काठमाडौँ । शशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा–३ (ड्राइभर टोल) एकै पटक १४ वटासम्म ठूला गाडी चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मंगलबार उक्त चार्जिङ स्टेशनको शुभारम्भ गरेका हुन् । १००० केभिए क्षमताको उक्त चार्जिङ स्टेशन उद्घाटन गर्दै नगर प्रमुख खाँडले यस्ता चार्जिङ स्टेशनले विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले विद्युतीय सवारी साधन समयको आवश्यकता भएको बताए ।
यस्ता पूर्वाधार विकासले देशलाई हरित यातायाततर्फ लैजाने विश्वास व्यक्त गर्दै उनले बुटवलमा यति ठूलो चार्जिङ स्टेशन निर्माण हुनु सबैका गौरवको विषय भएको र निजी क्षेत्रको यस्तो लगानीले देशको दिगो विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वाससमेत व्यक्त गरे ।
शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको प्रयोग उल्लेख्य रूपमा बढे पनि सो अनुपातमा चार्जिङ सुविधा उपलब्ध नभएकोले यस्तो समस्या समाधानका लागि आफूहरुले पहल गरेको बताए । ‘यो चार्जिङ स्टेशन हामीले केवल व्यवसायिक सोच र उपभोक्ताको हितका लागि मात्रै हैन,’ उनले भने, ‘वातावरणीय उत्तरदायित्वका दृष्टिकोणले पनि स्थापना गरेका हौँ ।’
उनले इभी क्षेत्रमा दीर्घकालीन लगानी र विस्तारको योजना बनिरहेको र निकट भविश्यमै देशका अन्य भागमा पनि यस्तै चार्जिङ स्टेशनहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले इभी सवारीलाई सफलतापूर्वक सञ्चालन गर्न चार्जिङ स्टेशन र वर्कशप अनिवार्य रहेको भन्दै आफ्नो संस्थाको निरन्तर आग्रहमा शशीला मोटर्सले यो परियोजनामा कार्यान्वयन गरेको बताए ।
यस चार्जिङ स्टेशनमार्फत इलेक्ट्रिक बस, कार, भ्यानलगायत सबै प्रकारका इभीले द्रूत, भरपर्दो र प्राविधिक रूपमा सुरक्षित चार्जिक सेवा पाउने पाउने कम्पनीले जनाएको छ ।