काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढ्दो मूल्यवृद्धिको मार कम गर्न इन्धनमा लाग्दै आएका यी दुई मुख्य करका दरहरू घटाउने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रिपरिषद्को निर्णय जानकारी गराएकी गराएकी हुन् । यसअघि पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा भन्सार र १० रुपैयाँ पूर्वाधार कर लाग्ने गरेको थियो । साथै २३ रुपैयाँ २४ पैसा भ्याट, ४ रुपैयाँ सडक मर्मत शुल्क, २ रुपैयाँ २ पैसा मूल्य स्थिरीकरण कोष, १ रुपैयाँ ५० पैसा प्रदूषण कर र १ रुपैयाँ हरित कर सहितको भार उपभोक्तामाथि थियो ।
डिजेलको हकमा प्रतिलिटर १२ रुपैयाँ ३ पैसा भन्सार र १० रुपैयाँ पूर्वाधार कर लाग्दै आएको थियो । यसबाहेक २० रुपैयाँ ९४ पैसा भ्याट, २ रुपैयाँ सडक मर्मत, १ रुपैयाँ ५० पैसा प्रदूषण कर, १ रुपैयाँ हरित कर र १ रुपैयाँ ८२ पैसा मूल्य स्थिरीकरण कोष गरी कुल ४९ रुपैयाँ २८ पैसा कर संकलन गरिँदै आएको थियो ।
यसैगरी, एलपी ग्यासमा प्रतिसिलिन्डर कुल ३२४ रुपैयाँ ९५ पैसा कर लाग्ने गरेको थियो, जसमा ९० रुपैयाँ ८१ पैसा भन्सार, २१३ रुपैयाँ ८५ पैसा भ्याट, १९ रुपैयाँ १० पैसा मूल्य स्थिरीकरण कोष र १ रुपैयाँ १८ पैसा ढुवानी शुल्क समावेश छ । हवाई इन्धनमा पनि प्रतिलिटर ३४ रुपैयाँ ४८ पैसा कर लाग्दै आएकोमा अब सरकारको नयाँ निर्णयले यी सबै क्षेत्रमा राहत पुग्ने देखिएको छ।