काठमाडौँ । म्याग्दीमा ९.७१ मेगावाटको तिरिजा खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि अनुमति पत्रको माग गर्दै आयोजना प्रवर्द्धक तिरिजा हाइड्रो पावर प्रालिले विद्युत् विकास विभाग समक्ष आवेदन दिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका स्थित तिरिजा खोलाको पानी सदुपयोग गर्दै आयोजना निर्माण गर्न प्रस्ताव गरिएको हो ।
प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाको संरचना उक्त गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण गरिने छ । आयोजनाको सम्पूर्ण संरचना तिरिजा खोलाको दायाँ किनारमा रहने छन् । आयोजना अन्तर्गत ७ मिटर अग्लो तथा १६.६ मिटर लामो बाँध निर्माण गरी खोलाको पानी फर्काइने छ । आयोजना अन्तर्गत रहेन दुई वटा साइड इन्टेकबाट आउने पानीलाई ६ मिटर लामो ग्राभेल ट्रयाप हुँदै ४.५ मिटर चौडाइ तथा ५० मिटर लम्बाइको सेटलिङ बेसिनमा पुर्याइने छ । बेसिनको पानीलाई ३७५ मिटर लामो पेनस्टक पाइप हुँदै विद्युत् गृहमा पुर्याएर विद्युत् उत्पादन गरिने छ । आयोजनाको विद्युत् उत्पादनका लागि दुई वटा युनिट रहने छन् ।
आयोजनाबाट वार्षिक सरदर ५७.०६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उत्पादन हुने विद्युत्लाई १६ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । आयोजना २०८६ असोजसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य प्रवर्द्धक कम्पनीले राखेको छ ।