काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले आफ्ना सेयरधनीलाई १ अर्ब २८ करोड ९३ लाख नगद लाभांश वितरण गर्ने भएको छ । कम्पीको बुधबार सम्पन्न तेह्रौं वार्षिक साधारणसभाले उक्त लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले हुने बराबर करसहितको उक्त लाभांश पारित गरेको हो । सरकार सम्बन्धित निकायबाट स्वीकृति लिएर सभाबाट पारित भएको लाभांश लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ ।
सभाले वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा नोक्सान हिसाब नगद प्रवाह लगायत प्रतिवेदन तथा विवरण छलफल गरी पारित गरेको छ । सो अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन (सिएसआर) का क्रममा १० लाख रुपैयाँ खर्च गरेको जानकारी गराउँदै सोको विवरणसमेत पारित गरेको हो ।
त्यस्तै, साधारणसभाले कम्पनीको संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी अनुज्ञा सापकोटालाई सञ्चालक पदमा निर्वाचित गरेको छ ।