विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चितवन जिल्लाकाे नारायणी नदीमा गरिएको तटबन्धको कामको १ अर्ब ३ करोड रुपैयाँ भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । उनले भने,‘आयोजनालाई काम लगाउनसमेत कठिन भएको छ ।’

आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ ४ अर्ब ७२ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यसलगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । यसमध्येको अघिल्लो वर्षको कामको भुक्तानी ६० करोड रुपैयाँ यस वर्षको सुरुवातीमा गरिएको भए पनि त्यसयता भुक्तानी हुन नसकेको उनले जानकारी दिए ।

दुई जिल्लामा गरी ११ खण्डमा ठेक्का लगाइएको थियो । चितवनतर्फ ५ र नवलपरासीतर्फ ६ खण्डमा ठेक्का लगाइएको थियो । चितवनतर्फ नारायणीको पुलबाट उत्तरतर्फको ‘सिवीच मोडल’ १७ करोड रुपैयाँ खर्च गरेर काम सम्पन्न गरिसकिएको छ ।

आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार गाँजीपुरदेखि हीरापुरसम्मको ५ किलोमिटर तटबन्ध काम सम्पन्न भएको छ । ४८ करोड ६४ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । ३६ करोड रुपैयाँ भुक्तानी गर्न अझै बाँकी रहेको उनले जानकारी दिए ।

चितवनतर्फ सिसइदेखि बालुवासम्मको ५ दशमलव ८ किलोमिटर तटबन्ध ३७ करोड ४८ लाखमा ठेक्का लगाइएको थियो । यसको भौतिक प्रगति २० प्रतिशत भएको छ । काम गरेको १ करोड ११ लाख बजेट अभावमा भुक्तानी हुन सकेको छैन ।

रामघाटदेखि शिवघाटसम्मको ५ किलोमिटर तटबन्धको काम ५१ प्रतिशत भइसकेको छ । १ अर्ब १५ करोडमा ठेक्का लगाइएकोमा बिल प्राप्त भएर पनि २६ करोड भुक्तानी गर्न नसकिएको न्यौपानेले जानकारी दिए ।

बालुवादेखि गोलाघाटसम्मको ४ दशमलव ३ किलोमिटर तटबन्धको काम २६ करोडमा ठेक्का लगाइएको थियो । जसमध्ये भौतिक प्रगति ८६ प्रतिशत भइसकेको छ । बिल प्राप्त भएर पनि १० करोडबढी भुक्तानी गर्न बाँकी रहेको छ ।

नवलपरासीतर्फ तटबन्धको काम भएर पनि भुक्तानी रोकिँदा समस्या भएको उनले जानकारी दिए । कुसुमघाटदेखि थुम्सीसम्मको ४ दशमलव ९ किलोमिटर तटबन्धको २३ प्रतिशत काम सम्पन्न भएको छ । १ अर्ब ९ करोडमा ठेक्का लगाइएको यस खण्डमा ८ करोड ७१ लाख भुक्तानी हुन बाँकी रहेको छ।

देवचुली नगरपालिका–१७, कावासोती नगरपालिका वडा नंम्बर १५ र मध्यविन्दु नगरपालिका वडा नंम्बर २ र ३ मा १ दशमलव ८ किलोमिटर तटबन्धको काम ५५ प्रतिशत सम्पन्न भएको छ। जसको ठेक्का रकम १२ करोड रहेको छ। यो ठेक्कामा काम भएर बिल पेस भएको ६ करोड ७६ लाख भुक्तानी हुन बाँकी छ ।

कावासोती वडा नंम्बर ११ र मध्यविन्दु वडा नंम्बर १५ मा २.७ किलोमिटर तटबन्धको ठेक्का लगाइएकोमा ९७ प्रतिशत प्रगति भएको छ । १२ करोड १७ लाखमा लगाईएको यो ठेक्काको १ करोड ८३ लाख भुक्तानी हुन बाँकी छ ।

सुस्ता गाउँपालिका वडा नंम्बर ५ मा ४०० मिटर तटबन्धनको प्रगति ७० प्रतिशत भएको छ । न्यौपानेका अनुसार २ करोड ८० लाख भुक्तानी बाँकी छ । ठेक्का ५ करोड ८६ लाखमा लगाइएको हो ।

गैँडाकोटको सिस्ने र पितौजीमा ८०० मिटर तटबन्धको ७० प्रतिशत काम सम्पन्न हुँदै गर्दा ३ करोड ८० लाख भुक्तानी बाँकी छ । यो ठेक्का ६ करोड ८० लाखको हो । मध्यविन्दुको नन्दपुरमा तटबन्धको काम सम्पन्न भएको छ ।

निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको बताए । निर्माण कम्पनीले पेस गरेका बिलअनुसारको भुक्तानी नपाउँदा समस्या भएको भन्दै दबाब दिइरहेको उनी बताउँछन् ।

कम्पनीले सार्वजनिक खरिद नियमावलीअनुसार ३० दिनभित्र भुक्तानी नपाएमा ब्याजसमेत पाउने व्यवस्था रहेको छ । उनले सोहीअनुसार कतिपय कम्पनीले ब्याजसमेत दाबी गरेर पत्राचार गरेको बताए ।

सम्झौतामा ५ देखि १० प्रतिशतसम्म ब्याज दिने उल्लेख छ । यी सबै ठेक्का विसं २०८२ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने समय रहेको छ ।

निर्देशक साहले भने, ‘समयमा भुक्तानी गर्न नसक्दा सोचेजस्तो काम लगाउन सकिएको छैन ।’

नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव ५ किलोमिटर तटबन्ध गर्न लागिएको हो । दुवैतर्फ काम सम्पन्न गर्न २३ अर्ब रुपैयाँ खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३