विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २२, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ठेकेदार कम्पनीहरूले बाढी प्रभावित कामदार तथा तिनका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी राहत प्याकेज घोषणा गर्ने भएका छन् । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित भएका कर्मचारी र कामदारका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत प्याकेजको तयारी भइरहेको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) ले जनाएको छ ।

विपत्‌लगत्तै खोज तथा उद्धार कार्यमा सुरक्षा निकायलाई प्राथमिकताका साथ सहयोग र समन्वय गर्नुपरेकाले राहत प्याकेज तत्काल घोषणा गर्न केही ढिलाइ भएको कम्पनीले जनाएको छ । यस क्रममा प्रभावित कामदार, तिनका परिवार र सम्पूर्ण सरोकारवालाले भोगेको कष्ट तथा अन्योलप्रति कम्पनीहरू पूर्ण संवेदनशील रहेको समेत विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

कम्पनीका अनुसार बाढी आएको समयमा आयोजना स्थलमा इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) ठेकेदार डुसान एनरबिलिटी र दुई वटा सब-कन्ट्र्याक्टर (पावर कन्स्ट्रक्सन कर्पोरेसन चाइना र एन्ड्रिज हाइड्रो) कम्पनीका सहित करिब १ हजार ४३३ जना कामदार कार्यरत रहेका थिए । पछिल्लो विवरण अनुसार शनिबारसम्म ८७६ जना कामदार तथा कर्मचारीको सफलतापूर्वक उद्धार भइसकेको छ भने ५५७ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

भदौ २० गते शनिबार आयोजनास्थलबाट एक जना चिनियाँ कामदारको उद्धार गरिएपछि भग्नावशेषमा अझै फसिरहेका सम्भावित व्यक्तिहरूको यथाशीघ्र उद्धारका लागि सुरक्षा निकायसँगको सहयोग र समन्वयलाई थप सुदृढ बनाइएको प्रवर्द्धक कम्पनी एनडब्लुइडिसीले जनाएको छ । कम्पनीका अनुसार बाढी आएका बखत विभिन्न स्थलमा कार्यरत कामदार तथा कर्मचारीहरूको आधिकारिक सूची तयार भइरहेको छ ।

ठेकेदार कम्पनीहरूले आफ्ना कामदारहरूको यथार्थ अवस्था पत्ता लगाउनलाई नै अहिले मुख्य प्राथमिकतामा राखेर हरसम्भव प्रयास गरिरहेका छन् । विभिन्न स्रोत तथा सरकारी निकायहरूबाट प्राप्त हुने सूचनाहरूको आधिकारिक पुष्टि भएपछि मात्र कम्पनीहरूले सम्बन्धित परिवारजनलाई यकिन जानकारी गराउने जनाएका छन् ।

कम्पनीले जारी खोज तथा उद्धार कार्यमा पूर्ण प्रतिबद्ध रहको जनाएको छ । साथै बाढीबाट प्रभावित सबैप्रति गहिरो सहानुभूति प्रकट गर्दै यस प्राकृतिक विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

एनडब्लुइडिसीले समग्र परिस्थितिको निरन्तर अनुगमन गरिरहने र कामदार तथा कर्मचारीहरूको अवस्थाबारे अद्यावधिक जानकारी आफ्नो आधिकारिक वेबसाइट (https://nwedcpl.com/) मार्फत नियमित रूपमा सार्वजनिक गर्दै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३