथा चुनाैतीहरूकाे सामना गर्नुभयो ?
कुनै पनि यात्रामा चुनौती अपरिहार्य हुन्छ । नेपालमा उद्योग चलाउनु आफैँमा चुनौतीपूर्ण छ । पहिलो कुरा त यहाँ कच्चा पदार्थ छैन, सबैजसो बाहिरबाट ल्याउनुपर्छ । विभिन्न अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूसँग समन्वय गर्नुपर्छ । अर्कोतिर नेपालकै सरकारी निकायहरूसँगको समन्वय र कानुनमा रहेका जटिलताहरू अर्को चुनौती हुन् ।
हामीले यी चुनौतीलाई सकारात्मक रूपमा लियौँ । जब नयाँ प्रविधि चाहिन्छ, हामीले दक्ष जनशक्ति म्यानपावर, संयन्त्र तथा उपकरण र पुँजीको व्यवस्थापनमा सम्झौता गरेनौँ । विश्वस्तरीय उत्कृष्ट प्रविधिका मेसिनहरू ल्याउन बैंक र आपूर्तिकर्ताहरूसँग समन्वय गरेर अघि बढ्यौँ । ती चुनौतीहरूलाई सामना गर्दै अघि बढेको हुनाले नै हामी आज यहाँसम्म आइपुगेका हौँ ।
उपभोक्ता र उपकरण प्रयोगकर्ताहरूबाट लिटमसका उत्पादनले कस्तो स्वीकार्यता पाएको महसुस गर्नुभएको छ ? यसले उद्योगको विकासमा कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?
उपभोक्ताको विश्वासबिना कुनै पनि संस्था अघि बढ्न सक्दैन । हाम्रो उत्पादनप्रति उपभोक्ताको जुन विश्वास छ, त्यसले नै हामीलाई विकासको क्रममा अघि बढ्न मद्दत गरेको हो । उपभोक्ताको विश्वास जित्ने मुख्य आधार भनेको ‘गुणस्तरमा एकरूपता र निरन्तरता' हो । आज राम्रो र भोलि नराम्रो उत्पादन दिएमा उपभोक्ताले स्वीकार गर्दैनन् । हामीले गुणस्तरलाई नै मूल मन्त्र बनाएका छौँ ।
उत्पादनकर्ता र उपभोक्ताबीच एउटा भावनात्मक सम्बन्ध विकसित भएको छ । अहिले ‘लिटमस’ एउटा ब्रान्ड नै बनिसकेको छ । एउटा समय यस्तो आउनेछ, जतिबेला उपभोक्ताले यो क्षेत्रमा ‘लिटमस’लाई मात्रै विश्वास गर्छन् भन्ने मेरो ठम्याइ छ । र, यो विश्वास नै उद्योगले आर्जन गर्ने सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हुने छ ।
झन्डै २५० करोड रुपैयाँ बराबरका ४०० केभी स्तरका कन्डक्टर आपूर्तिको यो ठेक्का पाउनु र नेपाली उत्पादनले भारतको प्रतिष्ठित संस्थालाई सन्तुष्ट पार्न सक्नु हाम्रो लागि ठूलो गौरवको विषय हो । नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो आयोजनामा नेपाली कन्डक्टर प्रयोग भइरहेको छ ।
यहाँहरूले ठूलाे परिमाणमा आफ्ना उत्पादनको प्रयोग बढाउन खरिद तथा आपूर्तिको ठेक्का प्रक्रियामा सहभागी हुनुपर्ने हुन्छ । सरकारी वा सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पूर्व–योग्यताको ‘प्रि–क्वालिफिकेसन’को मापदण्ड पूरा गर्न कत्तिको चुनौतीपूर्ण महसुस गर्नुभएको छ ?
निश्चित रूपमा नयाँ उत्पादनका लागि ‘प्रि–क्वालिफिकेसन’ एउटा ठूलो चुनौती हो । सरकारले टेन्डर आह्वान गर्दा ‘यति वर्ष काम गरेको हुनुपर्ने’ वा ‘यति मात्रामा उत्पादन गरेको हुनुपर्ने’ जस्ता मापदण्ड राखेको हुन्छ । प्रविधि र म्यानपावर हाम्रो हातमा भए पनि समयको अनुभव हाम्रो हातमा हुँदैन । यद्यपि, त्यति बेला सरकारी निकाय र संस्थानहरूले नेपाली उत्पादनलाई विश्वास गरेर केही लचकता अपनाइदिएको हुनाले हामीलाई बोलपत्र आवेदन गर्न सजिलो भयो । सार्वजनिक खरिद अनुगमन कार्यालय र सम्बन्धित निकायहरूको सहयोगले नै नेपाली उद्योगहरूले ठूला परियोजनामा सहभागी हुन पाएका हुन् ।
तपाईँले उच्च भोल्टेजका लाइनमा प्रयाेग हुने ४०० केभी (किलो भोल्ट) सम्मको कन्डक्टर उत्पादन गर्ने गरिएको कुरा गर्नुभयो । यसका लागि मेसिनरी र प्राविधिक सुधार कसरी गर्नुभएको छ ?
करिब ४–५ वर्ष अगाडिसम्म नेपालमा ‘विजेल’, ‘र्याबिट’ वा ‘डग’ जस्ता साना कन्डक्टरको माग बढी थियो तर जब ठूला प्रसारण लाइनको योजना आयो, एबिसी केबलको माग हुन थाल्यो । यस्ता केबल उत्पादन गर्न हाम्रो आफ्नो प्रविधिमा व्यापक सुधार गर्यौँ । जस्तो, ‘रड ब्रेक डाउन–आरबिडी’ मेसिन । हामीले जर्मनीको ‘निहोफ’ कम्पनीले उत्पादन गरेको अत्याधुनिक यो मेसिन ल्यायौँ । बजारमा १ करोडमै पाइने मेसिन हुँदाहुँदै हामीले करिब ९ करोड रुपैयाँ तिरेर यो गुणस्तरीय मेसिन ल्याएका छाैँ । किनभने, हाम्रो ध्यान गुणस्तरमा केन्द्रित छ, लगानी पनि गुणस्तरमा गरेका छौँ ।
नेपालमै अहिलेसम्म कन्डक्टर उत्पादन गर्ने कुनै पनि कम्पनीले यो गुणस्तरको आरबिडी मेसिन राखेको छैन । सन् २०१८ पछि नेपालमा विद्युतीकरण तीव्र हुन थालेदेखि नै हामीले गुणस्तर सुधारमा ध्यान केन्द्रित गर्दै आएका छौँ । यदि तपाईँ बजारमा गुणस्तरीय सामान दिन चाहनुहुन्छ भने उत्पादन गर्ने मेसिन पनि त्यही गुणस्तरको हुनुपर्दछ ।
यहाँहरूले उत्पादन गर्नुभएका ४०० केभी कन्डक्टरको प्रयोग चाहिँ कहाँ–कसरी भइरहेको छ ?
हामीले अत्याधुनिक प्रविधिको सहयोगले ४०० केभीस्तरका कन्डक्टर उत्पादन गर्न थालेपछि नेपाल विद्युत् प्राधिकरणले हाम्रो यो स्तरको कन्डक्टर प्रयोग (खरिद) गर्ने भयो । यसका लागि हाम्रो उत्पादनको नमुना परीक्षणका लागि प्राधिकरणमार्फत भारतको प्रतिष्ठित ल्याब (सेन्ट्रल पावर रिसर्च इन्स्टिच्युट–सिपिआरआई) मा लगियो । म आफैँ पनि त्यहाँ गएको थिएँ । परीक्षणबाट हाम्रो उत्पादन ‘इन्टरनेसनल क्लास’ को प्रमाणित भयो ।
प्राधिकरणले निर्माण गरेको तथा नेपालकै लगानीमा बनेको पहिलो ४०० केभी प्रसारण लाइन (हेटौँडा–ढल्केबर–इनरुवा) मा ६१ स्ट्यान्डको नयाँ मेसिनमार्फत उत्पादित ‘मुज’ कन्डक्टर सफलतापूर्वक आपूर्ति गर्याैँ । हाल उक्त लाइनमा प्रयोग भएको हाम्रो कन्डक्टरले सफलतापूर्वक विद्युत् प्रसारण गरिरहेको छ । दुई वर्ष भइसक्यो, हालसम्म कुनै गुनासो वा समस्या आएको छैन ।
भारतको सतलज जलविद्युत् निगमको लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् भारत निर्यात गर्न निर्माण गरिने ४०० केभी प्रसारण लाइनका लागि पनि तपाईँहरूले हालै कन्डक्टर आपूर्तिको ठेक्का पाउनु भएको छ । यो सफलता कसरी प्राप्त गर्नुभयो र यो अन्तर्राष्ट्रिय बोलपत्र प्राप्त गर्दाको अनुभव कस्तो रह्यो ?
अरुण तेस्रोको बिजुली भारत निर्यात गर्न ‘दिदिङ–ढल्केबर–बथनाहा’ ४०० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । यस खण्डको प्रसारण लाइनका लागि हामीले कन्डक्टर उत्पादन गरी आपूर्ति गर्ने भएका छौँ । यसका लागि २०८२ को माघ महिनामा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का अनुसार हामीले ४०० केभीको २ हजार ७९९ किलोमिटर एसिएसआर मुज कन्डक्टर उत्पादन गरी आपूर्ति गर्नुपर्ने छ ।
उक्त प्रसारण लाइन निर्माणको परामर्शदाता तथा निर्माण कम्पनी ‘पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड–पिजिसिआइएल’ रहेको छ । यस लाइनमा प्रयोग हुने सामानको गुणस्तरदेखि हरेक विषय यो कम्पनीले हेरिरहेको छ । भारतकै प्रतिष्ठित ५० वर्ष पुरानो र विश्वव्यापी अनुभव भएको यो संस्थाले प्रसारण लाइन निर्माणमा निकै ख्याति कमाएको छ । विश्वका विभिन्न प्रसारण आयोजनाहरूलाई यो संस्थाले आफ्नो परामर्श तथा निर्माण सेवा प्रदान गरिसकेको छ ।
हामीले उक्त प्रसारण लाइनमा कन्डक्टर आपूर्तिको ठेक्का पाउनुअघि पिजिसिआइएलका अधिकारीहरू सुपरीवेक्षणका लागि लिटमसको कारखानामा आउनु भयो । उहाँहरूले कन्डक्टर उत्पादनको हाम्रो प्रक्रिया, मेसिन, ल्याब, कच्चा पदार्थ, जनशक्ति, व्यवस्थापन जस्ता हरेक विषयको निकै सूक्ष्म तवरले ‘अडिट’ गर्नुभयो । हाम्रो मेसिनरी, उत्पादन प्रक्रिया र गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डको पाएपछि मात्र उक्त कम्पनीले हामीलाई ‘सर्टलिस्ट’मा राखेर टेन्डर प्रक्रियामा सहभागी गरायो । त्यसपछि, हामी छनोट भयौँ र यो कामको ठेक्का पायौँ ।
हाम्रो कम्पनीको मूल्याङ्कन भ्रमणका क्रममा उहाँहरूले भन्नु भएको कुरा अहिले पनि मेरो स्मरणमा ताजै छ । उहाँहरूको टिप्पणी थियो– ‘तपाईँहरूले गुणस्तर अभिवृद्धिका लागि उत्पादन मेसिन, जनशक्तिदेखि हरेक विषयको उत्कृष्ट व्यवस्थापन गर्नुभएको पायौँ । यो कारखाना नेपालमै भए पनि साँच्चै विश्वस्तरीय व्यवस्थापनको रहेछ ।’
झन्डै २५० करोड रुपैयाँ बराबरका ४०० केभी स्तरका कन्डक्टर आपूर्तिको यो ठेक्का पाउनु र नेपाली उत्पादनले भारतको प्रतिष्ठित संस्थालाई सन्तुष्ट पार्न सक्नु हाम्रो लागि ठूलो गौरवको विषय हो । नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो आयोजनामा नेपाली कन्डक्टर प्रयोग भइरहेको छ । उक्त आयोजनामा प्रयोग भएको यो पहिलो नेपाली उत्पादन पनि हो । निश्चय नै यो हामी सबै नेपालीले गर्व गर्ने विषय हो ।
आफ्ना उत्पादनको गुणस्तर सुनिश्चितताका लागि तपाईँहरूले कुन–कुन अन्तर्राष्ट्रिय र राष्ट्रिय मापदण्ड पूरा गरी गुणस्तरका के–कस्ता प्रमाणहरू प्राप्त गर्नुभएको छ ?
नेपाल र भारतको वातावरणीय प्रभाव मिल्दोजुल्दो छ, त्यसैले हामीले भारतीय मानक ब्युरो (ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस्–बिआइएस) को प्रमाणलाई प्राथमिकता दिएका छौँ । सन् २०१४ देखि नै हामीले बिआइएसका विभिन्न मापदण्डहरू (आइएस १५५४, आइएस ६९४ आदि) अनुसार सामान उत्पादन गर्दै आएका छौँ । र, उक्त प्रमाणहरू लिएका छौँ । हाल हामीलाई पावर केबल, हाउस वायरिङ, ‘एक्सएलपिई’ (क्रस–लिङ्क्ड पोलिइथिलिन) र एफआरएलएस (फ्लेम रिटार्डेन्ट लो स्मोक) केबलका लागि गरी ४ वटा बिआइएस प्रमाणहरू प्राप्त छन् ।
नेपालको हकमा एनएस–३४४ लगायतका गुणस्तर चिन्हका प्रमाणपत्रहरू प्राप्त गरेका छौँ । यी प्रमाणपत्रहरू पाउनु मात्र ठूलो कुरा होइन, हरेक वर्ष प्रमाणीकरण गर्ने संस्थाका इन्जिनियरहरू आएर कारखाना 'अडिट' गर्छन् र मापदण्ड पालना भएको पाएपछि मात्र नवीकरण गरिदिन्छन् । हामी हाम्रा उत्पादनका गुणस्तर उच्च राख्न पूर्ण प्रतिबद्ध छौँ । सन् २०१० मा हाम्रो कम्पनी ‘एनएस क्वालिटी अवार्ड’बाट समेत विभूषित भएको छ ।
हामीले नेपालमै पहिलो पटक ‘आल्मुनियम रड’ र ‘ट्रिपल एसी’ (अल एलोय आल्मुनियम कन्डक्टर) उत्पादन सुरु गरेका छौँ । एसिएसआर कन्डक्टर, पावर केबल र एबिसी केबल बनाउन चाहिने यो मुख्य कच्चा पदार्थ आल्मुनियम रड हो । परासीस्थित हाम्रो नयाँ ‘फ्याक्ट्री’बाट यसको उत्पादन सुरु भइसकेको छ । खुसीको कुरा, हामीले अहिले यो रड ठूलो मात्रामा भारतमा निर्यातसमेत गरिरहेका छौँ ।
अब अलिकति नीतिगत कुरा गरौँ, सरकारले नेपाली उद्योगलाई सहयोग गर्न के कस्ता नीतिगत सहजीकरण वा व्यवस्था गर्नु आवश्यक देख्नुहुन्छ ?
मुख्य समस्या ‘सार्वजनिक खरिद’सम्बन्धी कानुनमा छ, त्यसलाई सुधार गर्नुपर्छ । त्यस्तै, हामीले कच्चा पदार्थ बाहिरबाट ल्याउँदा ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्छौँ । यद्यपि, विदेशी कम्पनीले तयारी सामान ल्याउँदा कतिपय अवस्थामा भ्याट र भन्सार शुल्क छुट पाउँछन् । यसले गर्दा विदेशी कम्पनीको तुलनामा स्वदेशी उद्योगको उत्पादन लागत महँगो पर्न जान्छ र प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । यदि सरकारले स्वदेशी उद्योगलाई पनि कानुनी सहजीकरण र प्रक्रियागत झमेला कम गरी ‘इक्वेल फुटेज’ (समान अवसर) दिने हो भने हामी अझै बलियो हुन सक्छौँ ।
सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । यसमा लिटमस जस्ता आन्तरिक उद्योगको भूमिका कस्तो देख्नुहुन्छ ?
सरकारको यो लक्ष्य अत्यन्तै सकारात्मक छ । जलविद्युत्को विकास हुनु भनेकै राष्ट्रको विकास हुनु हो । यसमा हामी जस्ता उद्योगको भूमिका महत्त्वपूर्ण हुन्छ । हामीले नेपालमै सामान उत्पादन गर्दा डलरमा हाम्रो पैसा बाहिर जाँदैन । उदाहरणका लागि, अरुण तेस्रोमा कन्डक्टर आपूर्तिको काम हामीले नपाएको भए त्यो २५० करोड रुपैयाँ भारत जान्थ्यो । यद्यपि, अहिले त्यो पैसा नेपालमै रह्यो, यहीँका श्रमिक र ‘ट्रान्सपोर्टर’ले काम पाए । यसरी आयात प्रतिस्थापन गर्दा स्वदेशी मुद्रा स्वदेशमै रहन्छ र अर्थतन्त्र बलियो हुन्छ । नेपालमै सामान तथा उपकरण उपलब्ध भए विद्युत् आयोजनाहरू निर्माण सम्पन्न गर्न लाग्ने समय समेत घट्छ । र यसले ऊर्जामार्फत समग्र आर्थिक विकासलाई नै तीव्र बनाउन टेवा दिन्छ ।
निर्यातको सन्दर्भमा भुटानमा तपाईँहरूको उपस्थिति राम्रो देखियो । अब भारतसहित अन्तर्राष्ट्रिय बजारमा विस्तारको कस्तो योजना छ ?
हामीले सन् २००४ देखि २०१७ सम्म भुटानमा ठूलो परिमाणमा कन्डक्टर र केबलहरू निर्यात गर्यौँ । एसियाली विकास बैंक र स्थानीय लगानीमा त्यहाँ सञ्चालित आयोजनाहरूमा ‘टेन्डर’ जितेर हामीले काम गरेका थियौँ । त्यहाँ हामीले धेरैजसो वितरण लाइनमा प्रयोग हुने ‘एसिएसआर डग कन्डक्टर’ निर्यात गरेका थियौँ । त्यस्तै, पावर केबल, एबिसी केबल पनि निर्यात गर्यौँ । अहिले पनि त्यहाँका केही आयोजनाहरूमा हाम्रो प्रयास जारी छ र ती ठेक्काहरू पाउनेमा हामी विश्वस्त छौँ । यद्यपि, हाम्रो निर्यातको लक्ष्य भुटानमा मात्र सीमित छैन ।
अहिले हामी भारततर्फ पनि निर्यात विस्तारको क्रममा छौँ । त्यहाँ ‘लायजिङ अफिस’ खोलेका छौँ । भारत एउटा ठूलो र चुनौतीपूर्ण बजार हो, जहाँ धेरै ठूला उत्पादकहरू छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्नु सहज छैन तर हामी चुनौती सामना गर्दै टेन्डर प्रक्रियाहरूमा सहभागी हुन लागेका छौँ । निर्यातका सन्दर्भमा देखिएका नीतिगत जटिलताबारे हामी सरकारसँग पनि छलफल गरिरहेका छौँ । हाम्रो स्पष्ट अठोट छ– हामी निर्यातको लक्ष्यबाट पछि हट्ने छैनौँ ।
निर्यातका लागि नयाँ उत्पादनहरू के–के छन् ?
हामीले नेपालमै पहिलो पटक ‘आल्मुनियम रड’ र ‘ट्रिपल एसी’ (अल एलोय आल्मुनियम कन्डक्टर) उत्पादन सुरु गरेका छौँ । एसिएसआर कन्डक्टर, पावर केबल र एबिसी केबल बनाउन चाहिने यो मुख्य कच्चा पदार्थ आल्मुनियम रड हो । परासीस्थित हाम्रो नयाँ ‘फ्याक्ट्री’बाट यसको उत्पादन सुरु भइसकेको छ । खुसीको कुरा, हामीले अहिले यो रड ठूलो मात्रामा भारतमा निर्यातसमेत गरिरहेका छौँ । अबको लक्ष्य भनेको तयारी सामान (फिनिस्ड गुड्स्) जस्तै: एसिएसआर कन्डक्टर, मिडियम भोल्टेज कभर्ड कन्डक्टर र एबिसी केबलहरू पनि भारतमा निर्यात गर्ने हो ।
हाम्रो मार्गचित्र स्पष्ट छ– नयाँ प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्ने । अहिले प्रविधि यति छिटो परिवर्तन भइरहेको छ कि मोबाइल फोन जस्तै हरेक २/३ वर्षमा नयाँ कुराहरू आउँछन् । हामी नवप्रवर्तनका ती प्रविधि नेपालमा भित्र्याउन प्रतिबद्ध छौँ । अर्को मुख्य योजना– इपिसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन) मोडलमा अघि बढ्ने हो ।
नेपालमा लिटमसका उत्पादनको बजार हिस्सा कस्तो पाउनु भएको छ ?
विभिन्न उत्पादनमा हाम्रो बजार हिस्सा फरक–फरक छ । हाल नेपालमै उत्पादन भइरहेका तथा उस्तै–उस्तै मूल्यमा पाइने सामान समेत भारतबाट आयात भइरहेको छ । जुन विडम्बनापूर्ण अवस्था हो । यदि भारतबाट हुने आयातलाई पूर्ण रूपमा रोक्ने हो भने एसिएसआर कन्डक्टरमा मात्रै हाम्रो बजार हिस्सा ७० प्रतिशत पुग्छ ।
अहिले समग्रमा हाम्रो एबिसी केबलको बजार हिस्सा ८० देखि ८५ प्रतिशत छ । त्यस्तै, एसिएसआर कन्डक्टरको करिब ७० प्रतिशत (आयात प्रतिस्थापन भएमा), हाउस वायरिङ केबल तथा उपकरणको ३५ देखि ४० प्रतिशत हिस्सा हाम्रो उत्पादनको छ । समग्रमा, लिटमसले ५० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ । हाम्रो क्षमताले नेपालको सम्पूर्ण आवश्यकता पूर्ति गर्न सक्छ ।
लिटमसको उत्पादन प्लान्ट कहाँ कहाँ छन् र रोजगारीको अवस्था कस्तो छ ?
हाम्रो पहिलो र पुरानो कारखाना बुटवल औद्योगिक क्षेत्रमा छ, जहाँ हाउस वायरिङ र पावर केबलहरू उत्पादन हुन्छन् । हालै हामीले करिब १५ बिघा जग्गामा नयाँ ‘ग्रीन फिल्ड’ कारखाना सञ्चालनमा ल्याएका छौँ । त्यहाँ आल्मुनियम रड, ३३ र ११ केभीका मिडियम भोल्टेज कभर्ड कन्डक्टर र आधुनिक एएल–५९ तथा एचटिएलएस कन्डक्टरहरू उत्पादन हुन्छन् ।
त्यस्तै, अहिले हामीसँग ५०० जना श्रमिक र कर्मचारी प्रत्यक्ष रूपमा कार्यरत हुनुहुन्छ । अप्रत्यक्ष रूपमा झन्डै ३ हजार मानिस यसमा जोडिएका छन्, जसमा देशभरका हाम्रा करिब २०० डिलरहरू पनि पर्दछन् ।
कम्पनीलाई अझ प्रगतिपथमा अघि बढाउन यहाँहरूको आगामी मार्गचित्र वा दृष्टिकोण के छ ?
हाम्रो मार्गचित्र स्पष्ट छ– नयाँ प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्ने । अहिले प्रविधि यति छिटो परिवर्तन भइरहेको छ कि मोबाइल फोन जस्तै हरेक २/३ वर्षमा नयाँ कुराहरू आउँछन् । हामी नवप्रवर्तनका ती प्रविधि नेपालमा भित्र्याउन प्रतिबद्ध छौँ ।
अर्को मुख्य योजना– इपिसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन) मोडलमा अघि बढ्ने हो । हाल नेपालका ठूला परियोजनाहरूमा भारत वा चीनका कम्पनीहरूले इपिसी टेन्डर लिन्छन् र सामान पनि आफ्नै देशबाट ल्याउँछन् । हामी आफैँ त्यो स्तरमा योग्य भएर इपिसी मोडलमा काम लिने र आफ्नै स्वदेशी उत्पादन प्रयोग गर्ने लक्ष्यमा छौँ । यसले देशको पैसा बाहिरिन रोक्छ भने यहाँ रोजगारी सिर्जना, कच्चा पदार्थको प्रयोग जस्ता अवसर सिर्जना हुन्छ । हाम्रो क्षमतासमेत अभिवृद्धि हुन्छ ।
समग्रमा भन्दा, आगामी १० वर्षभित्र कम्पनीको कारोबार र बजार विस्तारलाई ७ गुणाले बढाउने हाम्रो लक्ष्य छ । यसमा सरकारी पक्षबाट समेत नीतिगत सहजीकरण प्राप्त हुने अपेक्षा हामीले गरेका छौँ ।