काठमाडौँ । हुवावे नेपालले अत्याधुनिक प्रविधियुक्त विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्जाल (फ्युजन चार्ज स्मार्ट इभी चार्जिङ नेटवर्क) सञ्चालनमा ल्याएको छ । गाडी चार्ज प्रालि र नेपाल एकरात इन्जिनियरिङ कम्पनी (निक) सँगको सहकार्यमा हेटौँडामा निर्माण गरिएको उक्त चार्जिङ सञ्जालको पहिलो स्टेशनको विश्व वातावरण दिवस (जुन ५) को अवसर पारेर आइतबार शुभारम्भ गरिएको हो ।
सन् २०२५ भित्र देशव्यापी रूपमा नेपालभर चार्जिङ्ग सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ हुवावेले हेटौँडामा पहिलो फ्युजन चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । यसले देशभर हरित यातायात र वातावरणीय दिगोपनको विकास र विस्तारलाई तीव्रता दिने अपेक्षा रहेको हुवावेले जनाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको विद्युतीय सवारी (इभी) चार्जिङमा एक महत्त्वपूर्ण कोशेढुंगाको रूपमा, हेटौँडामा पहिलो फ्युजन चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् ।
कम्पनीले सन् २०२५ को अन्त्यसम्ममा देशभर थप ९ वटा स्थानमा स्मार्ट ईभी चार्जिङ स्टेशनहरू विस्तार गर्ने लक्ष्य राखेको छ । यसले भविष्यमा स्वच्छ उर्जामा आधारित व्यवस्थित र स्तरीय यातायात पूर्वाधारको नयाँ जग बसाल्ने कम्पनीको अपेक्षा छ ।
हुवाले नयाँ पुस्ताका लागि तयार पारेको फ्युजन चार्जमा आधारित स्मार्ट इभि चार्जिङमा सोलार पिभी (सौर्य फोटोभोल्टिक) र ऊर्जा भण्डारण प्रणाली (इएसएस) लाई एकीकृत गर्दै विद्युत् ग्रिडमैत्री तथा उच्च ऊर्जा दक्षता (हाइ इफिसिइन्सी) जस्ता नयाँ विशेषतासहित चार्जिङ सुविधा प्राप्त हुने जनाएको छ ।
कम्पनीका अनुसार लिक्विड कुल्ड मोड्युलर आर्किटेक्चर र बहु–स्तरीय ‘पावर पुलिङ’ विशेषताका साथ डिजाइन गरिएको उक्त प्रविधिले ५०० किलोवाटसम्मको अल्ट्रा–फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसले निजीदेखि सार्वजनिकसम्म सबै सवारी साधनलाई सुरक्षित र दीर्घकालीन चार्जिङ सुविधा दिने छ ।
फ्युजन चार्ज प्रविधिका प्रमुख विशेषताहरू
फ्युजन चार्ज प्रविधिमार्फत निजी, सार्वजनिकदेखि ठूला सवारी साधनसम्म सबैलाई चार्ज गर्न मिल्ने छ । यसले ऊर्जा दक्षता (पावर एफिसिएन्सी) ८० प्रतिशतसम्म बढाई लिक्विड कुल्ड डिजाइन मार्फत अत्यधिक तापक्रम (माइनस ३५ डिग्री सेन्टिग्रेटदेखि ४५ डिग्री सेन्टिग्रेटसम्म) मा पनि सुरक्षित तवरले ५०० किलोवाटसम्म अल्ट्रा–फास्ट चार्जिङ गर्न सकिन्छ ।
मोड्युलर र स्केलेबल संरचनाको साथ यसले सजिलो अपग्रेड र लामो आयु (१० वर्ष भन्दा बढी) का साथै स्तरीय इन्सुलेशनमार्फत लगानी सुरक्षा गर्ने छ । यसको शान्त अपरेशन (५० डिबीमुनि) तथा युनिभर्सल कम्पाटिबिलिटीले आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च–मागका सार्वजनिक स्टेशनहरूसम्म सहज चार्जिङ्ग सुविधा दिने छ ।
फ्युजन चार्जको मुख्य प्राविधिक पक्ष
फ्युजन चार्जमा लिक्विड कुलिङ, बहु–स्तरीय पावर पुलिङ र इएसएका लागि डिसी बस इन्टेग्रेसनको सुविधा दिएएको छ । यसले सोलार (पिभी) र ब्याट्री स्टोरेज (इएसए) प्रणालीहरूलाई एकीकृत गरी सहज, ग्रीड–मैत्री चार्जिङ सेवा प्रदान गर्दछ । यसले प्रतिक्रियाशील पावर नियन्त्रण, आटिए अपडेटहरू र एकीकृत अनुगमन प्लेटफर्मका साथ स्मार्ट ऊर्जा प्रयोग र निर्वाध मर्मत सम्भार पनि सहज बनाउँछ । यो भिपिपी तयार पनि छ, जसको अर्थ यसले पिक–सेभिङ र प्रयोगको समय अनुकूलन जस्ता उन्नत ऊर्जा व्यवस्थापन मोडेलहरूलाई समर्थन गर्न सक्छ ।
यी सुविधाहरूले फ्युजन चार्ज प्लेटफर्म भविष्यका लागि तयार छ भनी सुनिश्चित गर्दछ, जसले यसलाई आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च–माग भएका सार्वजनिक स्टेशनहरूसम्म, विविध वातावरणमा समेत प्रयोग गर्न सक्षम बनाउँछ ।
हुवावे सन् १९८७ देखि १७० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्यापी प्रदायक हो । सन् १९९९ मा नेपालमा स्थापित हुवावे नेपालले बलियो रूपमा जोडिएको र डिजिटल रूपमा सशक्त राष्ट्र निर्माण गर्न निरन्तर काम गर्दै आएको छ । हुवावेले ‘सीड्स फर द फ्युचर’ जस्ता ऐतिहासिक कार्यक्रमहरू मार्फत डिजिटल समावेशीकरण, रोजगारी सिर्जना, नवीकरणीय ऊर्जा र शिक्षामा योगदान पु¥याउँदै आएको छ ।