काठमाडौं । नदी तथा खोलामा पानीको बहाब बढ्दै गएपछि नदी प्रवाही (आरओआर) तथा अर्धजलाशय जलविद्युत्गृहकाे उत्पादनमा सुधार देखिन थालेको छ । केही दिन यताको नियमित वर्षा तथा तापक्रममा भएको वृद्धिले हिउँ पग्लिन थालेपछि आन्तरिक विद्युत उत्पादन बढ्न थालेकाे हो ।
आन्तरिक उत्पादनमा सुधार हुन थालेपछि भारतबाट आयात हुने विद्युत्काे परिमाण ५० प्रतिशतभन्दा बढी घटेकाे छ । नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रको बुधबारको तथ्यांकअनुसार आन्तरिक विद्युत उत्पादन बढेर ७ सय ६९ मेगावाट पुगेको छ । जसमा प्राधिकरणका जलविद्युतगृहकाे उत्पादन ४ सय ३६ मेगावाट र निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन ३ सय ३३ मेगावाट पुगेको छ । जबकि, ७७२ मेगावाट जिडत क्षमता रहेकाे निजी क्षेत्रकाे यसअघि अधिकतम सुख्खायामकाे उत्पादन करिब १८१ मेगावाटसम्म झरेकाे थियाे ।
यो वर्ष सुख्खयाममा लामो समय पानी नपर्दा स्वदेशी नदी प्रवाही एवं अर्धजलाशय आयोजनाको उत्पादन इतिहासकै न्यून विन्दुमा पुगेको थियो । लामो समय खडेरी परेकाले स्वदेशी जलविद्युतगृहले जडित क्षमताको २७ प्रतिशत हाराहारीमा मात्रै विद्युत उत्पादन गर्न सकेका थिए । प्राधिकरणका जलविद्युतगृहको उत्पादन ४ सय मेगावाट हाराहारीसम्म थियाे । जहाँ, प्राधिकरणका विद्युत्गृहकाे जिडत क्षमता ६४६ मेगावाट छ ।
बैशाख पहिलो सातासम्म घटिरकेको आन्तरिक उत्पादन दोस्रो साताबाट भने क्रमशः बढ्न सुरु गरेको हो । नदी तथा खोलामा पानी बढ्न थालेकाले आन्तरिक विद्युत उत्पादन बढ्न सुरु गरेको प्राधिकरण उत्पादन निर्देशनालयअन्तर्गत ठूला आयोजना सञ्चालन तथा संभार विभागका प्रमुख रामकुमार यादवले बताए । ‘केही दिनदेखि नियमित भइरहेको वर्षाले त नदी तथा खोलामा पानीको सतह खासै बढ्न सकेको छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘हिउँ पग्लिएर हिमनदीमा पानी बढ्न थालेकाले आन्तरिक उत्पादन पनि बढ्न सुरु गरेको छ ।’
उनले एक साता यता १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ देखि ३० मेगावाटको चमेलियासम्मले उत्पादन बढाएको बताए । बुधबारसम्मको तथ्यांकअनुसार कालीगण्डकीको उत्पादन ८० मेगावाट हाराहारीमा आइपुगेको छ । यो सुख्खायाममा औषत ४८ मेगावाटमा झरेको कालीगण्डकीको उत्पादन नदीमा पानी बढ्न थाले यता ३२ मेगावाट बढेको उनले बताए । ७९ मेगावाटको मर्स्याङ्दीको उत्पादन सुख्खायाममा औसत २८ मेगावाटमा झरेकोमा अहिले बढेर ३६.२३ मेगावाट पुगेकाे छ ।
मध्यमर्स्याङ्दीको उत्पादन औसत २५ मेगावाटबाट बढेर ३० मेगावाटमा पुगेको छ । ७० मेगावाटको यस जलविद्युतगृहले यो वर्ष सुख्खायाममा जडित क्षमताभन्दा ४५ मेगावाट कम विद्युत उत्पादन गरेको थियो । सुदूरपश्चिम प्रदेशको चमेलियाको उत्पादन पनि बढेको यादवले जानकारी दिए । यो वर्ष सबैभन्दा कम ७ मेगावाटमा झरेको चमेलियाले बुधबार १७ मेगावाट विद्युत उत्पादन गरेको छ । बितेको एक सातामा चमेलियाको उत्पादन १० मेगावाट बढेको प्राधिकरणले जनाएको छ ।
१४ मेगावाटको देवीघाटले १० मेगावाट उत्पादन गर्न थालेको छ । त्यति नै क्षमताको मोदी खोलाले ७.२ मेगावाट उत्पादन गरिरहेको छ । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को उत्पादनमा भने खासै सुधार आएको छैन । सुख्खायाममा औसत २८ मेगावाट विद्युत उत्पादन गरेको त्रिशूली–३ ‘ए’ को अहिलेको उत्पादन पनि सोही हाराहारी छ ।
आन्तरिक उत्पादन बढ्न थालेपछि भारतबाट हुने विद्युत आयात परिमाणमा गिरावट आउन थालेको प्राधिकरण भार प्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार बुधबार विद्युतको उच्च माग ११ सय ७० मेगावाट हुँदा आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट ४ सय १ मेगावाट विद्युत आयात गरिएको छ । जबकि, उच्च मागकाे समयमा भारतबाट ८५० मेगावाटसम्म आयात गरिएकाे थियाे ।
भारतबाट आयात गरिएकाे यो परिमाण इतिहासमै सबैभन्दा धेरै हो । यो वर्ष विद्युतको माग २ गुणा बढेकाले पनि आयात बढाउनु परेको प्राधिकरणले जनाएको छ । विद्युतको उच्च माग १५ सय मेगावाट नजिक पुग्दा ५ सय मेगावाट हाराहारीमा रहेको आयात आन्तरिक विद्युत उत्पादन घट्न थालेपछि भने क्रमशः आकासिँदै गएको थियो ।
प्राधिकरणले माग र आपूर्ति व्यवस्थापन मिलाउन कुलेखानी २४ घन्टा सञ्चालन गर्दा जलाशय रित्तिन पुत्तिएकाले पनि आयात ह्वातै बढेको देखिन्छ । अहिले कुलेखानी जलाशयमा चलाउन मिल्ने पानी ५ मिटर मात्रै छ । बुधबार कुलेखानी जलाशयमा १५०५.८२ मिटर पानी मापन गरिएको यादवले जानकारी दिए । गत वर्ष यही दिन कुलेखानीमा १५१२.३४ मिटर पानी थियो । पानीको सतह कम भएको हुँदा चैत यता कुलेखानी जलाशय चलेको छैन ।