काठमाडौं । बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामकोसी जलविद्युत् आयोजनाको ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको परीक्षण सुरु भएको छ । भविष्यमा कुनै कमकमजोरी आउन नदिन पानी भरेर परीक्षण थालिएको हो ।
तल्लो ठाडो सुरुङमा ४ दिनदेखि बाहिरबाट पानी ल्याएर भर्ने काम भइरहेको छ । विद्युत् उत्पादनका क्रममा करिब ११५० मिटर उचाईबाट पानी झारिन्छ । यसरी झार्दा पानीको प्रेसर थेग्ने हुनुपर्छ । अहिले विद्युत् उत्पादनका क्रममा माथिबाट खसेजस्तै गरी सुरुङमा पानी खसालेर प्रेसर (अत्याधिक तीव्र गतिमा खसेको पानीको दबाब) थेग्ने तयारीका लागि परीक्षण भइरहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।
परीक्षणलगायत काम सम्पन्न गनुपर्ने हुँदा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहितको उच्च व्यवस्थापन समूह अहिले आयोजनास्थल गोंगरमै छ । ‘केही कमीकमजोरी छ कि भनेर पत्ता लगाउन पनि प्रेसर टेस्ट (दबाब परीक्षण) गर्नुपर्छ, अब २–३ मा यसको काम सकिएला,’ उनले भने, ‘परीक्षण सकिएपछि बल्ल ढुक्क हुन सकिन्छ ।’
भारतीय ठेकेदार टेक्सम्याकोले निर्माण गर्नुपर्ने यो काम उसले ढिलाई गरेपछि बीचमा अर्को उपसम्झौता गरी अष्ट्रियन ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । आयोजनाको सुरुङअन्तर्गत माथिल्लो र तल्लो दुई वटा ठाडो सुरुङमा पेनस्टक पाइप जडान गरिएको छ । जसको लम्बाई क्रमशः ३१० मिटर र ३७३ मिटर छ । एन्ड्रिज हाइड्रोले भारतीय ठेकेदारले भन्दा पहिला आफ्नो जिम्माको पाइप जडान सकेको थियो ।
आयोजनाको सम्पूर्ण काम पूरा गरेर गत असारमै पहिलो युनिटबाट विद्युतु उत्पादन गर्ने तालिका थियो । तर, कोरोना माहामारीका कारण काम प्रभावित हुँदा उत्पादन अवधि लम्बिएको छ । अहिले आगामी चैतभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । यद्यपि, यो मितिमा समेत विद्युत् उत्पादन गर्न चुनौती देखिएको छ ।
उत्पादित विद्युत् जोडेर प्रवाह गर्नका लागि निर्माण भइरहेको न्यू खिम्ती १३२/२२० केभी सबस्टेसनको काम पनि बाँकी छ । उक्त सबस्टेसन पूरा नभए पनि खपतको वैकल्पिक उपाय अपनाई तामाकोसीको बिजुली ढल्केबर पुर्याएर खिम्ती–काठमाडौं १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंमा ल्याउन सकिने योजना छ ।
२०६७ जेठमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले निर्माणको शिलन्यास गरेको आयोजनाबाट २०७२ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । २०७२ बैशाखमा गएको भूकम्प र त्यसलगत्तै भारतले गरेको नाकाबन्दीका कारण आयोजनाको निर्माण नराम्रोसँग प्रभावित भएको थियो । त्यसमाथि, भारतीय ठेकेदार टेक्सम्याकोले समयमा काम नगर्दा पनि समस्या थपिएको छ ।
पछिल्लो समय तामाकोसी व्यवस्थापनले समेत ठेकेदारलाई दबाब दिएर काम गराउन नसक्दा विद्युत् उत्पादन अवधि धकेलिँदै गएको देखिन्छ । अझ, आयोजनाबाट उत्पादित विद्युत् खपत गर्ने ठाउँ वा बजारको अन्योलता रहेका कारण पनि आयोजना निर्माणमा ढिलाई गर्ने गरेको केही विश्लेषकहरूको टिप्पणी छ । ७६ मेगावाटका ६ वटा युनिट (टर्बाइन) जडान हुने आयोजनाबाट हिउँदमा भने करिब ९० देखि १०० मेगावाटमात्र विद्युत् उत्पादन हुन्छ ।