काठमाडौँ । ग्रिन इनर्जी आन्टरप्रेनर्स नेपाल (ग्रिन) ले एक/दुई जलविद्युत् कम्पनीको कमजोरीलाई देखाएर सम्पूर्ण कम्पनीको प्राथमिक सेयर निष्काशन (आइपिओ) रोक्नु अनुचित भएको बताएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठसमक्ष आइपिओ निष्काशनका नीति, नियम, कानुनी व्यवस्था, प्राविधिक पक्ष र यसले साना तथा मझौला जलविद्युत् आयोजनालाई पारेको असरबारे सोमबार विशेष प्रस्तुतिसहित जानकारी गराउँदै अविलम्ब आइपिओ खोल्न माग गरेकाे हो ।
ग्रिनका अध्यक्ष सूर्यप्रसाद अधिकारीकाे नेतृत्वमा गएको टोलीले सेबोन अध्यक्ष श्रेष्ठलगायत पदाधिकारीसमक्ष ‘साना तथा मझौला जलविद्युत् आयोजनाको समस्या र तिनको एकीकृत समाधान’ विषयक प्रस्तुति गरेको थियो । साे क्रममा ग्रिनले विद्यमान ऐन तथा कानुनले आइपिओ निष्काशनका लागि कानुनले नेटवर्थको सीमा नतोकेको भन्दै ‘९० प्रतिशत नेटवर्थ हुनै पर्ने’ व्यवस्था बाध्यकारी नभएकोले यसमा सेबोन लचिलो हुनुपर्ने बताएको थियो ।
छलफल कार्यक्रममा अध्यक्ष अधिकारीले सरकारी निकायहरू तथा सार्वजनिक लेखा समितिको निर्देशनले मात्र सेबोनलाई काम गर्न अप्ठ्यारो परेको बताएका थिए । ‘जलविद्युत् आयोजनामा लगानीका लागि स्वपुँजी जुटाउन आइपिओ जारी गरिने हो, यो विषय सरकारका नीति नियमभित्रै पर्छ,’ उनले भने, ‘त्यसो हुँदा साधारण सेयर जारी गर्न नेटवर्थको सीमा बाध्यकारी हुनु हुँदैन ।’
ग्रिनले सेबोन समक्ष विद्यमान कानुनमा रहेर दर्ता भएका सबै आयोजनाहरुको प्राथमिक र हकप्रद सेयर जारी गर्न अनुमति दिनुपर्ने, कुनै कम्पनी विशेषमा समस्या देखिए त्यसको अलग्गै अध्ययन गरी कारबाही अघि बढाउनु पर्ने र एक/दुई कम्पनीको कमजोरीलाई देखाएर समग्र क्षेत्रलाई असर पर्ने गरी कानुन बनाउन नहुने भन्दै ३ बुँदे माग सेबोन समक्ष राखेको छ ।
अध्यक्ष अधिकारीले साना तथा मझौला जलविद्युत् आयोजनाको आइपिओ रोकिए त्यस्ता आयोजना तथा जलविद्युत् केन्द्र बन्द हुने र देशका ३५ जिल्ला विद्युतीकरणबाट बञ्चित हुने चेतावनीसमेत दिए ।
जवाफमा सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेटवर्थको (सीमाको) विषय विद्यमान ऐन कानुनमा नरहेकोले आइपिओ निष्काशनमा कानुनी बाधा नहुन सक्ने बताए । ‘यस विषयमा छिट्टै हामी केही निर्णय गर्छौं,’ उनले भने ।
छलफलमा ग्रिनका अध्यक्ष अधिकारीसहित उपाध्यक्ष कदम केसी, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सदस्यहरू समन मानन्धर, नरेश श्रेष्ठ, अभिज्ञा मल्ल, गौरव देवान र काेषराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।