काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार पदभार ग्रहण गरेका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा एक समारोहको आयोजना गरी कर्मचारीले उनलाई स्वागत गरेका थिए ।
पदबहाली कार्यक्रममा उनले अबको बाँकी कार्यकाल अझ बढी मेहनतका साथ नेपाल सरकारको नीति तथा निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘विद्युत् आपूर्तिलाई गुणस्तरीय बनाउन प्राधिकरणको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउँछु,’ उनले भने, ‘प्राधिकरणको आफ्नै अग्रसरतामा विद्युत् आयोजना निर्माण गर्ने कार्यलाई समेत तीव्रताका साथ अघि बढाइने छ ।’
प्राधिकरणको कार्यकारी निर्देशक बनेकाले नै आफ्नो घर जलेको बनाउँदै उनले अब पीडा भुलेर देशहितको काममा अघि बढ्ने प्रतिज्ञा गरे । ‘प्राधिकरणको कार्यकारी निर्देशक भएकैले मेरो घर जल्यो,’ उनले भने, ‘म पीडामा परेँ तर त्यही पीडामा बस्दिनँ । म काममा अगाडि बढेँ । मुकुलको हितमा अधिकतम काम गर्छु ।’ सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई पदमै पुनर्बहाली गर्न सोमबार (२०८२ मंसिर २२ गते) सरकारलाई आदेश दिएको थियो ।
यसअघि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत ११ गते कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । यद्यपि, झन्डै ६ महिना काम गरेपछि वर्तमान सरकारले शाक्यलाई पनि कार्यकारी निर्देशकबाट हटाइएको थियो ।
भदाै २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको प्रस्तावमा २०८२ असोज ५ गते शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विज्ञको रूपमा सरुवा गरी गरी सिलवाललाई कार्यकारी निर्देशक बनाएको थियो ।
सिलवालले पदमा रहेर जम्मा २ महिना १८ दिन अर्थात् ७८ दिन काम गरेपछि अदालतको आदेशसँगै बाहिरिएका छन् । उनले समेत नयाँ कार्यकारी निर्देशकलाई प्राधिकरणका सबै कर्मचारीले उत्कृष्ट समर्थन गर्न आग्रह गरेका छन् ।