काठमाडौँ । देशको समग्र ऊर्जा क्षेत्रमा प्रबल अधिकारी नयाँ नाम होइन । नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागमा करिब एक दशकदेखि कार्यरत उनी निजी क्षेत्र, सरकारी निकाय, विकास साझेदार र कुटनीतिक नियोगहरूले समेत खोजिरहने व्यक्तिमा पर्छन् । यिनै अधिकारीलाई नियमित पेशागत जीवनको उत्तरार्धतिर एउटा पदीय सफलता प्राप्त भएको छ ।
प्राधिकरणमा अधिकारीले प्राप्त गरेको नयाँ पदीय उपलब्धि अर्थात् जिम्मेवारी हो, १२औं तह अर्थात् उपकार्यकारी निर्देशक । आगामी पुस १३ गते उमेरहदका कारण अवकाश पाउँदै गरेका उनी ११ तह अर्थात् निर्देशकको जिम्मेवारीमा रहेर लामो समयदेखि काम गर्दै आएका थिए । प्राधिकरण वा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा धेरैले सोही पदबाट अवकाश पाउने अड्कल काटिरहँदा उनको पदोन्नति भएको छ । जेष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताका आधारमा पदपूर्ति समितिले मंगलबार उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।
विद्युत् क्षेत्र त्यसमा पनि विद्युत् व्यापारमा पूर्ण दख्खल राख्ने देशका थोरै इन्जिनियरहरूमध्ये सम्भवतः अधिकारी अग्रपंक्तिमै पर्छन् । देशभित्रैका विद्युत क्षेत्रका समस्या समाधान गर्नुपर्दा, नीति निर्माण तहमा समन्वय गर्नुपर्दा होस् वा क्षेत्रीयरूपमा द्विपक्षीय तथा त्रिपक्षीय वार्ता, छलफल र बैठकहरूमा समेत उनको सहभागिता अनिवार्य जस्तै हुने गरेको छ । ऊर्जा क्षेत्रका समस्या पहिचान गरी नीतिगत एवम् कार्यान्वयन तहमै पुगेर पर्गेल्न सक्ने व्यक्ति भएकै कारण उनी आन्तरिक तथा वैदेशिक नियोगमा धेरैले खोज्ने अनुहारमा पर्छन् ।
उमेरहदकै कारण अवकास पाउन लागेको समयमा भएको उनको पदोन्नतिलाई धेरैले चासोका रूपमा पनि लिएका छन् । ‘जिम्मेवारीमा को कति समय रहन्छ, त्यो महत्त्वको कुरा होइन । कति परिणाममुखी र देशहितमा आफूलाई समर्पण गर्यो भन्ने कुरा विशेष हो,’ उनले ऊर्जा खबरसँगको कुराकानीमा भने, ‘कानुनी रूपमा म जति दिन सेवामा रहन्छु, मैले प्राधिकरण र देशकै हित प्रतिरक्षामा काम गर्छु ।’ पदमा रहँदा वा नरहँदाको समयमा समेत यही क्षेत्रको विकासमा समर्पित हुने आफ्नो अठोट रहेको उनले सुनाए ।
यसअघि प्राविधिक विषय नमिल्दा उमेरहद पूरा हुन २ वर्ष बाँकी रहँदा नै उनले अवकाश पाउन लागेका थिए । तर, प्राधिकरणले कागजी प्रक्रिया मिलाएपछि उनको सेवा अवधिले निरन्तरता पाएको थियो । प्राधिकरणभित्रै यस विषयमा केही विवाद भएको थियो भने उनलाई राजनीतिक आस्थाका आधारमा कित्ताकाट गर्ने प्रयाससमेत गरिएको थियो ।
सेवा प्रवेशको २६ वर्षपछि १२औँ तह
अधिकारीले करार कर्मचारीका रूपमा २०५४ सालमा प्राधिकरणको सेवा प्रवेश गरेका थिए । सेवा प्रवेशको ३ वर्षपछि २०५७ सालमा उनको स्थायी नियुक्ति भएको थियो । स्थायी भएको २३ वर्षको अवधिमा उनले विभिन्न विभाग र कार्यालयमा रहेर महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । प्राधिकरणलाई अहिलेको प्रगतिको अवस्थामा पुर्याउन उनको भरपूर जोडबल रहेको पक्ष धेरै कोणबाट विश्लेषण गर्दा पनि प्रस्ट हुन्छ ।
मुख्यतः पछिल्ला ५–६ वर्षमा प्राधिकरणभित्र आएको उन्नति–प्रगति, चर्चा र लोकप्रियताका पछाडि उनै अधिकारी जोडिएका थिए भन्दा अन्यथा हुँदैन । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि उनलाई सफल बनाउने पर्दापछाडिका ‘निर्देशक’ उनै अधिकारी थिए भन्दा पनि अन्यथा नहोला । अध्ययन तथा तथ्यांक विश्लेषण, नीतिगत एवम् कार्यगत कुशलता र सञ्चारजगतसँग सुमधुर सम्बन्ध जोडिदिएर उनले घिसिङलाई उचाइमा पुर्याएको वास्तविकता बिर्सिने खालको होइन ।
सेवा प्रवेशको सुरुवाती चरणमा उनी प्राधिकरणको विराटनगर वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्रमा रहेर जिम्मेवारी सम्हालेका थिए । त्यसपछि, कावासोती वितरण केन्द्रको प्रमुखको रूपमा नेतृत्व गर्ने अवसर पाएका उनी कार्यजिम्मेवारी र प्रतिफलमूखी कार्यशैलीका कारण धेरै सरकारी निकायले खोज्ने व्यक्तिका रूपमा उभिन पुगेका छन् ।
सरकार र प्राधिकरण आफैँले निर्माण गर्ने ऊर्जा तथा जलस्रोतसँग सम्बन्धित अनेक नीति निर्माणमा पनि सक्रिय रहेर योगदान पुर्याएका उनले प्राधिकरणको ‘९औँ विद्युतीकरण आयोजना’को अध्ययन तथा डिजाइन निर्माणमा विशेष भूमिका खेलेका थिए । यस्तै, २०७२ सालमा तयार भएको ‘ऊर्जा संकटकाल निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र’ निर्माणमा पनि उनको महत्त्वपूर्ण अगुवाई रहेको थियो ।
२०६६ सालमा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका डा. प्रकाशशरण महतको निजी सचिवसमेत भएर ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासमा योगदान पुर्याएका अधिकारी त्यसपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सरुवा भएर गएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भर्खरै ल्याएको ‘ऊर्जा विकास १२ वर्षे मार्गचित्र तथा कार्ययोजना २०८०’ निर्माणमा समेत उनको विशेष भूमिका रहेको थियो ।
प्राधिकरण विद्युत् व्यापार विभागमा करिब दशक लामो जिम्मेवारी सम्हाल्ने सम्भवतः उनी एक्ला व्यक्ति हुन् । उक्त विभागमा रहँदा उनले विद्युत् आयोजना प्रवर्द्धक तथा निजी क्षेत्र, सरकारका विभिन्न निकायसँग सक्रिय एवम् सहजरूपमा समन्वय तथा सहकार्यका अनेक काम गरे । सोही विभागमा रहँदा नै उनले ४ वर्षसम्म प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सफलरूपमा निर्वाह गरेका थिए । यही कारण आम सञ्चारकर्मीबीच पनि उनी उतिकै लोकप्रिय छन् । हाल, उनी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन अन्तर्गत भारत खण्डको संयुक्त कम्पनीको सञ्चालकको जिम्मेवारीमा रहेका छन् ।
बहुमुखी प्रतिभा
अग्लो कद । गोरो वर्ण । हँसिलो मुहार । मीठो बोली । शालिन तथा बौद्धिक व्यक्तित्व । समग्रमा आकर्षक व्यक्तित्वका धनी छन्, अधिकारी । त्यसो त शारीरिकरूपमा मात्र सुन्दर छैनन् उनी, बौद्धिकताका हिसाबले पनि उत्तिकै प्रखर छन् । प्राधिकरणको उपकार्यकारी निर्देशक बनेका उनी सुझबुझ र बौद्धिकताका हिसाबले नामजस्तै प्रबल, प्रखर र सबल छन् । त्यसो त प्राधिकरणको विद्युत् व्यापार विभागस्थित चेम्बरमा पुग्ने प्रायः व्यक्तिहरू उनको आकर्षक व्यक्तित्वबारे नजिकबाटै परिचित छन् । यही व्यक्तित्वका कारण ४ वर्षसम्म प्रवक्ताको जिम्मेवारीमा रहँदा नेपालका आम–सञ्चारकर्मीबीचसमेत उत्तिकै लोकप्रिय बनिरहे ।
त्यसो त, अधिकारी इन्जिनियर, प्रशासक, कुटनीतिक सामर्थ्य राख्ने व्यक्तिमा मात्र सीमित छैनन् । उनी साहित्य तथा संगीतमा गहिरो अभिरुचि राख्ने कवि पनि हुन् । कोरोना–१९ कालमा सिर्जित उनको ‘ऊ कात्रोमा खल्ती सिलाउँदै छ’, कविता नै उनको साहित्यिक, प्रखर बौद्धिकता र शालीन व्यक्तित्वको परिचय दिन पर्याप्त छ । उनका दर्जनौं कविता तथा ऊर्जा कुटनीतिमूलक लेख/रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
कार्यकारी निर्देशकका रूपमा हेरिएका व्यक्तित्व
१२औं तहको जिम्मेवारीमा पुगेपछि पदोन्नतिका हिसाबले त्यो भन्दा उपल्लो तह छैन । उपल्लो जिम्मेवारी छ तर त्यो पूर्णतः राजनीतिक नियुक्ति हो । प्राविधिक, प्रशासनिक, बौद्धिक र कुटनीतिक क्षमतायुक्त अधिकारी कार्यकारी निर्देशकको तहसम्म पुगुन् भन्ने धेरैको चाहना हुन्छ । यो पक्ष धेरै समयदेखि राजनीतिक वृत्तमा समेत चर्चा हुँदै आएको छ ।
अधिकारी आफैँलाई पनि ‘प्राधिकरणको यति लामो सेवा–यात्रामा एक पटक उपल्लो पदमा रहेर काम गरौं न’ भन्ने पक्कै लागेको हुनुपर्छ । राजनीतिक गठजोडमा चलिरहेको सरकारले उनको बौद्धिक पृष्ठभूमि, देश र अन्तर्राष्ट्रिय निकाससँगको समन्वयलाई मनन् गर्ने हो भने कार्यकारी निर्देशकमा नियुक्त गर्ने बलिया सम्भावना देखिन्छ । यद्यपि, उनी आफैँ खुलेर भने यो पदको दौडमा नरहेको बताउँदै आएका छन् ।
राजनीतिक वृत्तमा हुँदै आएको पछिल्लो छलफल तथा परिचर्चा अनुसार उनलाई विद्युत् नियमन आयोगको अध्यक्ष र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’को कार्यकारी निर्देशकको रूपमा पनि हेरिएको छ । उल्लिखित कुनै पदमा आसिन भएनन् भने पनि अवकाशपछि उनी कुनै नै कुनै भूमिकामा रहेर नेपालको ऊर्जा तथा जलस्रोत क्षेत्रलाई हाँक्न सक्नेमा विश्वस्त हुन सकिन्छ ।