काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य आकाशिएर सर्वसाधारणको भान्सा निकै महँगो भइरहेका बेला काठमाडौँ विश्वविद्यालय (केयू) ले देशलाई बढ्दो ऊर्जा सङ्कटबाट जोगाउने उपायबारे वृहत् बहस सुरु गर्ने भएको छ । यसै सन्दर्भमा विश्वविद्यालयको 'रिन्यूएबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटरी'ले आगामी डिसेम्बर २ र ३ तारिख (मंसिर १६-१७ गते) धुलिखेलस्थित आफ्नो मुख्य परिसरमा एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ ।
सम्मेलन कोठाभित्र गरिने प्राज्ञिक गफमा मात्र सीमित नभई नेपालको महँगो इन्धन आयात घटाउने र स्वदेशी फोहोर तथा प्राकृतिक स्रोतबाट बिजुली, बायोग्यास र ग्रीन हाइड्रोजन उत्पादन गर्ने व्यवहारिक योजनामा केन्द्रित हुने बताइएको छ । भौतिक र अनलाइन दुवै माध्यमबाट जोडिन मिल्ने गरी यो सम्मेलन हाइब्रिड मञ्चका रूपमा सञ्चालन हुनेछ ।
केयूका अनुसार अनुसार नेपालमा ठूला-ठूला बायोग्यास र स्वच्छ ऊर्जाका आयोजना कागजमा राम्रा देखिए पनि मैदानमा अपेक्षाकृत सफल हुन सकेका छैनन् । धेरैजसो प्लान्टहरू प्राविधिक खराबीका कारण नभई उद्यमी, बैंक र फोहोर जम्मा गर्ने सही नीतिगत पूर्वाधार र बजारको अभावका कारण आफ्नो क्षमताको ३० प्रतिशत पनि चल्न नसकेको अवस्था छ ।
'रिन्युएबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटरी'का प्रमुख प्रा. डा. सुनिलप्रसाद लोहनीका अनुसार सरकारी अनुदान पाएका ठूला बायो-सीएनजी परियोजनाहरू पनि कमजोर आपूर्ति श्रृङ्खलाका कारण क्षमताभन्दा निकै कम चलेका छन् । स्वच्छ ऊर्जा पूर्वाधार निर्माण गर्नु आधा लडाइँ मात्र भएको र बाँकी आधा काम यी प्राविधिक समाधानहरू आर्थिक रूपमा सम्भाव्य, जनताले बुझ्ने र दीर्घकालसम्म टिक्ने खालका छन् भन्ने सुनिश्चित गर्नु रहेको उहाँको भनाइ छ ।
यही समस्या सुल्झाउन वैज्ञानिक, लगानीकर्ता र नीति निर्मातालाई एउटै टेबलमा राखेर बजार-मुखी समाधान तयार गर्न यो सम्मेलन आयोजना गर्न पनि केयूले जानकारी दिएको छ । वास्तविक परिवर्तन उद्योगका कारखाना र वित्तीय बजारबाटमात्र सम्भव हुने भएकाले यस पटक निजी क्षेत्रका उद्यमी, बैंकर्स, स्वच्छ प्रविधि विकासकर्ता र व्यवसायीहरूलाई सम्मेलनमा विशेषरूपमा सहभागी हुने भएका छन् ।
सम्मेलनमा व्यवसायीहरूले आफ्ना स्थलगत चुनौती र केस स्टडी समेटेर कार्यपत्रको सारांश बुझाउने योजना छ । साथै, सम्मेलनमा व्यावसायिक प्रविधि प्रदर्शनी समेत गरिनेछ, जहाँ कम्पनीहरूले आफ्ना नयाँ वातावरणमैत्री उत्पादनहरू प्रदर्शन गरेर सम्भावित अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सक्नेछन् । सम्मेलनका अन्तक्रियात्मक सत्रहरू स्वच्छ ऊर्जा रूपान्तरण र जलवायु कार्यमा बाधा पुऱ्याइरहेका मुख्य वित्तीय र नीतिगत अवरोधहरू हटाउन केन्द्रित हुनेछन् ।
प्राज्ञिक अनुसन्धानकर्ताहरूका तर्फबाट स्वीकृत र समकक्षी-समीक्षित भएका उत्कृष्ट कार्यपत्रलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त 'आइओपी कन्फेरेन्स सेरिजः अर्थ एन्ड इन्भायरोमेन्ट' र काठमाडौँ विश्वविद्यालय जर्नल अफ साइन्स, इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा प्रकाशनका लागि सिफारिस गरिने विश्वविद्यालयले जनाएको छ ।