विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको विगु गाउँपालिका–१ मा पर्ने दुर्गम गाउँ लुम्नाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । भौगोलिक विकटता, जटिल मौसम र आधारभूत पूर्वाधार अभावमा जीवन बिताउँदै आएका लुम्नाङबासीको घरमा शुक्रबार रातिदेखि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो ।

लामो प्रयासपछि उक्त विकट बस्तीमा केन्द्रीय प्रसारणको बिजुली पुर्‍याउन सफल भएको नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंहले जानकारी दिए । लुम्नाङमा बिजुली बत्ती बलेसँगै अब केन्द्रीय प्रसारण लाइन पुग्न दोलखाको लप्ची गाउँ मात्रै हो । लप्ची गाउँ तिब्बत सिमानाको गाउँ हो ।

लप्चीवासी हिउँदमा जाडो छल्न र चौरीगाईको सुरक्षाको लागि हरेक वर्ष लुम्नाङ झर्ने गर्छन् भने अलि जाडो कम हुँदै गएपछि लप्ची जाने गर्छन्  । यहाँका बासिन्दाको मुख्य जीविकोपार्जनको आधार चौरी पालन मात्रै हो । लुमनाङमा जम्मा ४८ घरधुरी रहेका छन् तर जम्मा १४ घरधनीले मात्र मिटर लिनका लागि वडा कार्यालयबाट सिफारिस लिएको वडा अध्यक्ष मेमबहादुर तामाङले जानकारी दिए ।  

विगु–१ मा पर्ने लाप्चे खोला जलविद्युत् आयोजनाले आफ्ना आयोजनाको पूर्वाधारका लागि सडक खनेर पोल र ट्रान्फर्मर पुर्‍याएरपछि लुम्नाङ गाउँमा बत्ती बलेको हो । आयोजनाका लागि २ वर्षअघि नै कठिन भीरमा पोल गाडेर लाइन तानेको थियो तर खराने खोला, देउराली, हुरहुरे भीरमा सडक खोल्न समय लागेकाले लाइन जोड्न समय लागेको थियो । गत जेठमा सडक ट्र्याक जोडिएपछि लाइन थप मर्मत गरेर थाम्चेम्बुसम्म बिजुलीको लाइन पुगेको हो । लामाबगरबाट थाम्चेम्बु २० किलोमिटर टाढा पर्छ । त्यही बिचमा लुम्नाङ गाउँ पर्दछ । 

दुगड ग्रुपले प्रवर्द्धन गरेको नासा हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको १६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाले लामाबेगरदेखि लुम्नाङसम्म ३३ केभी प्रसारण लाइन पुर्‍याएको छ ।  त्यही प्रसारण लाइनबाट लगिएको बिजुलीलाई प्राधिकरणले ११ केभीको वितरण लाइन विस्तार गरी लुम्नाङमा बत्ती बालेको हो ।

आफ्नै वडामा पर्ने लामाबगरबाट लगिने एक प्याकेट नुनको १६० रुपैयाँसम्म पर्ने र सबैभन्दा सस्तो ३० केजीको एक बोरा चामललाई ६ हजारसम्म पर्ने गरेकोले नै सो ठाउँ कति विकट र दुर्गम रहेको पुष्टि गर्ने लप्ची टोल विकास समितिका अध्यक्ष वाङ्चुक शेर्पाले बताए । यद्यपि, लप्ची–रामदिङ नाका हुँदै चीनको छुप्साङबाट सामान ल्याउँदा एक पोका नुनको बढीमा ५० रुपैयाँ मात्र पर्ने उनको भनाइ छ ।

लप्चीबाट रामदिङ हुँदै चीनको छुप्साङ पुग्न झन्डै डेढ घण्टा लाग्छ, पास भएपछि चीन सरकारले टाँसिघाङसम्म जान दिँदा झन् सस्तोमा सामान पाउन सकिने लप्चीका स्थानीयवासीको भनाइ छ ।  त्यसैले, लप्चीवासीको दैनिकी चीनको बजारमै निर्भर रहेको छ । लप्चीको कुल जनसङ्ख्या १५० रहेको छ ।

वषौँदेखि विद्युत् सुविधाबाट वञ्चित स्थानीयवासी राष्ट्रिय ग्रिडको पहुँचमा आएपछि खुसी भएका छन् । विद्युत् आपूर्तिसँगै दैनिकी सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । आयोजनाले नै आफ्ना आयोजना क्षेत्रमा इन्टरनेट र मोबाइल सेवा पनि सञ्चालन गर्ने हुँदा लुम्नाङबासीलाई पनि सहज हुने छ । दुर्गम भौगोलिक अवस्थाका कारण निर्माण कार्य चुनौतीपूर्ण भए पनि स्थानीयको सहयोग र प्राधिकरणको निरन्तर प्रयासबाट योजना सफलतापूर्वक सम्पन्न गरिएको दोलखा वितरण केन्द्रले जनाएको छ ।

विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले थाम्चेम्बूसम्म पुगेको बिजुली अब लप्चीसम्म पुर्‍याउने बताए । नेपाल विद्युत् प्राधिकरणबाट बजेट स्वीकृति र सर्वेक्षण अध्ययन समेत भइसकेको छ । यहाँ मान्छेले नै सामान ढुवानी गर्नुपर्ने भएकाले केही समय लाग्ने उनले बताए । थाम्चेम्बुबाट लप्ची पुर्‍याउन १० किलोमिटर लाइन तान्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३