काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा भएको क्षतिले राजधानीको मुख्य आपूर्ति मार्ग अवरुद्ध भएसँगै काठमाडौँ उपत्यकामा पेट्रोलियम ग्यास (एलपीजी) को अभाव बढ्दै गएको छ ।
भोटेकोशी–त्रिशूली विपत्तिबाट आएको बाढी र पहिरोले धादिङको कृष्णभिरमा राजमार्ग खण्डलाई गम्भीर क्षति पु¥याएको छ, जसले गर्दा काठमाडौँमा अत्यावश्यक वस्तुहरू ढुवानी गर्ने सबैभन्दा प्रभावकारी मार्ग बन्द भएको छ । अत्यावश्यक वस्तुहरूको आपूर्तिमा सुधार भएको सरकारले दाबी गरे पनि, उपभोक्ताहरूले विशेषतः एक सिलिण्डर खाना पकाउने ग्यास पाउन लामो लाइन र अत्याधिक मूल्यको सामना गर्नु परिरहेको छन् ।
ग्यास डिलरहरूका अनुसार एलपीजीको दैनिक माग उपत्यकामा लगभग १ लाख सिलिन्डर रहेको छ । तर हाल दैनिक हाराहारीमा २०,००० सिलिन्डर मात्र बजारमा आइपुग्छन् । नेपाल आयल निगमको अभिलेख केलाउँदा पृथ्वी राजमार्गको समस्यापछि दैनिक आपूर्ति कहिलेकाहीं लगभग १८,००० सिलिन्डर सम्म झरेको देखिन्छ ।
आपूर्ति अवरोधले एलपीजीको मूल्य पनि बढाएको छ । ढुवानी व्यवसायीहरूले लामो र कठिन त्रिभुवन राजमार्गलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्दै साना ट्रकहरूमा सिलिन्डर ढुवानी गरिरहेका छन् । बढ्दो ढुवानी लागतलाई कारण देखाउँदै ग्यास व्यवसायीहरूले प्रति सिलिन्डर मूल्य २,१६५ रुपैयाँ पु¥याएका छन्, जुन नेपाल आयल निगमले तोकेको २,०६० रुपैयाँ मूल्यको तुलनामा बढी नै हो ।
एलपीजी व्यापारी राजेश दाहालका अनुसार ढुवानीकर्ताहरूले प्रति सिलिन्डर ७०० रुपैयाँ सम्म बढी मूल्य असुली रहेका छन् । “सामान्य अवस्थामा ३००–३५० सिलिन्डर ढुवानीको लागि प्रतिदिन ६५,००० रुपैयाँ शुल्क लिइरहेकामा हाल बढाएर ८०,००० रुपैयाँ पु¥याएका छन्,” उनले भने ।
यसैबीच, केही डिलर र खुद्रा विक्रेताहरूले उपभोक्ताहरूबाट अग्रिम भुक्तानी माग गरेर र कृत्रिम अभाव सिर्जना गरी अभावको अनुचित फाइदा उठाएको बताइएको छ । उपभोक्ताहरू भरी सिलिन्डर किन्नका लागि घण्टौंसम्म लामो लाइनमा लाग्न बाध्य भएका छन्, जसले गर्दा उपत्यकाका घरपरिवारले दैनिक उपभोग्यका लागि गर्नुपर्ने संघर्ष थपिएको छ ।
राजमार्ग पुनस्र्थापित नभएसम्म माग र आपूर्ति बीचको बढ्दो खाडलले खाना पकाउने ग्यासको संकट अझ गहिरिन सक्ने देखिन्छ ।