विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
अन्तराष्ट्रिय

सुगारलोफ, पेन्सिल्भेनिया (संयुक्त राज्य अमेरिका) । जोन जोलाका लागि उनको ४० एकड जमिन स्वर्गजस्तै थियो । उत्तरी पेन्सिल्भेनियाका पहाडी भू–भागमा फैलिएका स्याउका बगैँचा, एउटा गोठ, हरियाली घाँसे मैदान, र चारवटा घर बनाउन पुग्ने जग्गा— एक आफ्ना लागि र तीनवटा आफ्ना तीन सन्तानका लागि ।

यद्यपि, २०२४ को अन्त्यतिर स्थानीय विद्युत् सेवा प्रदायक कम्पनीले नियुक्त गरेको ठेकेदारले एक दिन उनको ढोका ढकढक्याए । उक्त जमिन हुँदै ५०० किलोभोल्ट (केभी) को उच्च–भोल्टेज प्रसारण लाइन निर्माण गर्ने योजना रहेको जानकारी दिए । त्यसपश्चात उनको जीवन ‘उदासी र निराशा’मा बितिरहेको छ ।

प्रस्तावित योजनाअन्तर्गत निर्माण गरिने २४० फिट अग्ला फलामे टावरहरू १०० वर्ष पुराना स्याउका रुखभन्दा झन्डै १० गुणा अग्ला हुनेछन् । ती टावरहरूले जोला परिवारका घर, उनका नातिनातिना खेल्ने बास्केटबल कोर्ट र स्विमिङ पुलमाथि छायाँ पार्नेछन् ।

अमेरिकामा यस्ता उच्च–भोल्टेज प्रसारण लाइनहरूको योजना तीव्र रूपमा अघि बढिरहेको छ । यसको मुख्य उद्देश्य विश्वका ठूला प्रविधि कम्पनीहरूले सञ्चालन गर्ने विशाल डेटा सेन्टरहरूलाई सयौँ माइल टाढासम्म विद्युत् आपूर्ति पुर्‍याउनु हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार कृत्रिम बौद्धिकता (एआई) को विकास अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण छ तर त्यसका लागि आवश्यक भारी परिमाणको विद्युत् मागले देशको विद्युत् प्रणालीमा ठूलो दबाब सिर्जना गर्ने जोखिम बढाएको छ । यसको मारमा जोला जस्ता सर्वसाधारण नागरिक परिरहेका छन् ।

स्थानीय विद्युत् कम्पनी (पिपिएल) का अनुसार विद्युत् आपूर्ति सुनिश्चित गर्ने आफ्नो जिम्मेवारी पूरा गर्दै मानिसहरूमा पर्ने असर न्यून पार्ने प्रयास गरिएको छ । यद्यपि, जोलाका लागि भने कम्पनीको प्राथमिकता नाफा मात्र हो ।

‘उनीहरू कसको जीवन र सम्पत्ति नष्ट भइरहेको छ भन्ने कुरामा ध्यान दिँदैनन्,’ जोलाले भने ।

विशाल प्रसारण लाइन र डेटा सेन्टरहरूको विस्तार

उच्च–भोल्टेज प्रसारण लाइनहरू अहिले प्रविधि कम्पनीहरूको विशाल डेटा सेन्टर सञ्चालनसँग जोडिएको विवादको नयाँ केन्द्र बनेका छन् ।

यस्ता डेटा सेन्टरहरूको निर्माणका कारण स्थानीय समुदायमा विद्युत् मूल्य बढ्ने, वातावरणीय क्षति हुने र समुदायको संरचना बिग्रने चिन्ता बढ्दै गएको छ । त्यसैले, धेरै ठाउँमा नागरिक विरोध बढिरहेको छ ।

प्रसारण लाइन विरोधीहरूको तर्क छ— यी आयोजनाले निजी जग्गामा हस्तक्षेप गर्दै कृषिभूमि, प्राकृतिक क्षेत्र, सम्पत्तिको मूल्य र स्वच्छ नदी–नालामा दीर्घकालीन क्षति पुर्‍याउन सक्छन्, जबकि त्यसबाट प्राप्त विद्युत् उनीहरूलाई प्रत्यक्ष लाभदायक नहुन सक्छ ।

प्रसारण आयोजनाहरू पहिले पनि लामो अनुमति प्रक्रिया र कानुनी चुनौतीका कारण ढिलो हुँदै आएका थिए । पछिल्ला दुई दशकमा विद्युत् माग स्थिर रहेकाले पनि यस्ता परियोजनामा खासै हतार थिएन तर विश्लेषकहरूका अनुसार अहिलेको विद्युत् ग्रिड पुरानो र माग नधान्ने हुँदै गएको छ । माग तीव्र रूपमा बढेमा अत्यधिक चिसो वा गर्मीका दिनमा व्यापक विद्युत् अवरोध (ब्ल्याकआउट) हुन सक्ने जोखिम बढेको छ ।

ऊर्जा कम्पनीहरू भने डेटा सेन्टर वा औद्योगिक ग्राहककै लागि नयाँ प्रसारण लाइन निर्माण गर्दा पनि सम्पूर्ण ग्रिडको क्षमता बढ्ने र अन्ततः सबै उपभोक्तालाई फाइदा पुग्ने दाबी गर्छन् ।

आयोजनामा व्यापक विरोध

विशाल प्रसारण आयोजनाहरू अहिले विभिन्न राज्यहरूमा विरोधको सामना गरिरहेका छन् । केही सांसदहरूले यस्ता परियोजनालाई राज्यस्तरीय वा वातावरणीय समीक्षा प्रक्रियाबाट आंशिक रूपमा छुट दिनुपर्ने प्रस्ताव गरेका छन् ।

यसैबीच, केही प्रविधि कम्पनीहरूले अनुमति प्रक्रिया जटिल हुने डरले आफ्नै विद्युत् उत्पादन केन्द्र निर्माण गर्ने वा विद्युत् प्लान्ट नजिकै डेटा सेन्टर स्थापना गर्ने रणनीति पनि अपनाइरहेका छन् ।

यी प्रसारण लाइनहरू साधारण काठका पोलमा टाँगिएका स्थानीय लाइन होइनन् । यी इस्पातका टावरमा आधारित ५ देखि ६ गुणा अग्ला संरचना हुन्, जसले लामो दूरीसम्म ठूलो मात्रामा विद्युत् प्रवाह गर्छन् ।

कतिपय आयोजनामा करिब २०० फिट चौडाइको प्रसारण कोरिडोर आवश्यक पर्छ ।

खर्च वृद्धि र उपभोक्ताको चिन्ता

ऊर्जा कम्पनीहरूले आगामी वर्षहरूमा आफ्नो लगानी मुख्य रूपमा प्रसारण पूर्वाधारमा केन्द्रित हुने बताएका छन् । सन् २०१९ देखि २०२८ सम्म वार्षिक प्रसारण लगानी लगभग ५० अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

यद्यपि, यस्तो विस्तारले जग्गाधनी, वातावरण संरक्षण समूह, स्थानीय अधिकारी र उपभोक्ता अधिकारकर्मीहरूको विरोध बढाएको छ ।

टेक्सासको हिल कन्ट्री क्षेत्रमा प्रस्तावित ७६५ किलोभोल्ट प्रसारण लाइनविरुद्ध हिल कन्ट्री प्रिजर्भेसन कोएलिसन नामक समूह सक्रिय भएको छ । यस समूहकी संस्थापक जाडा जो स्मिथका अनुसार परियोजना ‘गोलियाथजस्तै विशाल’ छ र त्यसलाई पूर्ण रूपमा रोक्न कठिन हुनेछ ।

उनले परियोजनाको मार्ग परिवर्तन गरी राजमार्गको कोरिडोरसँग मिलाएर निर्माण गर्न आग्रह गरेकी छन्, ताकि राज्यका महत्त्वपूर्ण नदीहरूमा क्षति नपुगोस् ।

उपभोक्ता प्रतिनिधिको विराेध

पेन्सिल्भेनियाका राज्य उपभोक्ता प्रतिनिधि ड्यारिल लरेन्सले १.७ अर्ब डलर लागतको २०० माइलभन्दा लामो प्रसारण लाइन आयोजनाको विरोध गरेका छन् । यसका लागि योभन्दा सस्तो विकल्प उपलब्ध हुन सक्ने र डेटा सेन्टरको अनुमानित माग वास्तवमै हुने हो वा होइन भन्ने प्रश्न समेत रहेकोले आफूले विरोध गरेको उनको भनाइ छ ।

मध्यपश्चिम क्षेत्रमा प्रस्तावित २२ अर्ब डलरको प्रसारण प्याकेज पनि विभिन्न राज्यका नियामकहरूबीच विवादको विषय बनेको छ ।

इलेक्ट्रिक पावर सप्लाइ एसोसिएसनका अध्यक्ष टोड स्निचलरका अनुसार, ‘यस्ता विवाद अझ बढ्न सक्छन् । यहाँ वास्तविक पैसाको कुरा छ, र उपभोक्ताहरू त्यसप्रति सचेत भइरहेका छन् ।’

स्थानीय समुदायको चिन्ता

पूर्वी पेन्सिल्भेनियामा अमेजनसहित अन्य कम्पनीहरूले ठूलो सङ्ख्यामा डेटा सेन्टर परियोजना अघि बढाएपछि पिपिएलले सन् २०३० सम्म आफ्नो उच्चतम विद्युत् माग ३ गुणाभन्दा बढी बढ्ने प्रक्षेपण गरेको छ ।

कम्पनीका अनुसार १२ माइल लामो सुगारलोफ प्रसारण आयोजना पुरानो लाइन रहेको कोरिडोरलाई विस्तार गरेर निर्माण गरिनेछ, जसले नयाँ मार्ग खोल्दा हुने क्षति कम गर्नेछ ।

यद्यपि, कम्पनीले जग्गा प्रयोगका लागि आर्थिक क्षतिपूर्ति प्रस्ताव गरे पनि धेरै जग्गाधनी चिन्तित छन् । किनभने प्रस्ताव स्वीकार नगरे अदालतमार्फत एमिनेन्ट डोमेन (सरकारको अधिग्रहण अधिकार) प्रयोग गरेर जबरजस्ती सहमति गराइने डर उनीहरूमा छ ।

जोलाका अनुसार प्रस्तावित लाइन उनको नातिनातिनी सुत्ने कोठाबाट करिब १०० फिट मात्र टाढा हुनेछ । 

हालै कम्पनीले क्षतिपूर्ति रकम पनि बढाएको छ । ‘मेरो प्रस्तावमा १७ हजार डलरबाट एक्कासी ८५ हजार डलर भयो,’ जोलाले भने, ‘तर मेरो लागि कुनै पनि रकम पर्याप्त छैन । यहाँ आएर हेर्नुभयो भने किन भन्ने कुरा बुझ्नुहुनेछ ।’ –एपीबाट

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३