काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनीले २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा सञ्चालित १३ मेगावाट मद्क्यू जलविद्युत आयोजनाको सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारण र स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागिएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ । निर्माण सम्पन्न भएकोे आयोजनाले विगत २०७४ चैत १९ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।