काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले तराइका २२ जिल्लामा चालु आर्थिक वर्ष २ लाख विद्युतीय तथा सुधारिएको चुलो वितरण गर्ने भएको छ । केन्द्रले क्लिन कुकिङ सोलुसन (सिसिएस) कार्यक्रम अन्तर्गत चुलो वितरण गर्न लागेको हो । यसका लागि चुलोको प्रतिइकाई दररेटसहितको आवेदन पुस २ गतेभित्र आपूर्तिकर्ताबाट आह्वान गरेको छ ।
हरित जलवायु कोषको सहयोगमा केन्द्रले २०८०/८१ देखि सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत तराईका २२ जिल्लाका १५० स्थानीय तहमा ५ लाख विद्युतीय चुलो, ४ लाख ९० हजार तह ३ को सुधारिएको चुलो र १० हजार बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रम वितरण गरिने चुलोमा हरित जलवायु कोष, स्थानीय तथा तथा लाभग्राहीले समेत लागत साझेदारी गर्नुपर्ने प्रावधान राखिएको छ । त्यसअनुसार विद्युतीय चुलोमा कोषको १० प्रतिशत, केन्द्रको ४८ प्रतिशत, स्थानीय तहको १९ प्रतिशत र लाभग्राहीको २३ प्रतिशत लागत साझेदारी रहने छ । त्यस्तै, तह ३ को सुधारिएको चुलो वितरणमा कोषको ४० प्रतिशत, केन्द्रको ४० प्रतिशत, स्थानीय तहको १५ प्रतिशत र लाभग्राहीको ५ प्रतिशत लागत साझेदारी रहने छ ।
चुलो उपलब्ध गराउने आपूर्तिकर्ताले केन्द्रको वेबसाइटमा उपलब्ध प्राविधिक विवरण बमोजिम केन्द्रीय नवीकरणीय ऊर्जा परीक्षण केन्द्रबाट परीक्षण भएको दुवै प्रकारका चुलोको मूल्य अभिवृद्धि करबाहेकको दररेट उपलब्ध गराउनुपर्ने छ ।