काठमाडौँ । इलेक्ट्रो मेकानिकल उपकरण उत्पादन, आपूर्ति र जडानका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको गेपर्ट हाइड्रो इन्डिया प्रालिले नेपालमा काम सुरु गरेको छोटो समयमै व्यावसायिक सफलता हासिल गरेको छ ।
विशेषतः साना जलविद्युत् आयोजनालाई लक्षित गर्दै व्यवसाय गर्दै आएको कम्पनीले अहिलेसम्म नेपालमा २० आयोजनामा काम गरिसकेको छ । एक साताअघि वन्डर्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित ९ मेगावाटको खिम्ती–घ्वाङ खोलाका लागि ठेक्का सम्झौता भएपछि नेपालमा कम्पनीकोले ठेक्का पाएका जलविद्युत् आयोजनाको सङ्ख्या २० पुगेको हो । नेपाल र भारतसमेत गर्दा अहिलेसम्म गेपर्टले काम गरेका आयोजनाको सङ्ख्या २५ पुगेको छ ।
खिम्ती–घ्वाङ खोलामा कम्पनीले इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको ठेक्का प्राप्त गरेको नेपालका लागि कम्पनीका आवासीय निर्देशक राजकिशोर यादवले बताए । उनका अनुसार योसहित कम्पनीले नेपालमा इलेक्ट्रो मेकानिकल उपकरणको आपूर्ति तथा जडानलगायतका कार्यको ठेक्का प्राप्त गरेका आयोजनाको सङ्ख्या २० पुगेको छ । यी मध्ये १०० मेगावाटको सुपर त्रिशूलीसहितका १० आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । कम्पनीले यसअघि नै ५४ मेगावाटको सुपर दोर्दी, ४० मेगावाटको अपर चमेलियासहितका १० आयोजना ठेक्का सम्झौता अनुसार निर्माण, आपूर्ति तथा जडानको काम सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
त्यस्तै, कम्पनीले भारतका विभिन्न ठाउँमा ५ वटा जलविद्युत् आयोजनाको ठेक्का प्राप्त गरी काम गरेको छ । यस मध्ये २ वटा आयोजनाको ठेक्का सम्झौता अनुसारको काम पूरा गरिसकेको छ भने बाँकी ३ आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।
सन् १८९६ मा स्थापना भएको कम्पनीले ‘वाटर टु वायर सोलुसन फर हाइड्रो प्रोजेक्ट’ भन्ने नारासहित पानीदेखि यसबाट विद्युत् उत्पादन गरेर उपभोगसम्मका सबै प्रक्रियामा आवश्यक उपकरण तथा प्राविधिक सेवा आपूर्तिको काम गर्दै आएको निर्देशक यादवले बताए ।
नेपालमा निर्माण सम्पन्न आयोजना
१. अपर हेवा, ८.५ मेगावाट (२०२२)
२. अपर सोलु, १९.८ मेगावाट (२०२३)
३. सुपर दोर्दी, ५४ मेगावाट (२०२३)
४. अपर चमेलिया, ४० मेगावाट (२०२३)
५. इङ्ग्वा खोला, ९.७ मेगावाट (२०२४)
६. चुकेनी लघुजलविद्युत् आयोजना, ९९८ किलोवाट (२०२४)
७. सुपर हेवा, ६ मेगावाट (२०२५)
८. अपर पिलुवा–२, ४.७२ मेगावाट (२०२५)
९. अपर लोहोरे, ४.२ मेगावाट (२०२५)
१०. अपर हेवा, ३३ केभी इन्टरकनेक्सनका लागि बस बार विस्तार (२०२२)
सञ्चालनरत आयोजना
११. अपर इर्खुवा खोला, १४.५ मेगावाट
१२. जुनबेँसी खोला (इन्टरकनेक्सन)
१३. खानी खोला, ३० मेगावाट (बिओपी उपकरण आपूर्ति)
१४. अपर देउमाई खोला, ८.३ मेगावाट
१५. फेदी खोला ४.३ मेगावाट
१६. मध्य चमेलिया, २८.३ मेगावाट
१७. सुपर त्रिशूली, १०० मेगावाट, (पावर ट्रान्सफर्मर तथा सहायक ट्रान्सफर्मर आपूर्ति)
१८. लोअर हेवा खोला ए, ६.९ मेगावाट
१९. लुजा खोला क्यासकेड, ९.५२ मेगावाट
२०. खिम्ती घ्वाङ खोला, ९ मेगावाट
भारतमा सम्पन्न/सञ्चालित आयोजना
२१. कुवार्सी जलविद्युत्, ९.९ मेगावाट (२०२४ मा सम्पन्न)
२२. बानु जलविद्युत्, ५ मेगावाट (२०२५ मा सम्पन्न)
२३. रेल्लिचु–१ जलविद्युत्, २८.८ मेगावाट (निर्माणाधीन)
२४. परेङ जलविद्युत्, १४.५५ मेगावाट (निर्माणाधीन)
२५. राबोम चु जलविद्युत्, ५.२० मेगावाट (निर्माणाधीन)