काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार आयोजित ‘राष्ट्रिय मनसुन फोरम २०२६’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मनसुन फोरम केवल मौसमी पूर्वानुमान प्रस्तुत गर्ने औपचारिक मञ्च मात्र नभई विज्ञान, विकास कार्यक्रम कार्यान्वयन तथा विपद् पूर्व तयारीलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण सङ्गम भएको उनले बताए ।
पछिल्लो समयमा मौसम पूर्वानुमान सेवाको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै उनले जल तथा मौसम विज्ञान नीति–२०८१ ले अघि सारेको ‘सबैका लागि समयमै गुणस्तरीय र विश्वसनीय जल, मौसम तथा जलवायु सेवा’ भन्ने लक्ष्य प्राप्तिका लागि अझ धेरै काम गर्नुपर्ने अवस्था रहेको औँल्याए ।
उनका अनुसार जल तथा मौसम सेवाको गुणस्तर सुधार गर्न अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल विस्तार, दिगो व्यवस्थापन, अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा आधुनिक प्रविधिको प्रयोगमार्फत स्थान विशेषको पूर्वानुमान प्रणाली विकास गर्न आवश्यक छ । उनले मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई नवप्रर्द्धनयुक्त प्रविधिसँग जोडेर एसएमएस, डिजिटल प्लेटफर्म तथा उपलब्ध सबै सञ्चार माध्यममार्फत जनस्तरसम्म पु¥याउनुपर्नेमा आवश्यकतालाई जोड दिए ।
त्यस्तै, मन्त्री श्रेष्ठले जल तथा मौसमसम्बन्धी सूचनाले विपद् जोखिम न्यूनीकरण मात्र नभई पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रलाई पनि प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । पूर्वानुमान प्रणालीले यातायात तथा पूर्वाधार निर्माण, स्वास्थ्य सेवा व्यवस्थापन, कृषि उत्पादन तथा सिँचाइ व्यवस्थापनमा समेत महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।
उनले वर्षा र नदी प्रवाहको पूर्वानुमानले जलाशय व्यवस्थापन र विद्युत् उत्पादन योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उल्लेख गर्दै मनसुन आँकलनले विपद्का लागि मनसुन पूर्वतयारी कार्य योजनालाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
पछिल्ला वर्षहरूमा एसएमएस र बुलेटिनमार्फत सञ्चालन गरिएको बाढी पूर्वसूचना प्रणालीले लाखौँ नागरिकलाई समयमै सतर्क गराई जनधनको क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याएको स्मरण गर्दै आगामी दिनमा जल तथा मौसम सूचना प्रणालीको प्राविधिक र जनशक्तिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव सरिता दवाडी, तथा विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले १६औँ योजनाले चारवटै ऋतुको मौसम पूर्वानुमान गर्ने लक्ष्य लिएको स्मरण गराउँदै जल तथा मौसम सूचना प्रणालीलाई थप प्रविधिमैत्री, आधुनिक र विश्वसनीय बनाउने दिशामा सरकार अघि बढिरहेको बताए ।
कार्यक्रममा विभागले यस वर्ष औसतभन्दा कम मनसुन र औसतभन्दा बढी सुख्खा हुने सम्भावना रहेको प्रारम्भिक आँकलन सार्वजनिक गरेको छ । विभागका अनुसार जेठ १८ गतेदेखि असोज १४ गतेसम्म देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, अधिकतम र न्यूनतम तापक्रम देशभर औसतभन्दा बढी रहने सम्भावना औँल्याइएको छ । विभागले विशेषगरी कर्णाली प्रदेशको दक्षिणी भाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पूर्वी क्षेत्र तथा कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।