काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिकाले स्थानीय जनताले प्रयोग गरेको बिजुलीको महसुल रकम नेपाल विद्युत् प्राधिकरणको मौलापुर वितरण केन्द्रलाई बुझाएको छ ।
पालिकाका प्रमुख प्रशाकीय अधिकृत वकिलप्रसाद पालले केन्द्रका प्रमुख रामदिनेश राय यादवलाई आइतबार महसुल बापत २ करोड ७५ लाख २३ हजार ३२७ रूपैयाँको चेक हस्तान्तरण गरेको हुन् । पालिकाले स्थानीय नागरिकलाई बिजुलीको प्रयोगमा अनुदान दिने नीति अनुसार उक्त महसुल रकम बुझाएको पालिकाले जनाएको छ ।
पालिकाले २०७७ असोजदेखि हालसम्मको महसुल रकम बुझाएको हो । पालिकाले महसुल बुझाउँदा पालिकाका ४ हजार ५३३ स्थानीय ग्राहक परिवार लाभान्वित भएको केन्द्र प्रमुख यादवले बताए ।