काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बाढी, पहिरो, हुरीबतासलगायत वर्षायामकाे माैसमजन्य विपत्को जोखिमलाई मध्यनजर गरी चौबीसै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयहरूलाई निर्देशन दिएको छ । सम्भावित विद्युत् अवरोधको तत्काल सामना गर्न आवश्यक जनशक्ति, उपकरण र मर्मत सामग्री तयारी अवस्थामा राख्न तथा सेवा प्रवाहमा कुनै असर पर्न नदिन कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले प्रादेशिक प्रमुखसहित मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखसँग समीक्षा बैठक बसेर उनले यस्ताे निर्देशनकाे कार्यकारी प्रमुखकाे सचिवालयले जनाएकाे छ ।
बैठकमा वर्षायामका कारण विद्युत् प्रणालीमा पर्न सक्ने प्रभाव, सेवा प्रवाहमा देखिन सक्ने चुनौती, ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेशस्तरमा सञ्चालित आयोजना र कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएकाे थिए । सेवाग्राहीबाट प्राप्त हुने गुनासोको छिटो, सहज र प्रभावकारी सुनुवाइ तथा समाधान गर्न पनि उनले निर्देशन दिए ।
प्रदेशभित्र सञ्चालनमा रहेका आयोजना र वितरण प्रणालीसम्बन्धी कार्यको नियमित अनुगमन गरी देखिएका समस्या तत्काल समाधान गर्न उनको निर्देशन थियो । सम्बन्धित निर्देशनालयसँग प्रभावकारी समन्वय गरी आयोजना कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा उनकाे जाेड थियो ।
कर्मचारीको क्षमता अभिवृद्धि, सीप विकास तथा वृत्ति विकासलाई संस्थागत रूपमा अगाडि बढाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तालिमको आवश्यकता पहिचान गरी प्रस्ताव पेस गर्न पनि उनले निर्देशन दिए ।
बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा सम्मान गरिने तथा सेवाप्रवाहमा लापरबाही गर्ने कर्मचारीलाई प्रचलित नियमबमोजिम कारबाही गरिने स्पष्ट पारे । उनले परिणाममुखी कार्यसम्पादन, अनुशासित सेवा संस्कृतिको विकास तथा ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्न प्रदेश कार्यालयहरूलाई आग्रह गरे ।