काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को भोलि (जेठ ३२ गते) हुने नयाँ कार्यसमिति चयनको निर्वाचनमा पदाधिकारी भन्दा सदस्यमा ‘हेभी वेट’का अनुहारहरूको प्रवेश हुन लागेको छ । इपानभित्र बढ्दै गएको अपारदर्शी खेल, यसको शुद्धिकरण र साझा बनाउन जरुरी रहेको भन्दै यसपटक ऊर्जा क्षेत्रमा दशकौंको अनुभव संगालेका अनुभवी व्यक्तिहरूको प्रवेश हुन लागेको हो ।
इपानको विधानअनुसार ७ सदस्यका लागि १४ जनाको उम्मेदवारी परे पनि अनुभवी व्यक्तिहरू अगाडि आउने देखिन्छ । यसपटक बुटवल पावर कम्पनी (बिपिसी) का प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ, भिजन इनर्जी एन्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष टिएन आचार्य, मादमे खोला हाइड्रो पावर प्रालिकी कार्यकारी अध्यक्ष सुसन कर्माचार्य, जान्दा देवी नेपाल इनर्जी प्रालि प्रबन्ध निर्देशक कुवेरमणि नेपाल, ब्रम्हायणी हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक भरतप्रसाद पराजुली लगायतले कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यमा उम्मेदवारी दिने थप व्यक्तिहरूमा ताराबहादुर सुब्बा, विकासकुमार श्रेष्ठ, कदम केसी, शंकर बस्याल, दीपक पौड्याल, सीताराम तिमल्सिना, विजयमोहन भट्टराई, मिथुन पौडेल, विष्णु ओझा र सुकुन्द ओझा रहेका छन् । इपानले कार्यसमिति सदस्यमा कर्माचार्य निर्विरोध निर्वाचित भइसकेको घोषणा गरेको छ । निर्विरोध हुने थप दुई महिला सदस्यहरूमा सुमन जोशी र ईशा श्रेष्ठ पनि रहेका छन् ।
पदाधिकारी अन्तर्गत उप–महासचिव र कोषाध्यक्षमा दोस्रो व्यक्तिको उम्मेदवारी नपरेको हुँदा ती पदमा क्रमशः प्रकाशचन्द्र दुलाल र नरेन्द्रबल्लभ पन्त निर्विरोध निर्वाचित भएको इपानले जानकारी दिएको छ । उता अध्यक्षमा किरण मल्ल र गणेश कार्कीको प्रतिस्पर्धा रहेको छ ।
इपानको कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका उल्लिखित ४–५ जना अनुहार हाल पदाधिकारीमा रहेका र अब पदाधिकारीमा जान लागेका व्यक्तिहरूभन्दा निकै अनुभवी, दक्ष र नेतृत्व क्षमतामा अब्बल मानिन्छन् । यसबाट, अबका दिनमा बिग्रिँदै गएको इपानको छविमा सुधार आउने आशा गर्न सकिन्छ ।
इपानको विधान त्रुटीपूर्ण रहेको भन्दै मल्ल पक्षले पहिला विधान संशोधन गरेपछि मात्र निर्वाचन गर्नुपर्ने आडान राखेको छ । यस्तै, कार्की पक्षले भने मल्लतर्फका केही व्यक्तिले विधानविपरित पदाधिकारीमा उम्मेदवारी दिएको बताएको छ ।
‘हेभी वेट’का अनुहारहरू
उत्तरकुमार श्रेष्ठः नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठले त्यहाँ दुई दशकभन्दा लामो जिम्मेवारी सम्हालेपछि अवकाश लिएका हुन् । २०४५ सालमा अधिकृतबाट प्राधिकरणको सेवामा प्रवेश गरेका उनी अर्थ विभागको निर्देशक, अर्थ निर्देशनालयको उपकार्यकारी निर्देशक हुँदै कार्यकारी निर्देशकसम्म भएका थिए । प्राधिकरणबाट अवकाश भएपछि तत्कालीन विद्युत् महसुल निर्धारण आयोगमा दुई वर्ष सदस्यको जिम्मेवारी समेत पूरा गरेका थिए ।
हाल बिपिसीको प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठ द्विपक्षीय तथा त्रिपक्षीय वार्ता तथा नेतृत्व क्षमतामा अब्बल मानिन्छन् । पछिल्लो एक दशकदेखि बिपिसीको जिम्मेवारीमा रहेका उनले कम्पनीमार्फत आधा दर्जन आयोजना अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् भने ती आयोजनामा विदेशी लगानी भित्र्याउन विशेष पहल गरेका छन् ।
बिपिसी अन्तर्गत अहिले ३० मेगावाटको न्यादी, १२ मेगावाटको झिम्रुक, ९.४ मेगावाटको आँधीखोला र ४ मेगावाटको खुदी जलविद्युत केन्द्र सञ्चालनमा रहेका छन् । यस्तै, निर्माणाधीन आयोजनाहरूमा ३७.६ मेगावाटको काबेली–ए र ७.९ मेगावाटको चिनो खोला तथा ७.९ मेगावाटकै सौर्य विद्युत निर्माणाधीन रहेका छन् । बिपिसीले वैदेशिक लगानी तथा सहकार्यमा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी, १३९.२ मेगावाटको लोअर मनाङ मस्र्याङ्दी र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ को सम्पूर्ण अध्ययन पूरा गरेर निर्माण चरणमा पुर्याउँदैछ । यी आयोजनाहरूको आयोजना विकास सम्झौता (पिडिए) र विद्युत खरिद सम्झौता (पिपिए) गर्ने चरणमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिएका छन् ।
अहिले बिपिसीले १७० मेगावाटको आंशिक जलाशय मुगु कर्णालीको सम्भाव्यता अध्ययन गरिरहेको छ । यति विशाल संस्थाको कार्यकारी नेतृत्व सम्हालेका व्यक्ति इपानमा जानुले पक्कै यो क्षेत्रको बिग्रेको छवि सुधार्न ठूलो मद्दत पुग्ने देखिन्छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबिए) गरेका श्रेष्ठ फेलो चार्टर्ड एकाउन्टेन्ट (सिए) समेत हुन् ।
इपानलाई स्वच्छ र पारदर्शी रूपमा अगाडि बढाउन जरुरी रहेको हुँदा आफूले कार्यसमिति सदस्यमा उम्मेदवारी दिएको श्रेष्ठले बताए । ‘मैले फुटेर होइन, जुटेर अगाडि बढौं भनिरहेको छु,’ उनले ऊर्जा खबरसँग भने, ‘संस्थामा धेरै कुरा सुधार गरेर जानुपर्ने छ ।’
टिएन आचार्यः भिजन इनर्जी एन्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष रहेका आचार्य गीतकार तथा चलचित्र निर्देशकसमेत हुन् । हाल निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे–लिखुमा ‘मास फण्डिङ’मार्फत लगानी व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेका उनी संस्थागत सुशासन र व्यवस्थापनमा अब्बल मानिन्छन् ।
विगत १० वर्षदेखि जलविद्युत क्षेत्रमा प्रत्यक्ष आवद्ध रहेका आचार्य छ्याङ्दी हाइड्रो (६ मेगावाट), कालंगा हाइड्रो (३८ मेगावाट), सानीगाड हाइड्रो (१५ मेगावाट), बुङगल हाइड्रो (१० मेगावाट) का प्रवद्र्धक तथा सञ्चालक हुन् । उनी विन्ध्यवासिनी हाइड्रो, रिजलाइन हाइड्रो लगायत अन्य पाँचभन्दा बढी हाइड्रो पावर कम्पनीले अघि बढाएका आयोजनाहरूमा समेत प्रवद्र्धक रहेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको पूर्वपार्षद र हाल नेपाल लेखापरीक्षणमान बोर्डका सदस्य रहेका आचार्यसँग विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम, नागरिक लगानी कोष, दूरसञ्चार प्राधिकरणमा सञ्चालक रहेर काम गरेको अनुभवसमेत छ ।
स्थानीय निकाय वित्तीय आयोगमा विशेषज्ञको रूपमा काम गरेका आचार्यले लेखापरीक्षणमा १८ वर्ष सेवा गरिसकेका छन् । नेपाल राष्ट्र बैंक लगायत निजी क्षेत्रका जलविद्युत् कम्पनीहरूको लेखापरीक्षण गरेको समेत अनुभव छ ।
उनले ७० भन्दा बढी जलविद्युत कम्पनीहरूको वित्तीय परामर्शदाता तथा लेखापरीक्षक भई काम गरेका छन् । आफ्नो अनुभव, सीप र क्षमता इपान र मुलुकको जलविद्युत क्षेत्रमा योगदान हुन सक्ने ठानेर कार्यसमिति सदस्यमा उम्मेदवारी दिएको आचार्यको भनाइ छ ।
सुसन कर्माचार्यः पछिल्लो दशकमा जलविद्युत क्षेत्र हाँक्ने महिला नेतृत्वमा कर्माचार्यको भूमिका निकै उत्कृष्ट देखिँदै आएको छ । हाल इष्टर्न हाइड्रो पावर लिमिटेड (५ मेगावाट), याम्बलिङ हाइड्रो पावर लिमिटेड (७.२७ मेगावाट) र मादमे खोला हाइड्रो पावर प्रालि (२४) मेगावाटको कार्यकारी अध्यक्ष रहेकी उनी अन्य दर्जनौं सामाजिक संघ संस्थामा समेत आवद्ध छन् ।
जलविद्युत् विकासमा संलग्न रहेका थोरै मात्र महिलाहरूमा कर्माचार्य जुझारु र चुनौती आँक्न सक्ने प्रवर्द्धकको रूपमा समेत परिचित छन् । जनप्रशासन संकायतर्फ ग्रामीण तथा सहरी विकासमा स्नातकोत्तर गरेकी उनले विद्युत विकासलाई पारदर्शी ढंगले राज्यलाई योगदान पुग्ने गरी अगाडि बढाउनुपर्ने बताउँदै आएकी छन् ।
हिजोको तुलनामा इपानको दायरा फराकिलो क्षेत्रमा फैलिइसकेको हुँदा सबै पक्षलाई समेटेर अगाडि बढ्न सकिने आधार देखेर आफू संस्थाको सदस्यमा पुगेको बताइन् । इपानले उनलाई निर्विरोध निर्वाचित भइसकेको घोषणा समेत गरेको छ ।
कुवेरमणि नेपालः ‘जल ऊर्जाका साथै सौर्य ऊर्जालाई प्रवद्र्धन गरौं भन्ने’ अभियान लिएर विगत २२ वर्षदेखि यस क्षेत्रको विकासमा होमिएका नेपाल पनि इपानमा प्रवेश गर्ने ‘हेभी वेट’ अनुहार हुन् । हाल जान्दा देवी नेपाल इनर्जी प्रालिको प्रबन्ध निर्देशक रहेका उनी विशेषतः सौर्य ऊर्जा विकासको अभियानमा लागेका प्रवद्र्धनमा लागेका छन् ।
रिडी पावर कम्पनी लिमिटेडको समेत प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका नेपालको नेतृत्वमा बुटवलमा ८.५ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण पूरा भएको छ । यस्तै, उनले थप आधा दर्जन सौर्य विद्युत आयोजना अगाडि बढाइरहेका छन् । जलविद्युत सँगसँगै सौर्य विद्युतसमेत उत्पादन गरी मिश्रिति ऊर्जा विकासमा जानुपर्ने मुद्दालाई उनले निरन्तर उठाउँदै आएका छन् ।