काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका नजिक भएर बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहान (असोज २५ गते) आकस्मिकरूपमा आएको भीषण बाढीले कुल ४१२.०६ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएको छ । लेदो र गेग्रानसहित आएको विनाशकारी बाढीले नदी किनारका बस्ती तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो नोक्सानी पुर्याएको विवरण स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले सार्वजनिक गरेको छ ।
इपानका अनुसार बाढीका कारण टाइम्स इनर्जी प्रालिद्वारा निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ । त्यस्तै, दोभानखाेला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुग्नुका साथै बेलिब्रिज बगाएको छ ।
यसैगरी, यारु हाइड्रोपावर प्रालिद्वारा प्रवर्द्धित ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणहरू बाढीले बगाएको छ । वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माणाधीन १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा पहुँच सडक र आयोजना स्थल पुग्ने पुलमा क्षति पुगेको छ ।
तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण हाल सङ्कलन भइरहेको जनाइएको छ ।
