काठमाडौँ । ताप्लेजुङ जिल्लामा निर्माण हुन लागेको २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजनाको निर्माण कार्यअन्तर्गत लट–४ को इलेक्ट्रो मेकानिकल सामानको आपूर्ति तथा जडान कार्यका लागि खरिद सम्झौता भएको छ । आयोजना प्रवर्द्धक तमोर इनर्जी प्रालि र चीनको डोङफाङ इलेक्ट्रिक कर्पोरेशन लिमिटेडबीच शुक्रबार आयोजित एक समारोहका बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगाना, महाप्रबन्धक द्वय प्रकृतिराज तिमल्सिना र पदमप्रसाद पोखरेल तथा र डोङफाङका तर्फबाट उपाध्यक्ष मा झियाङ, एसोसिएट डाइरेक्टर सु जुङ र आयोजना व्यवस्थापक जो डोजाङले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले निर्धारित अवधिभित्रै आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणको आपूर्ति तथा जडान कार्य गर्ने छ ।
त्यस्तै, उक्त कार्यक्रममा आयोजनाको सिभिल संरचना निर्माणका लागि प्रवर्द्धक कम्पनी र फेवा कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको छ । सम्झौता पत्रमा अध्यक्ष ढुंगाना र फेवाका कन्स्ट्रक्सनका अध्यक्ष विष्णुराज कोइरालाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आयोजनाले उत्कृष्ट चीनियाँ कम्पनीको प्रविधि नेपालमा भित्र्उान लागेको भन्दै आयोजनाको सफलताको शुभकामना व्यक्त गरे । उनले विदेशी पुँजी र प्रविधि नेपालमा भित्रियोस् भन्ने सरकारको चाहना रहेको बताउँदै अन्य कम्पनीले यसतर्फ अघि बढ्नुपर्ने बताए ।
कार्यक्रम प्रधानमन्त्रीका प्रमुख कानुनी सल्लाहकार अग्नी खरेलले आयोजनामा आफ्नो समेत लगानी रहेकोले यो आयोजना जसरी पनि समयमै निर्माण पूरा हुनुपर्ने बताए । ‘यो आयोजनामा मेरो पनि लगानी छ,’ उनले भने, ‘चीनमै गएर डोङफाङको उत्पादन प्लान्ट भ्रमण गरिसकेपछि जसरी पनि यो कम्पनीलाई ल्याउनु पर्छ भन्ने लाग्यो र त्यसै अनुसार प्रयास गर्दै जाँदा यो सफलता प्राप्त भएको छ, अब जसरी पनि आयोजना समयमै सक्नुपर्ने छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेतासमेत रहेका शिक्षा व्यवसायी उमेश श्रेष्ठले अध्यक्ष ढुंगानाको कुशल नेतृत्व र निर्णय क्षमताका कारण आयोजना सफल हुने बताए । ‘डोङफाङलाई ल्याउन सफल हुनुभएको छ भने आयोजना पनि सफल हुन्छ,’ उनले भने ।
विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले सुरुमा निजी क्षेत्रले पनि २८५ मेगावाटको ठूलो आयोजना निर्माण गर्न सक्छ भन्ने विश्वास नै नलागेको तर पछिल्लो समय टिबिएमसमेत भित्र्याएर कम्पनी अघि बढिसकेकोले अब भने आयोजना सफल हुने विश्वास पलाएको छ । ‘यो आयोजनालाई समयमै सम्पन्न गर्न विभागले हप्ताको सातै दिन चौबीसै घण्टा काम गर्नुपर्छ भने पनि हामी तयार छौँ,’ उनले भने, ‘यसमा विभागको पूर्ण साथ र सहयोग रहने छ ।’
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्ले यो आयोजनाले नेपाली उद्यमीलाई ठूला आयोजना निर्माण गर्न अनुभव र आत्मविश्वास बढाउने बताए । ‘इलेक्ट्रो मेकानिकलतर्फ चीनकै उत्कृष्ट कम्पनी भित्र्याउन लाग्नु भएको छ,’ उनले भने, ‘अब यो आयोजना समयमै निर्माण सकिन्छ तर आयोजनाको विद्युत् प्रसारण गर्न करिब डेढदेखि २ अर्ब रुपैयाँ लगानी गरेर प्राधिकरणले समयमै सबस्टेसन बनाउनु पर्ने चुनौती थपिएको छ ।’ प्राधिकरणसँग अहिले लगानीयोग्य पुँजी नभए पनि लगानी खोजेर सबस्टेसन समयमै निर्माण पूरा गर्ने प्रतिवद्धता उनले जनाए ।
याे पनि पढ्नुहाेस् : नेपालमा टिबिएमबाट सुरुङ खनिने पहिलो जलविद्युत् आयोजना बन्यो माथिल्लो तमोर, चिनियाँ कम्पनीसँग सम्झौता
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले एउटै युनिटबाट एक हजार मेगावाटसम्म उत्पादन गर्ने टर्वाइनलगायत उपकरण उत्पादन गर्ने डोङफाङ नेपाल ल्याउन सक्नु कम्पनीका लागि ठूलो उपलब्धि भएको बताए । ‘निजी क्षेत्र उत्साहित भएर अघि बढिरहँदा सरकारले पनि आफ्नो ठाउँबाट सकेसम्म सहजीकरण गरी प्रोत्साहित गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘यद्यपि, आरसिओडीको म्याद थप्न माग गरिएकै २ वर्ष वितिसकेको छ भने झण्डै २ वर्षदेखि ८४ वटा जलविद्युत् कम्पनीको आइपिओ रोकेर राखिएको छ ।’ वन, राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रको स्वीकृति, विद्युत् विधेयकमा निजी क्षेत्रलाई हतोत्सािहत बनाउने किसिमका प्रावधान जस्ता विषय अझै पनि यथावत् नै रहेको उनले बताए ।
कार्यक्रममा प्रवर्द्धक कम्पनीका अध्यक्ष ढुंगानाले चीनको उत्कृष्ट सरकारी कम्पनीलाई इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको जिम्मा दिइएको, फेवा कन्स्ट्रक्सन जस्तो उत्कृष्ट कम्पनीलाई सिभिल निर्माणको जिम्मा दिइएको र चाइना रेल्वे कम्पनीलाई टिबिएममार्फत सुरुङ निर्माणको जिम्मा दिइएकोले आयोजना समयमै पूरा हुनेमा आफू विश्वस्त रहेको बताए । ‘समयमै निर्माण पूरा गरेर प्रतिमेगावाट लागत एक करोड मात्रै घटाउन सकिए पनि आयोजनामा झण्डै पौने ३ अर्ब लगानी जोगिन सक्छ,’ उनले भने, ‘त्यसका लागि निर्माणकर्ता कम्पनी, सकारी नियामक निकाय, परामर्शदाता, लगानीकर्ता बैंक तथा वित्तीय संस्था, स्थानीयवासी, कर्मचारी, प्राविधिकलगायत सबै पक्षको साथ सहयोग आवश्यक छ ।’
अनुकुल अवस्था भए आयोजना बढीमा ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । कुल ५१ अर्ब लगात अनुमान गरिएको आयोजनामा १२ अर्ब स्वपुँजी, ८ अर्ब सर्वसाधारणको सेयर लगानी र बाँकी रकम बैंकको ऋण लगानी रहने गरी वित्तीय व्यवस्थापन गरिएको उनले बताए ।
कार्यक्रममा डोङफाङका उपाध्यक्ष मा जियाङले डोङफाङले हालसम्म विश्वस्तरीय सेवा र उपकपरण दिँदै आएको बताउँदै यस आयोजनामा पनि आफूहरूले गुणस्तरीय निर्माण समयमै गर्ने प्रतिबद्धता व्यक्त गरे ।