विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेलाई उद्योग संगठन मोरङले शुक्रबार (फागुन २८ गते) सम्मान गरेको छ । पाण्डे प्रदेश १ मा कार्यरत रहँदा उच्च प्रशासकीय क्षमता प्रदर्शन गर्दै त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापन गरेको भन्दै संगठनको ४८औं वार्षिक साधारणसभाका क्रममा सम्मान गरिएको हो ।

पाण्डे करिब डेढ वर्ष प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरको जिम्मेवारी पूरा गरी करिब १ महिना अगाडि बागमती प्रदेशमा सरुवा भएका हुन् । पूर्वाञ्चाल तथा प्रदेश १ मा भोल्टेजको समस्या, विरतण लाइन निर्माणमा अवरोध तथा उद्योगहरूको बक्यौता असुलीमा जलिता थिए ।

सरोकारवाला, स्थानीय समुदाय, प्रशासन र प्राधिकरणबीचको सम्बन्धलाई सुमधुर बनाउँदै काम गरेका थिए । उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएको लो भोल्टेज, ट्रिपिङ लगायत विद्युतीय समस्या न्यूनिकरण गर्न उपलब्ध स्रोत र साधानको समुचित व्यवस्थापन गरी नियमित विद्युत् आपूर्तिमा ठूलो भुमिका खेलेको व्यापार संगठनले उल्लेख गरेको छ ।

पाण्डेले आफू मातहतका शाखाहरूलाई क्रियाशील बनाउनुका साथै निजी क्षेत्र र प्राधिकरणबीच सुमधुर सम्बन्ध स्थापित गराउन समन्वयकारी भूमिका निर्वाह गरी गुणस्तरीय विद्युत् आपूर्तिमा अतुलनीय योगदान गरेको पनि जनाइएको छ । हक्की स्वभावका पाण्डे प्राधिकरणभित्र कुशल प्रशासकका रूपमा चिनिन्छन् ।

विगत लामो समयदेखि दुहबी–कटहरी ३३ केभी प्रसारण लाइन निर्माणमा ठूलो समस्या उत्पन्न भएको थियो । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा त्यस क्षेत्रका सांसद अमनलाल मोदीले अवरोध गरेको आरोप पनि लगाएका थिए । यो काम पाण्डेकै पालामा पूरा भयो ।

यसैगरी, भोजपुर–तुम्लिङटार प्रसारण लाइन निर्माण होस् वा सोलुखुम्बुमा ग्रिड पुर्याउने काममा पाण्डे क्रियाशील रूपमा खटिएका थिए । उता औद्योगिक क्षेत्रको ट्रंक र डेडिकेटेड लाइनमो महसुल उठाउन र उद्योगको लाइन काट्न पनि उनी अग्रसर भएर लागेका थिए । तर, पछि उद्योगको लाइन नकाट्न प्रधानमन्त्री तहबाटै निर्देशन भएपछि रोकिएको थियो ।

कुशल प्रशासक, हक्की स्वभाव

प्राधिकरणमा बरिष्ठ प्रबन्धक (दशौं तह) को जिम्मेवारीमा रहेका पाण्डे हक्की स्वभावका कर्मचारी मानिन्छन् । उनी कार्यक्षेत्रमा खरो रूपमा उत्रिन सक्ने, कर्मचारी तथा सरोकारवाला पक्षसँगको समन्वयमा काम गर्नेरगराउने, माथिल्लो तहको नेतृत्वसँग सहकार्य गर्न सक्ने र अप्ठ्यारो पर्दा राजनीतिक नेता–कार्यकर्तासँग प्रभावकारी परामर्श गर्न सक्ने क्षमता राख्छन् ।

सोही क्षमताका कारण पछिल्लो समय प्राधिकरणका हरेक नेतृत्वले उनलाई चुनौतीपूर्ण ठाउँमा खटाउँदै आएको छ । पाण्डे ९ तह हुँदा कुलेश्वर र लगनखेल वितरण केन्द्रमा पनि प्रभावकारी रूपमा जिम्मेवारी पूरा गरेका थिए ।

१०औं तहमा बढुवा भएपछि उनी देवीघाट सुदृढिकरण आयोजनामा खटाइए । त्यहाँ तोकिएको जिम्मेवारी समयभित्रै पूरा गर्न सकेका थिए । यसपछि १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा उनको सरुवा भयो ।

उनी त्यहाँ खटिँदा विद्युतगृह बन्द गरेर इन्लेट भल्ब फेर्नुपर्ने थियो । देशमा लोडसेडिङ भएको समयमा पनि भार प्रेषण केन्द्र र नेतृत्वसँगको परामर्शमा विद्यमान अवस्थालाई व्यवस्थापन गर्दै उनले लक्षित काम गर्न सकेका थिए । साथै, केन्द्रले तत्कालीन समयमा सबैभन्दा बढी विद्युत् उत्पादन पनि गरेको थियो ।

दुई वर्ष कालीगण्डकी बसेपछि उनलाई मध्य–भोटेकोसी जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालकमा सरुवा गरियो । १०२ मेगावाटको भोटेकोसीको काम वर्षौंदेखि रोकिएको थियो । बाँध क्षेत्रमा स्थानीयको विरोध हुँदा काम हुन सकेको थिएन ।

बाँध क्षेत्रमा केही घर भत्काउनुपर्ने पनि थियो । पाण्डेले स्थानीयबासी र राजनीतिक दलसँग परामर्श गरी बाँध क्षेत्र खाली गराउन सफल भए । र, काम सुचारु हुन सकेको थियो । त्यहाँ करिब एक वर्ष काम गरेपछि उनलाई फेरि अर्को चुनौतीपूर्ण ४० मेगावाटको आयोजना राहुघाटमा सरुवा गरियो ।

एक पटक ठेक्का तोडेर पुनः अगाडि बढाइएको राहुघाट निर्माण गर्न रघुगंगा हाइड्रो पावर कम्पनी स्थापना गरिएको थियो । पाण्डे कम्पनी प्रमुख भए र निर्माण प्रक्रियालाई गति दिए । उनकै कार्यकालमा सिभिल, इलेक्ट्रो तथा हाइड्रो मेकानिकल ठेक्काको टुंगो लाग्यो ।

दुई वर्षपछि रघुगंगाबाट हेटौंडा सरुवा भएका पाण्डे त्यहाँ करिब ३ महिना मात्र रहे । यसपछि उनलाई २०७६ भदौ ५ गते विराटनगर सरुवा गरिएको थियो । निर्भिक, निडर र कार्यक्षेत्रमा खरो उत्रिन सक्ने भएकैले उनलाई चुनौतीपूर्ण ठाउँमा पठाउने गरेको विगतकै उदाहरणले पनि पुष्टि गर्ने गरेको छ ।

हाल काठमाडाैं उपत्यकाकाे विद्युत् वितरण निकै चुनाैतीपूर्ण बन्दै गएकाे छ। दिनहुँ लाइन काटिने तथा लाे भाेल्टेजकाे समस्या, वितरण प्रणालीमा सुधार, भूमिगत तार विस्तारसँगै यहाँकाे खपत बढाउनुपर्ने अवस्था छ । यी चुनाैती सामना गर्न र प्राधिकरणका लागि परिणाम देखाउनुपर्ने हुँदा पुनः पाण्डेकाे सरुवा गरिएकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit